अर्थ

हान र ट्रेड युनियनबीच सम्झौता

होटल संघ नेपाल (हान) र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीनवटा केन्द्रीय ट्रेड युनियन संघबीच ६ बुँदे सम्झौता भएको छ।

श्रम ऐन बमोजिम सेवा, सुविधा उपलब्ध गराउन कठिन भएको अवस्थामा आफ्ना श्रमिक तथा कर्मचारीलाई व्यवस्थापन गर्न सम्झौता भएको हानले जनाएको छ।  

सम्झौता अनुसार होटल बन्द भए पनि कर्मचारीले होटलको वर्गीकरण अनुसार मासिक रकम पाउने भएका छन्।

कोभिड–१९ को महामारीबाट सिर्जित अवस्थाको असर ३१ डिसेम्बर २०२० सम्म रहन सक्ने आकलन गरी गत अप्रिल १३ देखि आगामी डिसेम्बर ३१ सम्मका लागि सम्झौता भएको जारी विज्ञप्तिमा उल्लेख छ।

‘यस विषम परिस्थितिमा दुवै पक्षको लगातार बैठकमार्फत ‘बाँचौं र बचाऔं’को नीति अख्तियार गरी सहकार्य गर्ने सहमति गरियो। यो सम्झौताले दुःखको बेलामा पारिवारिक एकता समेत प्रदर्शित भएको छ,’ हानकी अध्यक्ष सिर्जना राणाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणा, नेपाल स्वतन्त्र होटल मजदुर युनियनका तर्फबाट अध्यक्ष सूर्य कुँवर, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघको तर्फबाट अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा स्वतन्त्र होटलसम्बद्ध श्रमिक संघका तर्फबाट अध्यक्ष खेमराज खड्काका साथै अन्य जिम्मेवार पदाधिकारीको रोहबरमा उक्त सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ।

सम्झौता अनुसार दुई सयभन्दा माथि कोठा भएका पाँचतारे होटल तथा सोही स्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीलाई मासिक १० हजार रुपैयाँ र दुई सय कोठाभन्दा कम भएका होटलका श्रमिक तथा कर्मचारीलाई मासिक नौ हजार रकम उपलब्ध गराइने छ।

त्यस्तै, सय कोठाभन्दा बढी भएको चारतारे होटल र सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीलाई मासिक आठ हजार चार सय ५५ रूपैयाँ उपलब्ध गराइने निणर्यमा उल्लेख छ।

हानले सय कोठाभन्दा कम भएको चारतारे होटल र सोही स्तरका रिसोर्टमा कार्यरतलाई आठ हजार रकम उपलब्ध गराइने जनाएको छ।

त्यस्तै, तीनतारे तथा सोही स्तरका रिसोर्टमा कार्यरत कर्मचारीलाई मासिक पाँच हजार रकम उपलब्ध गराइनेछ  भने दुईतारे तथा सोही स्तरका रिसोर्टमा कार्यरत कर्मचारीलाई मासिक चार हजार तीन सय रकम उपलब्ध गराइनेछ।

एकतारे र पर्यटक स्तरीय होटल तथा रिसोर्टले आपसी समझदारीमा रकम उपलब्ध गराउने जनाइएको छ।

प्रकाशित: ५ श्रावण २०७७ ०४:०३ सोमबार

होटल संघ नेपाल