अर्थ

काेराेनाका कारण होटल छाड्दै लेकसाइटका व्यवसायी

पर्यटकीय क्षेत्र पोखराको लेकसाइड। यहाँका अधिकांश भवनमा होटल सञ्चालित छन्। तस्बिर: उमेश पुन/नागरिक

पर्यटनमा झन्डै तीन दशक अवधिको अनुभव बटुलेका तीलकबहादुर अधिकारीले लेकसाइडमा होटल स्नो लियोपार्ड भाडामा सञ्चालन गरेका थिए। सुरुमा पाँच वर्षका लागि होटल भाडामा लिएका अधिकारीले त्यो अवधि पुगेपछि दोस्रोपटक पनि पाँच वर्षका लागि नवीकरण गरे। दोस्रोपटकको अवधि सकिन दुई वर्ष मात्र बाँकी छँदै उनले होटल छाडे।

लगातार आठ वर्ष एउटै होटल चलाउँदा उनलाई कहिल्यै मासिक भाडाको चटारो भएन। मासिक एक लाख ७० हजार रुपैयाँ बुझाउँदै आएका उनले भूकम्प र नाकाबन्दीका बेलामा समेत घरमुलीलाई सहजै भाडा तिरेका थिए। होटलमा २३ कोठा रहे पनि १८ वटामात्र चालु अवस्थामा थिए। तर, कोरोना भाइरस महामारीको मारमा परेका अधिकारीले अहिले भने अवधि पूरा नहुँदै होटल छाडेका छन्।

‘कोरोनाको अप्ठेरो केही महिनाका लागि मात्र होइन, वर्षका लागि पनि पर्ने पक्का छ,’ अधिकारी भन्छन्, ‘भूकम्प र नाकाबन्दीको अप्ठेरो केही दिन वा महिनाका लागि थियो तर, अहिलेको अप्ठेरोबाट पार पाउन सकस देखेर होटल छाडे।’ कोरोना संक्रमणका कारण कम्तीमा दुई वर्ष पर्यटक आउने सम्भावना नदेखेको भन्दै मासिक भाडाको बोझबाट मुक्त हुन होटल छाडेको अधिकारीले बताए।  

‘भूकम्प र नाकाबन्दीमा समेत म हतोत्साही भएको थिइन। तर, अहिले भने अत्तालिन पुगे,’ अधिकारीले भने, ‘अझै केही समय होटल व्यवसाय सञ्चालन गर्ने अवस्था रहन्न। अवस्था सहज हुँदाका दिन सकियो भने आफ्नै भवन बनाउँला, नत्र जेसुकै होला भनेर अवधि नपुग्दै छाडिदिए।’ कोरोनाले आफूहरुजस्ता धेरै व्यवसायीलाई वर्षाैदेखिको पेसाबाट विस्थापित गरिदिएको उनले बताए।

अधिकारीलाई होटल छाड्न बाध्य बनाउनुको एउटा बलियो कारण हो महंगो घरभाडा। कोरोना संक्रमणले मुलुकभित्र चैतदेखि लकडाउन सुरु भए पनि पर्यटन व्यवसायीले माघदेखि नोक्सान खेप्न थालेका थिए। त्यसले गर्दा बढी मारमा व्यवसायी थिए। माघदेखि आम्दानी गुमाउन थालेका व्यवसायीको चैतपछिको कमाइ शून्यमा झरेको थियो। तर, महंगो भाडा छुट गर्नमा घरमुलीले उत्तिसारो चाँसो देखाएनन्। सीमित मनकारी घरमुलीले मासिक भाडामा केही छुट गरे पनि अधिकले छुट गर्न नचाहेपछि व्यवसायबाटै हात झिकेको अधिकारीको भनाइ छ।

कोरोना संक्रमणले मुलुकभित्र चैतदेखि लकडाउन सुरु भए पनि पर्यटन व्यवसायीले माघदेखि नोक्सान खेप्न थालेका थिए। त्यसले गर्दा बढी मारमा व्यवसायी थिए। माघदेखि आम्दानी गुमाउन थालेका व्यवसायीको चैतपछिको कमाइ शून्यमा झरेको थियो। तर, महंगो भाडा छुट गर्नमा घरमुलीले उत्तिसारो चाँसो देखाएनन्।

‘मासिक घरभाडाको किचलोमा परेका धेरै समस्यालाई म आफैंले समाधान गरिदिए। तर, मेरो नै समस्या समाधान भएन,’ उनले भने, ‘आम्दानी शून्यको अवस्थामा आएपछि अप्ठेरो भयो। घरमुलीले मासिक भाडा नछाड्ने मनसाय बुझेपछि मैले नै होटल छाड्ने निर्णय गरे।’ उनका अनुसार भूकम्प जाँदा पनि भाडामा होटल चलाएका व्यवसायीलाई घरमुलीले भारी छुट दिएका थिए। त्यो बेला (भूकम्प र नाकाबन्दी) भाडामा सञ्चालित अधिकांश होटलले तीन महिनासम्मको छुट पाएको उनले बताए। ‘भूकम्प र नाकाबन्दीको भन्दा अप्ठेरो अवस्था अहिले आयो। तर सबै घरमुली मनकारी हुन चाहेनन्,’ अधिकारीले भने।  

घरमुलीले चैत–असार (चार महिना)सम्मको अवधिमा डेढ महिनाको मात्र भाडा छुट दिएको उनले बताए। महंगो मासिक भाडा तिरेर होटल चलाउने अवस्था नदेखेपछि छाड्नुको विकल्प नदेखेको उनले बताए। तीन दशक अवधिमा दर्जन हाराहारीमा होटल चलाए पनि अहिलेको जस्तो अप्ठेरो अवस्था कहिल्यै नभोगेको उनले बताए। ‘पर्यटनमा बेलाबेला अप्ठेरा आएका थिए। तर, अहिले त पूरै विस्थापित नै बनायो,’ उनले भने।  

अधिकारीकै जस्तो समस्या अर्का व्यवसायी रामप्रसाद भट्टराईले पनि भोग्नुप-यो। लेकसाइडमै प्यासिफिक गेस्टहाउस चलाएका भट्टराई पनि कोरोनाकै कारण पर्यटन क्षेत्रबाट विस्थापित हुनुपरेको बताउँछन्। भट्टराइले १७ कोठा भए पनि १२ वटाकोठा सञ्चालन गर्दै भवन भाडामा लिएका थिए। पहिलोपटक चारवर्षको अवधि सकेर दोस्रोपटक पाँच वर्षका लागि होटल भाडामा लिएका भट्टराईले दुई वर्ष बाँकी छँदै होटल छाडेका छन्। ‘सात वर्षको अवधिमा भूकम्प र नाकाबन्दीका बेला केही अप्ठेरो परेपनि अहिले भने व्यवसायबाटै बाहिरिनुपर्ने सम्मको अवस्था आयो,’ उनले भने, ‘भूकम्प र नाकाबन्दीमा छोटो समयको समस्या थियो। अहिलेको समस्या लामो छ। अवस्था सहज भए नयाँ होटल भाडामा लिएर चलाउने हो, अहिलेलाई बाहिरिएको छु।’  

भट्टराईले मासिक एक लाख ४० हजार रुपैयाँ भाडा तिर्दै आएका थिए। ‘होटल चलाउने भए मासिक ५० हजार रुपैयाँ र छाड्ने भए ५० प्रतिशत (मासिक ७० हजार) भाडा तिर्नुस भनेर घरमुलीले भने, तर, मैले ५० प्रतिशतका दरले भाडा तिरेर होटल नै छाडे,’ उनले भने, ‘लकडाउनको पूरै अवधिको भाडा मिनाहा गर्न घरमुली तयार भएनन्। शून्य आम्दानीमा मासिक भाडा तिरेर बस्ने अवस्था रहेन।’ पर्यटन व्यवसायमा बेलाबेला समस्या आउने भएपनि यो पटक भने व्यापारबाटै हात धुुनुपर्ने अवस्था आएको उनले बताए। ‘अवस्था सहज भए फेरि कुनै होटल लिएर चलाउने हो, अहिलेलाई कोरोनाले लखेटिए झै भयो,’ उनले भने।

अधिकारी र भट्टराईजस्ता धेरै व्यवसायीले कोरोना महामारीबीच भाडामा लिएका होटल अवधि पूरा नहुँदै छाडेका छन्। महंगो मासिक भाडा तिर्नुपर्ने सर्त नै उनीहरुका लागि अहिले टाउको दुखाइ बनेको छ। सानो आकारमा व्यवसाय सञ्चालन गरेपनि आम्दानीबिनाको महंगो भाडादरले सकस पारेको उनीहरुको भनाइ छ। सानो आकारमा व्यवसाय चलाउनलाई बचाउन नसक्ने हो भने अरुलाई पनि समस्या पर्ने केही व्यवसायीको भनाइ छ। ‘साना होटल वा व्यवसायीलाई बचाउन सकिएन भने ठूला व्यवसायी पनि बच्दैनन्,’ अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई भन्छन्, ‘साना व्यवसायीलाई पलायन हुन नदिनका लागि सरकारको पहल चाहिन्छ। त्यसबाहेक हामी व्यवसायीले पनि पहल गर्नुपर्छ।’

पोखरा सबैखाले पाहुनाका लागि उपयुक्त छ भन्ने सन्देश दिनका लागि सानादेखि ठूला आकारका व्यवसायी बाच्नुपर्ने उनले बताए। ‘पोखरामा सबै धनाढ्य पाहुना आउने होइनन्, कम खर्च गर्ने पाहुनाका लागि पनि यहाँ ठाउँ हुनुपर्छ,’ अग्रज व्यवसायी भट्टराइले भने, ‘सबै अटाउने ठाउँ हुनुपर्छ। होटल मात्र नभई रेस्टुरेन्टदेखि गार्मेेन्ट, ट्रेकिङ, इम्ब्रोइडरीका साना व्यवसायी पनि बाच्नुपर्छ।’ अहिले बन्द भएका होटल अवस्था सहज भएर नयाँ व्यवस्थापनमा चल्न समय लाग्ने उनले बताए। ‘सधैंका लागि बन्द भएजस्तै भयो। अहिले भाडामा चलेका थिए, तर, अब भाडामा लिन चाहने नयाँ लगानीकर्ता आउनुपर्छ। नयाँ लगानीकर्ता पनि तत्कालै आउने सम्भावना छैन,’ उनले भने, ‘सञ्चालक बाहिरिएका ती होटल अब कहिले खुल्छन भनेर भन्न सकिन्न।’

पश्चिमाञ्चल होटल संघका अनुसार भाडामा लिएर चलाएका करिब ७० वटा होटलका सञ्चालक अहिले व्यवसायबाट बाहिरिइसकेका छन्। यो क्रम अझै जारी रहेको संघको भनाइ छ। संघका अध्यक्ष विकल तुलाचनका अनुसार लेकसाइडमा कम्तीमा मासिक ५० हजारदेखि तीन लाख रुपैयाँसम्म भाडा तिरेर व्यवसायीले मध्यमस्तरका होटल चलाएका थिए। तर अहिले ती व्यवसायी बढी मारमा परेको उनले बताए। ‘२०–३० कोठाका होटल भाडामा लिएर चलाएका थिए। अहिले आम्दानी शून्य छ, तर, मासिक भाडाको बोझ भने घटेको छैन,’ उनले भने, ‘त्यही भएर व्यवसायीले बिचैमा होटल छाडेका छन्।’ मध्यमस्तरका ती होटल अब तत्काल खुल्ने अवस्था नरहेको उनले बताए।  

‘अहिले व्यापार छाडेका व्यवसायी पनि पर्ख र हेरको अवस्थामा छन्। सहज हुँदाको अवस्थामा पाहुना आउन थालेपछि मात्र केही व्यवसायी पर्यटनमा फर्किन सक्छन्,’ उनले भने, ‘आधाजति व्यवसायी फर्किन सक्ने सम्भावना छ। तर, एक वर्ष ती होटल चल्ने अवस्था रहन्न।’ भूकम्प र नाकाबन्दीको समेत मार खेपेका व्यवसायी अहिले भने निकै अप्ठेरोमा परेपछि व्यवसायबाट हात झिकेको उनले बताए। ‘मासिक भाडा पनि साह्रै नै महंगो छ। यो अवस्थामा आम्दानीबिनाको व्यवसाय चालु राख्नु निकै चूनौतीपूर्ण हो,’ उनले भने, ‘हामीले नै घरमुलीलाई भाडा मिनाहा गर्न अनुरोध ग-यौ। केही मनकारी घरमुली तयार पनि भए। तर, महंगो भाडादरका कारण सबैले छुट दिन चाहेनन्।’

प्रकाशित: १२ श्रावण २०७७ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App