अर्थ

१५६ मध्ये २८ मुलुकसँग नाफाको व्यापार

गत आर्थिक वर्षमा नेपालले व्यापारिक सम्बन्ध भएका २८ मुलुकसँग नाफाको व्यापार गरेको छ। वर्षभरि आयात–निर्यात कारोबार भएका एक सय ५६ मुलुकमध्ये २८ मुलकसँग मात्र व्यापार नाफा देखिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।  

गत वर्ष सबैभन्दा बढी नाफा केन्यासँगको व्यापारमा देखिको छ। केन्या–नेपाल व्यापारमा ३४ करोड तीन लाख नाफा छ। त्यसपछि अल्जेरियासँग सात करोड ५१ लाख, माल्दिभ्ससँग दुई करोड २० लाख, यमनसँग एक करोड ८२ लाख, डेनमार्कसँग एक करोड ७२ लाख नाफाको व्यापार भएको छ। यो बीचमा यमन, न्यु क्यालेडोनिया, चाड, बुरुन्डी, अर्मेनियमा, पूर्वी टिमोर, बोलिभिया लगायत आठ मुलकबाट आयात शून्य छ।  

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य मुलुकमा माल्दिभ्स र अफगानिस्तानसँग नाफा छ। सार्कका बाँकी ६ सदस्य राष्ट्रसँग नेपालको व्यापार घाटा छ।  

व्यापार घाटा भएका एक सय २८ मुलुकमध्ये जमैका, बेलारुस, अन्डोरा, हैटी, आइसल्यान्ड लगायत ३१ मुलुकमा निर्यात शून्य छ। यो अवधिमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ। तथ्यांक अनुसार भारतसँगको व्यापार घाटा ६६ खर्ब ६२ अर्ब १३ करोड छ। वर्षभरिमा ७३ खर्ब ५२ अर्ब ९४ करोड आयात भएको भारततर्फ ६९ अर्ब ८१ करोडको निर्यात देखिन्छ। भारतपछि चीनसँग १८ खर्ब ७३ करोड व्यापार घाटा छ। त्यस्तै इन्डोनेसियासँग ३० अर्ब ६८ करोड, युनाइटेड अरब इमिरेटससँग १७ अर्ब ९३ करोड, क्यानडा र अर्जेन्टिनासँग१६–१६ अर्बभन्दा बढी व्यापार घाटा छ। व्यापार घाटा भएका अन्य मुलुकमा बेलायत, मलेसिया, युक्रेन, फ्रान्स, साउथ अफ्रिका मुख्य छन्।

गत वर्ष ९६ अर्ब १५ करोड ६७ लाख बराबरको निर्यात भएको थियो। यो अघिल्लो वर्षको तुलनामा पुगनपुग १ प्रतिशत कम हो। गएको वर्षको सुरुदेखि नै निर्यात सकारात्मक रहेकोमा लकडाउनले असर पु¥याएको थियो। गएको वर्षभरिमा ११ खर्ब ९६ अर्ब ८० करोडको सामान आयात भएको विभागको तथ्यांक छ, जुन आर्थिक वर्ष ०७५÷७६ को तुलनामा १५.६ प्रतिशतले कम हो।  

गएको वर्ष पनि सबैभन्दा बढी प्रशोधित पाम तेल निर्यात भएको छ। यसबाट १८ अर्ब ३१ करोड ८० लाख रुपैयाँ स्वदेश भित्रेको छ। त्यसैगरी, १२ अर्ब ३१ करोड ३५ लाखको सोयाबिन तेल, ६० अर्बको कार्पेट, ५६ अर्बको यार्न तथा ऊनी निर्यात भएको तथ्यांक छ। त्यस्तै, तयारी पोसाक, चिया, अलैंची, गलैंचा, खाद्यान्न, भाँडाकुँडा लगायत सामग्री पनि निर्यात भएको छ।  

लकडाउनबीच पनि भारतमा गत वर्ष निर्यात बढेको छ। आर्थिक वर्ष ०७५÷७६ मा ६२ अर्ब ७३ करोड निर्यात भएको भारतमा गत वर्ष ६९ अर्बको निकासी देखिन्छ। दोहोरो व्यापार सुधारको प्रयास भएको भनिएको छिमेकी मुलुक चीनमा गत वर्षका सुरुवाती महिनामा निर्यात राम्रो देखिए पनि आर्थिक वर्षको अन्त्यमा आउँदा ११ अर्ब ८४ करोड रुपैयाँमा खुम्चिएको छ, जबकि अघिल्लो वर्ष यो तथ्यांक २१ खर्ब एक करोड रुपैयाँ थियो।  

गत वर्ष सबैभन्दा बढी ८७ अर्ब ३८ करोडको डिजेल आयात भएको छ। डिजेल आयात अघिल्लो वर्षको तुलनामा ३२ अर्ब ५० करोडले कम हो। आर्थिक वर्ष ०७५÷७६ मा एक खर्ब २० अर्ब रुपैयाँको डिजेल आयात भएको थियो। गत वर्ष ४२ अर्ब २३ करोड रुपैयाँको अर्धनिर्मित कच्चा पदार्थ, २८ अर्ब ३६ करोड ५७ लाखको पेट्रोल, २७ अर्ब ९५ करोड रुपैयाँको ग्यास आयात भएको छ। गत वर्ष पेट्रोल र ग्यास पनि कम आयात भएको छ। ०७५÷७६ मा पेट्रोल र ग्यास ३५–३५ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको थियो। अघिल्लो वर्ष करिब ३५ अर्बको सुन आयात भएकोमा गत वर्ष साढे १३ अर्बको मात्र आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।

प्रकाशित: १४ श्रावण २०७७ ०४:२८ बुधबार

आयात–निर्यात कारोबार