अर्थ

चार वर्षपछि ब्याजदर एकल अंकमा

घर–जग्गा कर्जा

कुनै समय वार्षिक १५ प्रतिशतसम्म पुगेको घरजग्गा कर्जाको ब्याजदर एकल बिन्दुमा झरेको छ।  

बजारमा माग र आपूर्तिको अवस्थाले मूल्य निर्धारण गर्ने तथ्य घरजग्गा कर्जाको ब्याजदरमा देखिएको उतारचढावले पुनः पुष्टि गरेको छ। विगतमा लगानीयोग्य पुँजी (तरलता) अभाव हुँदा निक्षेप आकर्षित गर्न बैंक वित्तीय संस्थाले बढी ब्याज तिर्नुपर्दा ऋण लिनेसँग पनि उनीहरुले चर्को ब्याज असुल्नुपरेको थियो। २०७३ सालको पूर्वाद्र्धतिर ८–९ प्रतिशत वार्षिक ब्याजदरमा घरकर्जा लिएका ऋणीहरु त्यसको एकदुई वर्षमै १५ प्रतिशतसम्म ब्याज तिर्न बाध्य भएका थिए।  

अहिले अधिक तरलता थुप्रिएका बेला कर्जाको माग नभएपछि बैंक  वित्तीय संस्थाले घरजग्गा कर्जाको ब्याजदर एकल अंकमा झारेका हुन्। कर्जासँगै निक्षेपको ब्याजदर पनि घटेको छ। साउन पहिलो सातादेखि ब्याजदरसम्बन्धी सूचना प्रकाशन गर्न थालेका वाणिज्य बैंकहरूले घरजग्गा कर्जामा बढीमा ९.९९ प्रतिशतसम्म ब्याज लिने घोषणा गरेका छन्। सबै बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अंकमा आएको होइन। केहीको अझै ११–१२ प्रतिशत ब्याजदर छ। अधिकांश बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झारेका छन्।

घरकर्जाको ब्याजदर ७.९९ प्रतिशतमा झारेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ब्याजदर घट्नु र बढ्नुलाई माग र आपूर्तिको सिद्धान्तबाट हेरिनुपर्ने बताए। ‘यतिखेर बजारमा तरलता फालाफाल छ,’ उनले भने, ‘तर यसको विपरीत कर्जाको माग नै छैन। त्यसैले ब्याजदर घटाउनुप¥यो।’

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पाँच वर्षसम्मको घरकर्जाको ब्याजदर बेस रेटमा १.५ देखि २ प्रतिशतसम्म प्रिमियम थपेर निर्धारण गर्ने घोषणा गरेको छ। यस बैंकले १० वर्षसम्मको घर कर्जामा २ देखि २.५ र  १५ वर्षसम्मको घर कर्जामा २.५ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने जनाएको छ। अहिले वाणिज्य बैंकको बेस रेट ६.०७ प्रतिशत छ।  

साउन पहिलो सातादेखि ब्याजदरसम्बन्धी सूचना प्रकाशन गर्न थालेका वाणिज्य बैंकहरूले घरजग्गा कर्जामा बढीमा ९.९९ प्रतिशतसम्म ब्याज लिने घोषणा गरेका छन्।

त्यस्तै केही समयअघि गण्डकी विकाससँग मर्ज गरेको मेगा बैंकले ८.३२ प्रतिशतमै घरजग्गालगायत सम्पूर्ण कर्जा दिने घोषणा गरेको छ। ‘कर्जाको ब्याजदर एकल अंकमा झार्नुपर्छ भन्ने पहिलेदेखिकै माग हो,’ मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले आइतबार नागरिकसँग भनिन्, ‘अहिले अधिक तरलता भएपछि कर्जाको ब्याजदर एकल अंकमा झरेको छ।’ कोरोना भाइरसले ग्रस्त आर्थिक अवस्थामा सुधार नआएसम्म कर्जाको ब्याजदर नबढ्ने उनको अनुमान छ।  

हरेक आर्थिक वर्ष समाप्त भएर नयाँ आर्थिक वर्षको पहिलो महिनामा तरलता वृद्धि हुनु नेपालको प्रचलन नै हो। तर पछिल्लो पाँच महिनादेखि कोरोना भाइरसको महामारीबाट आर्थिक गतिविधि प्रभावित भएपछि थप तरलता थुप्रिएको हो।  

हरेक आर्थिक वर्षको अन्त्यमा विकासे योजनाका काम सम्पन्न भएपछि सरकारी निकायले गरेको भुक्तानीको रकम बैंकिङ प्रणालीमा आउने गर्छ। बैंकहरूका अनुसार नयाँ आर्थिक वर्षको सुरुवातमा बैंकिङ प्रणालीमा एक खर्ब रुपैयाँ हाराहारी तरलता हुन्थ्यो। यसपटक करिब दुई खर्ब रुपैयाँ तरलता छ।  

अधिक तरलता भएपछि केही दिनअघि राष्ट्रबैंकले रिपो रिभर्समार्फत २० अर्ब रुपैयाँ खिचेको थियो। त्यतिखेर वित्तीय संस्थाहरूले ६८ अर्ब २० करोड रुपैयाँको प्रस्ताव गरेका थिए। एक महिनाअघि पनि केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ रिपो रिभर्समार्फत खिचेको थियो।  

बजारमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि राष्ट्रबैंकले बजारबाट निक्षेप खिच्ने गर्छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाह अचेल कर्जाको माग नै हुन छाडेको बताउँछन्। उनले यस्तो समस्या यो त्रैमासभरि रहनसक्ने अनुमान गरे।  

कर्जाको ब्याजदर घट्दा उद्योगी, व्यवसायीलगायत बैंक वित्तीय संस्थाबाट ऋण लिएर काम चलाउनेलाई सजिलो हुन्छ। शाहले अहिले बैंकहरूले नाफाभन्दा पनि कसरी सबै बाँच्ने भन्नेमा ध्यान दिएको बताए। ‘कोरोनाले अधिकांश क्षेत्र प्रभावित छन्,’ उनले भने, ‘बैंकहरूले घोषणा गरेको नयाँ ब्याजदरले सबैलाई राहत पुग्छ।’  

बैंकहरूले घरजग्गाको मात्र नभई सबै कर्जाको ब्याजदर घटाएका छन्। अधिकांश कर्जाको ब्याजदर एकल अंकमा झारिएको छ। बैंकहरूले एकल अंकमा कर्जाको ब्याजदर झारेपछि कर्जा प्रवाह बढ्ने अपेक्षा गरिएको छ।  

उद्योगी व्यवसायी भने कोरोना भाइरस नियन्त्रणमा नआउँदासम्म कर्जा प्रवाह बढ्ने अनुमान गर्न नसकिने बताउँछन्। घरकर्जाको ब्याजदर घट्दा सहरी क्षेत्रमा घर निर्माण र जग्गाको कारोबार बढ्ने अनुमान गरिन्छ। बैंकरहरू भने कर्जाको ब्याजदर घटेको यो बेलालाई व्यवसाय वृद्धि गर्ने अवसरको रूपमा लिनुपर्ने बताउँछन्।  

कर्जाको ब्याजदर घट्दै जाँदा जलविद्युत्लगायत ठूला आयोजनाले बिस्तारै कर्जा माग गर्ने बैंकरहरूको अपेक्षा छ। एकातिर मौद्रिक नीतिले उद्यमी व्यवसायीलाई साथ दिइरहेको र अर्कोतर्फ कोरोना महामारीको त्रास पनि घट्दो क्रममा रहेकाले अबका केही दिनमै कर्जाको माग बढ्ने अनुमान गरिएको एक बैंकरले बताए।  

बैंकहरूले सेयर र अटो (सवारीसाधन) कर्जाको ब्याजदर पनि घटाएका छन्। मौद्रिक नीतिमै सेयर धितोमा प्रवाह हुने कर्जा औसत मूल्यांकनको ६५ बाट ७० प्रतिशत पु-याइएको छ। त्यस्तै राष्ट्रबैंकसँग रहेको ४२ अर्ब पुनर्कर्जा कोषमा पाँच गुणासम्म वृद्धि गरी पुनर्कर्जा सुविधा दिने व्यवस्था मौद्रिक नीतिमा छ।

राष्ट्रबैंकका प्रवक्ता गुणाकर भट्ट कोरोना महामारी नियन्त्रणमा आउँदै गर्दा कर्जाको माग पनि बढ्दै जाने अपेक्षा गर्छन्। ‘चालु आर्थिक वर्ष सरकारले नै दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना राखेको छ,’ उनले भने, ‘त्यसले पनि तरलता घटाउन सहयोग गर्ला।’ आर्थिक वर्ष ०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरूले ६ खर्ब नौ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। जसमध्ये सोही वर्ष चार खर्ब पाँच अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो।  

आर्थिक वर्ष ०७६/७७ को अन्तिम महिना असार २६–३१ गतेसम्म  बैंक तथा वित्तीय संस्थाहरूले ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। हाल बैंक वित्तीय संस्थाहरूसँग रहेको ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेपमध्ये २९ खर्ब तीन अर्ब रुपैयाँ कर्जा प्रवाह गरिएको छ।

प्रकाशित: १२ श्रावण २०७७ ०१:४० सोमबार

ब्याजदर घरजग्गा कर्जा