अर्थ

रसुवागढी नाका सोमबारदेखि सञ्चालन

रसुवागढी नाकामा भित्रिएको सामग्री । तस्बिर : हिमनाथ/नागरिक

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आएको छ । पहिलो दिन चारवटा चिनियाँ गाडीले सामग्री ल्याएर मितेरी पुलमा झारेका हुन् ।  

व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) लगाएर आएका चिनियाँ कामदारले त्यहाँ सामग्री झारेर फर्किएका हुन् । रसुवागढी नाकामा रहेको मितेरी पुलको बीचमा झारिएको सामग्री नेपाली आठ वटा कन्टेनरले लोड गरेर भन्सार यार्डमा ल्याएका थिए ।  

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले चारवटा चिनियाँ गाडीले रेडिमेड, इलेक्ट्रोनिक्सको सामग्रीको पाटपूर्जा, जुत्ताचप्पल, घरेलु उद्योगका सामग्री ल्याएको जानकारी दिए । चिनियाँ पक्षले मितेरी पुलसम्म सामग्री ल्याएर झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ ।  

चिनियाँ गाडीबाट आएको सामग्री चिनियाँ कामदारले झारेर फर्कने छन्। मितेरी पुलमा सामग्री लोड अनलोड गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट लगाएका कामदार रहने छन्। चिनियाँ पक्षले एउटा गाडीमा ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राख्ने व्यवस्था मिलाइएको छ । नेपाली पक्षले क्वारेन्टिनमा राखिएका १५ जना चालक र १६ कामदारलाई त्यहाँ पठाएको छ ।

नाका खोलेसँगै नेपाली तथा चिनियाँ पक्षले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन् । त्यसैगरी रसुवा उद्योग वाणिज्य संघ र रसुवा चेम्बर अफ कमर्सले सामान ढुवानीमा सहजता ल्याउनका लागि व्यवस्थापन गर्ने कार्य गरिरहेका छन् । त्यहाँ जाने चालक तथा कामदारको दैनिक स्वास्थ्य परीक्षण हुनेछ । मितेरी पुलबाट पारी जान पाइने छैन भने प्यासेन्जर निषेधित क्षेत्र बनाइने छ ।  

कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । चीनसँग सञ्चालनमा रहेका दुईवटा नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ ।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । 

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

गएको फागुन अन्तिमसम्म केरुङमा बसिरहेका तथा केरुङको व्यवसाय सञ्चालन गर्ने व्यक्ति जाने तथा आउने गरेका थिए ।

प्रकाशित: २२ असार २०७७ ११:४७ सोमबार

सञ्चालन रसुवागढी नाका सामग्री