अर्थ

जनउत्थान लघुवित्तले अधिकृत पूँजी ५० करोड बनाउने प्रस्ताव

बुटवलमा प्रधान कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले अधिकृत पूँजी दश करोडबाट बृद्धि गरि ५० करोड पुर्‍याउने प्रस्ताव गरेको छ । संस्थाको शनिबार बुटवलमा भएको ९ औं वार्षिक साधारण सभामा अधिकृत पूँजी ५० करोड बनाउने प्रस्ताव पारित गरेको हो । उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजारको १.३२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ ।  

हाल कायम रहेको चुक्ता पूँजीमा २५ प्रतिशतका दरले बोनस शेयर वितरण पश्चात कायम हुने ७ करोड ९२ लाखको १ कित्ता बराबर २ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने सर्वसम्मत निर्णय भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत/कम्पनी सचिव श्रीराम पोख्रेलले जानकारी दिए । साधरणसभाको सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष विश्वकर्माले संस्थालाई कोभिडको कठिन घडीमा पनि सफलता पूर्वक अगाडी बढाउन अल्पकालिन तथा दीर्घकालिन रणनीतिहरु तयार पारि संस्थालाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।  

साधरणसभा उद्घाटनसत्रमा संस्थाका परिकल्पनाकार डा. मान बहादुर बिकले विश्वव्यापी रुपमा देखा परेको कोराना भाईरसले विभिन्न खालका चुनौतीहरु खडा गरेकाले नयाँ प्रविधिहरुको प्रयोग मार्फत विद्युतीय कारोवारहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सञ्चालक रेवन्त बहादुर विश्वकर्माले लघुवित्तले समुदायस्तरमा आर्थिक रुपमा विपन्न र पछाडि पारिएका वर्गको उत्थानका लागि काम गरेको बताउँदै कोरोनासँगै परिमार्जित रुपमा लगानी गर्नुपर्ने बताए ।  

उक्त अवसरमा संस्थाका पूर्व अध्यक्ष यमबहादुर बि.के., पूर्व सञ्चालक डा. मेगबहादुर विश्वकर्मा, माधवप्रसाद नेपाल, संस्थापक शंकरप्रसाद पौडेल, यज्ञविक्रम शाही, भिम कुँवर, नरबहादुर विश्वकर्मा (जर्ज इभरेष्ट), सिताराम रसाली, जोगलाल विश्वकर्मा, सर्वसाधारण शेयरधनीको तर्फबाट पशुपति पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसैबीच भौतीक दुरी र भर्चुअल रुपमा गरिएको साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले पुन : बाबुराम बिश्वकर्मालाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।

प्रकाशित: २७ असार २०७७ १३:५२ शनिबार

जनउत्थान लघुवित्त अधिकृत पूँजी प्रस्ताव