अर्थ

कृषि कार्यालय जुम्लामा सलह अपडेट सेन्टर

कृषि विकास कार्यालय जुम्लामा सलह अपडेट सेन्टर स्थापना गरिने भएको छ। डोल्पा जिल्ला हुदै प्रवेश गरेको सलहको झुण्डले बालीनालीमा नोक्सान गर्न थालेपछि कृषि विकास कार्यालय जुम्लामा सलह अपडेट सेन्टर स्थापना गरिने भएको हो। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह किराले कृषि उत्पादनमा पार्न सक्ने प्रभावका विषयमा विज्ञसंग छलफल गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरेको हो।

जुम्लामा सलह किरा  डोल्पा जिल्ला हुँदै प्रवेश गरेको पाईयो, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,‘ गुठिचौर, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाको पुर्वी क्षेत्रमा सलहले बालीनालीमा क्षति पुगेको पाइएको छ। फेरी पुर्वोत्तर हावाको गति संगै सलह किरा पातारासी गाउँतिर फर्किएको छ।’

सलह किराबाट यहाँको कृषि उत्पादनलाई सुरक्षित राखि खाद्य सुरक्षालाई सुनिश्चित गर्न पुर्व तयारी तथा प्रति कार्यका लागि कृषि विशेषज्ञ सेवा प्रदान गर्ने बैठकले निर्णय गरेको हो। किसानको  ज्ञान चेतना अभिबृद्धिमा विषय विज्ञलाई परिचालन गरि सुचना सम्प्रेशण गर्ने निर्णय भएको हो। किसानलाई जागरुक बनाउन कृषि विकास कार्यालयको नेतृत्वमा तत्काल कार्ययोजना बनाउने भएको छ।  

विशेषज्ञ कार्यालयले विशेषज्ञ सेवा प्रदान गर्ने,स्थानीय तहबाट सुचना प्राप्त गर्ने  र सो को दैनिक प्रतिवेदन तयार गरि जिल्ला व्यवस्थापन समिति र सरोकारवाला बीच आदानप्रदान गर्ने निर्णय भएको कृषि तथा खाद्य सुरक्षा समितिका संयोजक बालकराम देवकोटाले जानकारी दिए।

सलह किराले कृषि उत्पादनमा गर्न सक्ने जोखिम कम गर्न जनचेतना प्रदान गर्ने, सलहको नियन्त्रण तथा रोकथामका लागि स्थानीय विज्ञ संगको सझाव संकलन गर्ने र  विशेषज्ञताका आधारमा जिल्लालाई सुहाउँदो विधि, पद्धती र प्रक्रियाका बारेमा प्रचार सामाग्री तय गर्ने निर्णय भएको छ।  

सलह किराको प्रकोप बढ्न थालेपछि स्थानीय तहले पनि आ आफ्नो विधि अवलम्बन गर्न थालेका छन्। पातारासी गाउँपालिकाले सलह किरा मारेर ल्याउने किसानलाई प्रतिकेजी दुई केजी दुई सय रुपैयाँ दिने भएको छ। थाल बजाउने, धुलो, धुवाको प्रयोग गर्ने र सलहलाई भगाउन किसानलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत टेक बुढ्थापाले जानकारी दिए। 

प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले भने,‘पातारासीको माथिल्लो क्षेत्रमा देखिएको छ। किसानलाई माइकिङ गरेर सचेत गरिरहेका छौँ।’ जिल्ला प्रशासन कार्यालय जुम्लाले पनि सलह किरा नियन्त्रण गर्न सबैलाई आ आफ्नो क्षेत्रमा खटिन आग्रह गरेको छ।

प्रकाशित: २९ असार २०७७ ०९:०६ सोमबार

कृषि कार्यालय सलह अपडेट