अर्थ

कर शिविरबाट २४ लाख राजस्व उठ्यो

करदाता सेवा कार्यालय गाईघाटले उदयपुरको कटारीमा आयोजना गरेको एकदिने ‘कर शिविर’मा २४ लाख राजस्व संकलन भएको छ । सदरमुकामदेखि ६८ किलोमिटर टाढा रहेको व्यापारिक नाका कटारीका व्यवसायीलाई राजस्व बुझाउँन सजिलो बनाउने उद्देश्यले आइतबार आयोजित शिविरमा सो रकम संकलन भएको हो ।  

शिविरमा कर संकलन, खाता प्रमाणित, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता, कारोबार परिर्वतनलगायत सेवा प्रवाह गर्दा २३ लाख ९३ हजार रूपैयाँ संकलन भएको सेवा कार्यालयका प्रमुख कर अधिकृत सुमन बुढाथोकीले बताए । उनका अनुसार करसम्बन्धी विद्यमान ऐन कानुन तथा परिवर्तित नियमबारे जानकारीमूलक अन्तरक्रियासमेत गर्न आयोजित शिविरमा कटारी, त्रिबेणी, मरुवा, बेतिनी र घुर्मीबजारसम्मका व्यापारी व्यवसायीको सहभागिता थियो ।  

शिविरमा सात सय ५५ सेवाग्राही व्यवसायीबाट अन्तःशुल्क २० लाख ३० हजार र आयकर तीन लाख ९३ हजार संकलन भएको कर अधिकृत बुढाथोकीले बताए । सदरमुकामसम्म कर बुझाउन जानु पर्दा कम्तीमा चार हजार रूपैयाँ अतिरिक्त खर्च हुने पीडा भोग्दै आएका व्यवसायी शिविर सञ्चालन भएपछि उत्साहपूर्वक सहभागी भएका थिए ।

प्रकाशित: १३ श्रावण २०७७ ०३:२७ मंगलबार

राजस्व कर शिविर