अर्थ

२० अर्ब रिपो रिर्भस

बैंक तथा वित्तीय संस्थामा थुप्रिएको निक्षेप लगानी नहुने क्रम जारी रहेपछि बिहीबार केन्द्रीय बैंकले तीन पैसा ब्याज दिने गरी थप २० अर्ब रूपैयाँ रिर्भस रिपोमार्फत खिचेको छ।  

आर्थिक वर्ष २०७७/०७८ सुरु भएको दुई सातामा राष्ट्र बैंकले दोस्रोपटक रिभर्स रिपोमार्फत २० अर्ब रूपैयाँ खिचेको हो। यसअघि साउन ८ गते राष्ट्र बैंकले २० अर्ब रूपैयाँ खिचेको थियो। त्यतिखेर वाणिज्य बैंकहरूलाई पाँच पैसा ब्याज दिने गरी रकम खिचेको थियो।  

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले खुला बजार कारोबार सञ्चालनका लागि पुनः रिभर्स रिपोमार्फत पैसा खिचिएको बताए। ‘बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता छ,’ उनले भने, ‘त्यसैले राष्ट्र बैंकले रिभर्स रिपोमार्फत पैसा खिच्ने क्रम जारी राखेको हो।’  

लकडाउनपछि बैंक तथा वित्तीय संस्थाहरूले नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन्। कर्जा प्रवाह हुन नसके पनि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन हुने क्रम जारी छ। बैंकरहरूका अनुसार साउन लागेपछि निक्षेप संकलनमा केही मन्दी देखिए पनि यसअघिको निक्षेप लगानीमा जान सकेको छैन। अहिले बैंक, वित्तीय संस्थाहरूमा दुई खर्ब पाँच अर्ब रूपैयाँ तरलता छ। केन्द्रीय बैंकले सोही तरलताबाट दुई साताको अवधिमा ४० अर्ब रूपैयाँ खिचेको हो। रिपो रिभर्समार्फत  पैसा खिच्न राष्ट्र बैंकले प्रस्ताव गर्दा न्यून ब्याज प्राप्त गर्दा पनि बैंक तथा वित्तीय संस्थाहरूले धेरै रकमको प्रस्ताव गर्ने  गरेका छन्। बिहीबार १९ बैंकले ८३ अर्ब ६ करोड रूपैयाँको प्रस्ताव गरेका थिए। साउन ८ गते बैंकहरूले ६८ अर्ब २० करोड रूपैयाँ प्रस्ताव गरेका थिए। 

प्रकाशित: १६ श्रावण २०७७ ०३:२९ शुक्रबार

नेपाल राष्ट्र बैंक रिपो रिर्भस