पोखराको फिर्के पुल समयमै निर्माण सम्पन्न नहुने भएको छ। पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पोखराको प्रस्याङमा निर्माणाधीन पुल समयमै सम्पन्न नहुने निश्चित भएको हो। २०७५ साल असोज ८ गते सम्झौता भई २०७७ साल चैत ३० गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो पुल निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमै नसकिने पक्का भएको सडक विभाग पोखराले जनाएको छ। सम्झौता अनुसार पुल निर्माणको काम अबको ८ महिनामा सकिनुपर्ने हो। तर पुल निर्माणको प्रगति हालसम्म ७ प्रतिशत भन्दापनि कम छ। अझ अहिले त कम्पनीले काम नगर्ने बहाना लकडाउन बनाएको छ।
पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पोखराको जिरोकिलोमिटरदेखि बिन्ध्यबासिनी मन्दिरसम्म ६ लेनको बाटो निर्माण भएको करिब ३ वर्ष भयो। बाटो फराकिलो बनेर ६ लेनको भएपछि पुलचाहिं बोटल–नेक जस्तो भयो। जसका कारण दैनिकजसो दुर्घटना हुने र यात्रुको ज्यानै जानेसम्मका घट्नाहरु हुन थालेपछि पुरानो पुललाई यथावत राखेर त्यसको दायाँ र बायाँ २÷२ लेनको २ वटा पुल निर्माण गरिन गरिन लागेको हो। पुल निर्माणको जिम्मा शान्ति आरोग्य जेभी सानेपा, ललितपुरले १२ करोड ३२ लाख २६ हजार १७६ रुपैयाँमा लिएको छ। कंक्रिट ग्रिडर र पाइल फाउण्डेसन गरेर निर्माण गरिन लागेको यो पुल स्पेसल एक्स्ट्रा डोज मोटरेवल पुल हो।
समय गुज्रेको हिसाबले अहिलेसम्म पुल निर्माणको काम करीब ७० प्रतिशत काम सकिनुपर्ने हो। तर फिल्डमा हेर्ने हो भने पुल निर्माणको एक छेउसम्मपनि काम भएको छैन। अझ लकडाउन भएपछि त उसले काम रोक्ने बहाना पाएको छ। सोहि बहाना बनाउँदै अन्य कम्पनीले धमाधम काम गरिरहँदा उसले अहिलेसम्म कामदार बोलाएकोसमेत छैन।
सडक विभाग पोखरा कार्यालयका ईञ्जिनियर कल्याण खड्काले कम्पनीको ढिलासुस्तीका कारण पुल समयमै नबन्ने देखिएको बताए। ‘दुई वर्षमा ७ प्रतिशतपनि काम भएको छैन’, उनले भने, ‘यस्तो पाराले समयमा त के म्याद गुज्रेको १ वर्षमापनि पुल बन्ने छाँट छैन।’ उनले सरकारले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि ६ महिना थपिदिएपनि सो समयमापनि पुल बन्ने छाँट नदेखिएको बताए।
पुलको साइट हेर्ने ईञ्जिनियर सन्तोष थापाले पनि पुल निर्माणको कार्य प्रगति सुस्त रहेको बताए। ‘पुल निर्माणको काम सुस्त मात्रै होइन अति सुस्त छ’, उनले भने, ‘पटक-पटक पत्राचार गर्दापनि निर्माण कम्पनीले कामको गति बढाएन।’
निर्माण कम्पनी शान्ति आरोग्य जेभी सानेपा, ललितपुरका साइड सुपरभाइजर रामनारायण साह भने काममा ढिलासुस्ती भएपनि आफूहरुले सक्दो काम गरिरहेको बताउँछन्। हामीले काम नै ६ महिना ढिलो शुरु ग¥यौं’ उनले भने, ‘बिचमा पाइलका लागि खन्दा पिजल (फलामको ढिक्का) नै अड्किने समस्या आयो, जसका कारण सोंचेअनुसारको कार्य प्रगति गर्न सकेनौं।’ अहिले आएर कोरोना र लकडाउनका कारण काम अघि बढाउन नसकिएको उनको भनाई छ।
नेपालमै पहिलोपटक पाइलको सपोर्टमा केवल हालेर टावर टाइपको स्पेसल एक्स्ट्रा डोज मोटरेवल पुल निर्माण गरिन लागेको हो। माछापुच्छ«े हिमालसहित अन्य हिम श्रृंखलासमेत देखिने भएकाले यस्तो डिजाइनमा पुल बनाउन लागिएको सडक विभाग पोखरा कार्यालयका ईञ्जिनियर कल्याण खड्काले जानकारी दिए। उनका अनुसार यो डिजाइनमा अन्य ठाउँमापनि पुल निर्माण गर्नका लागि सम्झौता गरिएको भएपनि काम नै थालिएको यहाँ मात्रै हो।
पुल बन्ने आशामा बसेका पोखरेली समयमै पुल नबन्दा निराश बनेका छन्। साथै उनीहरुले पुल निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीप्रति आक्रोस व्यक्त गर्दै समयमै पुल निर्माण नगरेमा कार्वाही गर्नुपर्ने बताएका छन्। पोखरेली पर्यटन व्यवसायी भरतराज पराजुली भन्छन्’, लकडाउन त बहाना मात्रै हो’, २ वर्षमा ७ प्रतिशतपनि काम नगर्नेले के पुल बनाउला ?’ उनले पुल निर्माणमा चरम लापर्वाही भइरहँदा सडक विभाग र सरकार मौन बसेको भन्दै थपे’ व्यबस्था बदलियो, सरकार बदलियो तर काम गर्ने शैली बदलिएन, यसरी कसरी बन्छ नया नेपाल ? कसरी हुन्छ विकास र समृद्धी ?।’
प्रकाशित: १० श्रावण २०७७ ०९:५७ शनिबार