अर्थ

मौद्रिक निति पछि पनि व्यवसायीलाई बैंकको मानसिक दबाब

कोरोना भाईरसको माहामारी तथा लकडाउनको प्रभावमा थलिएका व्यवसायीका लागी नेपाल राष्ट्र बैंकले मौद्रिक निति मार्फत राहत प्याकेज घोषणा गरेपनि जिल्लाका बैंक तथा बित्तिय संस्थाले पिडित उद्योगी तथा व्यवसायीलाई किस्ता असुल्ने नाममा मानसिक दबाब दिन नछाडेको व्यवसायीले बताएका छन् ।  

राष्ट्र बैंकले लकडाउनको मारमा परेका उद्योगी व्यवसायी र ऋणीहरूका लागी मौद्रिक निति मार्फत राहतत प्याकेज घोषणा गरेको ४ दिन बितिसक्दा समेत दोलखाका बैंक तथा बित्तिय संस्थाका कर्मचारीले कोरोनाका कारण पिडित बनेका व्यवसायीलाई कर्जाको किस्ता तथा व्याज असुलीका नाममा घरमै पुगेर मानसिक यातना दिईरहेको भन्दै दोलखा उद्योग बाणिज्य संघले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।  

राष्ट्र बैंकले मौद्रिक निति मार्फत लकडाउनको मारमा परेको निजी क्षेत्रका उद्योग र व्यवसाय पुनः उठाउने गरी राहत प्याकेज अघि सारेपनि जिल्लाका बैंक तथा बित्तिय संस्थाले सावाँ तथा व्याज असुलीका नाममा घरमा पुगेर परिवार समेतलाई मानसिक दबाब दिन नछाडेको भन्दै दोलखा उद्योग बाििणज्य संघले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो ।  

संघले वक्तव्य निकालेर समस्याग्रस्त बनेको उद्योग व्यवसाय पुन उठाउन भुमिका खेल्नुपर्नेमा घर घरमा पुगेर व्यवसायीलाई धम्क्याउने र मानििसक तनाव दिने कार्य बन्द गर्न आग्रह गरेको छ । संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठद्धारा जारी वक्तव्यमा राष्ट्र बैंकले कोरोनाको प्रभावमा परेको ऋणीहरूलाई राहत हुने गरी मौद्रिक निती जारी गरे घर घरमा पुगेर व्यवसायीहरूलाई किस्ता र व्याज नतिरे कालोसुचीमा राखिदिने र लिलाम गर्ने भन्दै परिवारकै अगाडी मानसिक यातना दिने क्रम नरोकिएकाले त्यस्तो कार्य तत्काल बन्द गर्न भनिएको छ ।  

‘कोरोनाको प्रभावमा परेका व्यवसायीहरूका लागी मौद्रिक नितिले धेरै कुरा सम्बोधन गरिसकेको छ, तर उक्त मौद्रिक निति पछि समेत सावाँ तथा व्याज असुल्ने नाममा मानसिक रुपमा दबाब दिन छाडिएको छैन’ श्रेष्ठले भने, ‘कोरोनाले संसारभरी नै तनाव दिएको यो अवस्थामा जिल्लाका बैंक तथा बित्तिय संस्थाको यस्तो कार्यले कुनै उद्योगी व्यवसायी वा ऋणीको पारिवारिक या निजी जिवनमा नराम्रो भए त्यसको परिणाम सम्बन्धीत संस्थाले नै भोग्नु पर्नेछ’ ।  

अध्यक्ष श्रेष्ठले कोरोनाका कारण डुबिरहेको व्यवसायलाई उकास्ने दायित्व सम्बन्धीत व्यवसायी संगै कर्जा दिने बित्तिय संस्थाको समेत भएकाले सहकार्य गरेर दोलखाको व्यवसाय र अर्थतन्त्र उकास्न आग्रह गरे ।  

यसै बिच उद्योग बाणिज्य संघ दोलखाले चरिकोटको प्रभु बैंक र सेन्चुरी कर्मशियल बैंकका शाखा प्रमुख र कर्मचारीले ऋणी तथा व्यवसायीहरूलाई घरघरमै पुगेर दुव्र्यवहार गरेको आरोप समेत लगाएको छ । बिज्ञप्तीमा ति बैंकका शाखा प्रबन्धक र कर्मचारीले किस्ता र व्याज उठाउने नाममा पिडित बनेका व्यवसायीलाई दुव्र्यवहार गरेको आरोप लगाईएको छ । जिल्लाका व्यवसायी र बैंकहरूको सम्बन्धमा आँच आउने कार्यशैली देखाउने शाखा प्रमुखहरूलाई संघले कार्बाहीको माग समेत गरेको छ । यस अघि उद्योग बाणिज्य संघ दोलखाले कोरोनाको माहामारी पछि परेको असर बारे जिल्लामा रहेका बैंक तथा बित्तिय संस्थाहरू संग छलफल समेत गरेको थियो ।  

सहकारी पनि उस्तै

व्यवसायीहरूका अनुसार कोरोनाको मारमा परेका ऋणीहरूबाट किस्ता र व्याज उठाउने नाममा जिल्लाका ठुला सहकारीहरूले मानसिक तनाव दिन शुरु गरेका छन् ।  

‘यसको पसलमा कति पैसा जम्मा हुन्छ र लिएर जान पाईन्छ भनेर सञ्चालक र कर्मचारीहरू दिनभर ऋणीहरूका पसलमा बस्न शुरु गरेका छन’ चरिकोटका एक हाड्वयर व्यवसायीले भने, ‘ऋण तिर्नुपर्छ भन्ने थाहा छ, तर उठाउने नाममा पसलमा आएर बसेर मानसिक रुपमा दबाब दिन थालेका छन’ ।  

राष्ट्र बैंकले राहत प्याकेज घोषणा गरेपनि सहकारीहरूले सदस्यहरूलाई उचित सम्बोधन गर्ने खालका कार्यक्रम ल्याउन सकेका छैनन् । केही सहकारीका सञ्चालक समितिले असार सम्म्म ब्याज छुट स्किम ल्याएपनि व्याज दिन नसक्नेहरूलाई साउन देखी फेरी हर्जाना लगाउन शुरु गरेका छन् । यसले लकडाउनको मारमा परेर किस्ता हाल्न नसकेका ऋणीहरू फेरी सहकारीबाट हर्जानाको तनावमा पर्न शुरु गरेका छन् ।

प्रकाशित: ५ श्रावण २०७७ १३:२७ सोमबार

व्यवसायी