अर्थ

योजना फस्र्यौटका लागि प्रअले किर्ते कागजात पेश गरेको खुलासा

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती प्राबिका प्रअ रत्नकुमार बस्नेतले किर्ते कागजात पेश गरेर प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट फस्र्यौट गर्न खोजेको खुलेको छ । प्रअ बस्नेतले विद्यालयको टेवा पर्खाल निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम खोटाङ (ख)कातर्फबाट विनियोजित १० लाख रकम फस्र्यौटका क्रममा ‘फेक डकुमेन्ट’ पेश गरेको खुलेको हो । 

प्रअ बस्नेतले ओख्रेको आरुबोटे–लहरेपैयूँ–बार्लाङ–रिभु–एक्लेबर–डाँडाखर्क काहुले–मलबासे हुँदै सिमलडाँडा–जमुनेढुंगा–धिप्लुङ झरना जोड्ने सडकको तार जाली हालेको तस्बिर समावेश गरेर योजना फस्र्यौटका लागि गाउँपालिकामा आवेदन दिएको खुलेको हो । प्रअ बस्नेतले योजना फस्र्यौटका लागि असार २२ गते पेश परेको कागजात अध्ययन गर्दा विद्यालयको टेवा पर्खालको सट्टा सडकको जाली हालिएको पर्खालको तस्बिर समावेश गरेको पाइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।  

प्रअ बस्नेत पदबाट हटाइए
बदनियतपुर्वक किर्ते कागजात पेश गरेर प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट फस्र्यौटको प्रयास गरेको खुलेपछि गाउँपालिकाले प्रअ बस्नेतलाई पदबाट हटाएको छ । गाउँ शिक्षा समितिको सिफारिसका आधारमा गाउँपालिकाले आइतबारदेखि लागू हुने गरी प्रअ बस्नेतलाई पदबाट हटाउने निर्णय गरेको हो । योजना फस्र्यौटका लागि नक्कली कागजात पेश गरेको खुलेको आधारमा गाउँपालिकाले असार २५ गते बस्नेतलाई लिखित स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफमा बस्नेतले आफूबाट कमजोरी भएको स्वीकार गरेपछि शिक्षा समितिको असार २७ गतेको बैठकले शिक्षा ऐन र नियम विपरित खराव आचारण गरेकाले गाउँपालिकाको शिक्षा ऐन २०७७ को दफा ५० को उपदफा ५ बमोजिम प्रअ बस्नेतलाई पदबाट निस्कासन गर्न सिफारिस गरेको गाउँपालिकाले जनाएको छ ।

‘हेडसरले सडकको जाली हालेको पर्खालको तस्बिर राखेर फरफराकका लागि निवेदन दिनु भएको खुल्यो । स्पष्टीकरण सोध्दा कमजोरी भएको स्वीकार गर्नुभयो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘गाउँ शिक्षा समितिले प्रअले आचारण विपरित काम गरेकाले पदबाट निस्कासन गर्न सिफारिस गरेको हुँदा आजकै मितिबाट प्रअबाट निस्कासन गर्ने निर्णय गरिएको हो ।’  

प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटले विद्यालयमा केही काम गरिए पनि तोकिए अनुसारको काम नभएको बताइएको छ । तोकिए अनुसारको काम नभएकै कारण असार मसान्तमा झुक्याएर योजना फस्र्यौट गर्न खोजेको अनुमान गरिएको छ ।

प्रकाशित: २८ असार २०७७ ११:४९ आइतबार

खुलासा योजना फस्र्यौट किर्ते कागजात पेश पूर्वाधार विकास कार्यक्रम