अर्थ

कोरोनाले माथिल्लो त्रिशूली ३ बीको हेडरेस टनेल निर्माण प्रभावित

कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको सुरुङ निर्माण प्रभावित भएको छ। नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार कोभिड १९ को कारणले फिर्ता हुन नपाएपछि आयोजनाको सुरुङ लगायतको महत्वपूर्ण काम प्रभावित भएको छ।

आयोजनाको प्रवद्र्धक कम्पनी त्रिशूली जलविद्युत् कम्पनीका अनुसार आयोजनाको तीन हजार आठ सय पाँच मिटर मुख्य सुरुङ (हेडरेस टनेल) मध्ये १८ सय मिटर खनिसकेको छ। पूर्वनिर्धारित कार्यतालिका अनुसार सुरुङ निर्माण कार्यले गति लिएको भए अहिलेसमम सुरुङको निर्माण कार्य ९० प्रतिशत सम्पन्न हुने थियो। तर कोभिड १९ ले आयोजनाको सुरुङ निर्माण कार्य अहिलेसम्म १८ सय मिटर मात्रै सकिएको छ। आयोजनाको सुरुङ निर्माण कार्य चार ठाउँबाट खनिएको थियो।  

माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना प्रमुख आनन्द ढुंगेलले कोभिड १९ को कारणले आयोजनाको निर्माण कार्य प्रभावित हुँदै आएको बताए।  

‘नयाँ वर्ष मनाउन गएका कामदार कोभिड १९ को कारणले फर्किनै पाएनन्,’ उनले भने, ‘मुख्य सुरुङ लगायत अत्यावश्यक काम गर्ने चिनियाँ कामदार नफर्केसँगै आयोजनाको काम प्रभावित भएको छ।’  

आयोजना प्रमुख ढुंगेलले रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको ४८ प्रतिशत काम सकिएको छ। आयोजनाको वित्तीय प्रगति २९ प्रतिशत मात्रै छ।  

२०७४ फागुन मसान्तमा आयोजनाको निर्माण सुरु भएको थियो। ३७ मेगावाट क्षमताको यो आयोजना तीन वर्षभित्रै (२०७७ फागुन २९ भित्र) निर्माण सम्पन्न गर्ने लक्ष्य छ। आयोजना प्रमुख ढुंगेलले तोेकिएको समयभित्रै आयोजना सम्पन्न असम्भव जस्तै भएको बताए।

‘कोभिड १९ ले आयोजना कम्तीमा ६ महिना धकेलिने निश्चित जस्तै भइसक्यो,’ उनले भने, ‘अन्य प्रभाव कति पर्छ अहिल्यै भन्न सकिने अवस्था छैन।’ आयोजना प्रमुख ढुंगेलले गत फेबुअरीदेखि आयोजनाको मुख्य निर्माण कार्य प्रभावित भएको बताए। ‘अहिले साइटमा उपलब्ध भएका केही कर्मचारीले मात्रै आयोजनाको प्रोटेक्सनको काम गरिरहेका छन्,’ उनले भने, ‘अब चिनियाँ कामदार फिर्ता आएपछि कामले गति लिनेछ।’

आयोजनाले उपकरण तथा अन्य सामग्री केरुङ नाकामा आएर अड्किएको जनाएको छ। प्राधिकरणले भर्खरै निर्माण सम्पन्न गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ एको क्यास्केड आयोजना भएकाले पनि यसले बाँध, डिसेन्डर जस्ता संरचना बनाउनुपर्दैन। यो आयोजना इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी ) मोडेलमा अघि बढाइएको हो।  

चिनियाँ ठेकेदार कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग २०७४ माघ २९ मा तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर (तत्कालीन विनिमय दर अनुसार एक अर्ब ९१ करोड ४६ लाख रुपैयाँ) मा ठेक्का सम्झौता गरिएको थियो। यो आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान लगायत सम्पूर्ण काम सिचुआनले नै गर्नेछ।  

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत निर्माणाधीन यो आयोजनामा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०–३० प्रतिशत सेयर छ। सर्वसाधारण जनताको १५ प्रतिशत, रसुवा र नुवाकोटका स्थानीयको १० प्रतिशत, रसुवा र नुवाकोटका स्थानीय तहमा रहेका वित्तीय सस्थाको पाँच प्रतिशत, दुवै जिल्लाका स्थानीय तहको पाँच प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत सेयर लगानी हुनेछ। ‘रन अफ द रिभर’ प्रकृतिको यो आयोजनाबाट सुक्खा याममा १३४.८८ गिगावाट आवर बिजुली उत्पादन हुनेछ। बर्खामा १५७.७७ गिगावाट आवर बिजुली उत्पादन हुने प्रवद्र्धक कम्पनीले जनाएको छ।  

यो आयोजनाबाट वर्षको आठ महिना पूर्ण क्षमताको बिजुली उत्पादन गर्न सकिनेछ। सुक्खा याममा भने २५ मेगावाट मात्रै उत्पादन गर्न सकिन्छ। यसबाट उत्पादित बिजुली तीन किलोमिटर प्रसारण लाइन निर्माण गरी त्रिशूली ३ बी हब सबस्टेसनमा जडान गरेर राष्ट्रिय ग्रिडमा पठाइनेछ। उक्त प्रसारण लाइन निर्माणमा प्राधिकरणले ४५ प्रतिशत र आयोजनाले ५५ प्रतिशत खर्च बेहोर्ने सर्त छ। आयोजनाको कुल लागत ब्याजसहित आठ अर्ब २२ करोड ७४ लाखभन्दा थोरै बढी हुने अनुमान छ। यो आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पनि २०–२० कित्ता सेयर छ। 

प्रकाशित: २९ असार २०७७ ०४:३० सोमबार

जलविद्युत् आयोजना माथिल्लो त्रिशूली ३