अर्थ

उर्जा क्षेत्रमा लगानीमैत्री वातावरण : मन्त्री पुन

सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ।  ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन अपिल गरे। नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबार स्थित मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी मैत्री वातावरण निर्माण गरिएकाले लगानी सुरक्षमा ढुक्क रहन आग्रह गरे। राजदूत आफ्नो साम्स चार वर्षे कार्यकाल पुरा गरी केही दिनपछि बंगलादेश फर्कंदै छन्।  

भेटमा नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी भएको स्मरण गर्दै मन्त्री पुनले त्यसलाई दुई देशबीच ऊर्जा व्यापारकालागि कोशेढुंगाको संज्ञा दिए। नेपाल र बंगलादेशबीच २०७५ सालभदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बंगलादेशले नेपालबाट आगामी सन् २०४० भित्र ९ हजार मेगावाट बिजुली खरिद गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो।  

जवाफमा राजदूत साम्सले नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण निर्माणमा नेतृत्वदायी र निर्णायक भूमिका रहेको भन्दै मन्त्री पुनको प्रशंसा गरिन्। ‘नेपाल र बंगलादेशकाबीच ऊर्जा क्षेत्रमा सहकार्यको राम्रो वातावरण बनेको छ’, राजदूत साम्सले भनिन्, ‘तपाईंको कुशल नेतृत्व नभएको भए यो सम्भव थिएन।’ राजदूत साम्सले कोभिड–१९ महामारीका कारण नेपाल र बंगलादेश दुवैले ठूलो आर्थिक क्षति ब्यहोर्नुपरेको भन्दै आर्थिक–सामाजिक चुनौतीको मिलेर सामना गर्नु पर्ने उल्लेख गरिन्।  

 

 

प्रकाशित: ८ श्रावण २०७७ १३:२५ बिहीबार

उर्जा