अर्थ

स्वरोजगार बन्दै अटो व्यवसायी

तातोपानी गाउँपालिका ६ खड्काबाडाका २२ वर्षिय प्रेमबहादुर खड्का अटो रिक्सा चलाएर मासिक ३० हजार रुपैयाँ कमाउँछन्। तीन बर्ष मलेसियाबाट घर फर्केर अटो रिक्सा व्यवसायमा लागेका उनी अहिले आफ्नो कमाइप्रति निकै सन्तुष्ट छन्। सबै खर्च कटाएर दैनिक एक हजार रुपैयाँ बचाउँछु। उनले भने, ‘अटो रिक्सा किनेपछि स्वरोजगार भएको अनुभुति गर्दैछु।’

सात लाख रुपैयाँमा किस्तामा अटो ल्याएका खड्का अहिले मासिक पन्ध्र हजार रुपैयाँ किस्ता तिर्दै आइराखेका छन्। उनले भने,‘महिनामा पन्ध्र हजार किस्ता, मर्मत खर्च सबै बेहोरेर बैंकमा ३० हजार रुपैयाँ जम्मा गरिरहेको छु। यो राम्रो कमाइ हो।

एसएलसी उर्तिण भएर रोजगारीको लागि विदेश हानिएका उनी अहिले गाउँमै स्वरोजगारको एक उदाहरण बनेका छन्। मेहनत र धर्य गरेको खण्डमा गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश छर्न सफल भएको उनी बताउँछन्।शुरु शुरुमा अटो रिक्सा कमै थिए। उतिबेला दैनिक ४ देखि ५ हजार रुपैयाँ सम्म पनि कमाइयो।  हाल १ दिनको १५ देखि १८ सय रुपैयाँ सम्म कमाउदै आएको छु, उनले थपे।  

तातोपानीकै २० बर्षीय मिलन खड्का अटो रिक्साबाट मनग्य आम्दानी भएको बताउँछन्।  उनी पनि तीन महिना विदेशमै बसे। मलेसियामा कामदारका रुपमा काम गरे। मलेसियामा बसेका खड्काले विदेशभन्दा स्वदेशमै अटो रिक्साबाट राम्रो आम्दानी भएको अनुभव सुनाए। आफ्नै देशमा परिवार सँगै बस्न पाइएको छ। व्यवसाय गरेर राम्रो कमाई भएको छ। उनले भन्े,‘स्वदेशमै राम्रो आम्दानी हुन्छ भने विदेश जानु खासै आवश्यक ठानिएन्। अर्काको देशमा रातदिन पसिना बगाएपनि आत्मसम्मान पाइदैन्।  

मिलन र प्रेमबहादुर एक उदाहरण मात्र हुन्। पछिल्लो समयमा जुम्लाका अधिकाश युवा अटो चलाएर स्वरोजगार बनेका छन। पाँच लाख देखि सात लाख रुपैयाँको लागतमा खरिद गरेर जुम्लाका ६० भन्दा  बढी युवा मासिक २० देखि ३० हजार आम्दानी गर्न सफल भएका हुन्।  वैदेशिक रोजगारीबाट फर्केका युवाहरु अहिले आफ्नै गाउँठाँउमा अटो खरिद गरेर रमाइरहेका छन। आफ्नै गाउँठाउँमै अटो रिक्साबाट राम्रो आम्दानी भएपछि ट्रक, बस, कार चलाइरहेका चालकहरू पनि अटो रिक्सातर्फ आकर्षित भएको उनीहरु बताउँछन ।  

गाउँमै स्वरोजगार भएपछि कसैको कर र चापमा बस्नु पदैन्। विदेशमा नेपालीहरूले भोगिरहेको दु ःखका व्याथाहरु बताउँदै उनीहरु भन्छन्,‘ अर्काको देशमा नेपालीको हालत मर्दा कुकुर बिरालो मरे जस्तै हुने गर्छ। ’ जुम्लामा दुई बर्ष अघिदेखि अटो रिक्सा सञ्चालनमा आएपछि ग्रामीण भेगका घरदैलोमा यातायातको सुविधा पुगेको छ। सानातिना ढुवानीदेखि आवतजावतमा अटो रिक्सा सञ्चालनले टेवा पुगेकोे छ।  

गत चैत महिना बाट लामो समय देखिको बन्दाबन्दीले केही समस्या भएको छ। विश्वमा देखिएको कोरोना भाइरसको नियन्त्रणका लागि गरिएको लकडाउनका कारण यातायातका साधन ठप्प हुँदा रिक्सा चलाएर गुजारा चलाउँदै आएकाहरुलाइ समस्या भएको हो।

ठूला सवारी नपुगेको गाउँघरको बाटोमा पनि अटो रिक्सा पुग्ने गरेको छ। ग्रामीण क्षेत्रमा अटो रिक्साले एम्बुलेन्सको पनि काम गरेको छ। कहाँ एम्बुसलेन्स खोज्ने भन्दै तुरुन्तै गाउँकै अटो रिक्सा बोलाएर अस्पतालमा बिरामी र्पुयाउन सहज भएको स्थानीय बताउँछन्। हाल जुम्लाका अटो रिक्साले चन्दननाथ नगरपालिका भित्र र तातोपानीको एरेनी सम्मको रुटप्रमिट पाएका छन्। हाल जुम्लामा ६० वटा अटो रिक्सा जुम्ला पुगेका छन। बेरोजगार युवाहरुको मुख्य आम्दानीको स्रोत अहिले अटो रिक्सा बनेका छन।  

प्रकाशित: ३ श्रावण २०७७ ११:४० शनिबार

व्यवसायी