गएको पुस र माघमा कफीमा देखिएको तुसारो रोगका कारण मारमा परेका कफी व्यवसायी कोरोनाको कारण थप प्रभावित भएका छन्। रोगका कारण ४० प्रतिशतले उत्पादनमा कमी आएको कफी प्रशोधनपश्चात त्यसले बजार नपाउँदा व्यवसायी समस्यामा परेका हुन्।
‘कफीमा देखिएको रोगको कारण करिब १४ सय हेक्टरभन्दा बढी क्षेत्र प्रभावित भयो, त्यसले उत्पादनमा ४० प्रतिशत कमी ल्याएको छ,’ नेपाल कफी व्यवसायी महासंघका महासचिव सन्तोष पोख्रेलले भने, ‘अहिले उत्पादनपछि प्रशोधनसमेत सकिएको छ, तर बजार पठाउन सक्ने अवस्था छैन।’
मुलुकभर २७ सय हेक्टरमा कफी खेती गरिँदै आएको छ। पोख्रेलले गत वर्ष पाँच सय ३० मेट्रिक टन कफी उत्पादन भएकोमा ४० प्रतिशतले कमी आएको बताए। ‘त्यो परिमाण आफैंमा धेरै हैन तर होटल र कफी सप बन्द रहेकोले माग ठप्प छ,’ उनी भन्छन्, ‘घरघरमा कफी खाने संस्कृतिको विकास भइसकेको छैन, विदेशतिरबाट पनि यसपटक माग नआउने खबर आइसकेको छ।’ उनले यसपटक लकडाउनका कारण आवश्यक प्राविधिक सहयोग उपलब्ध हुन नसक्ने, प्याकेजिङ समस्या र प्रशोधनकर्ता किसानसम्म समयमा पुग्न नसक्दा कफीको गुणस्तरमा समेत कमी आएको बताए।
पोख्रेल कफीमा देखिएको रोगको कारण किसानले २० देखि २२ करोडसम्म क्षति बेहोरेको र भएको उत्पादन बिक्री गर्दा पनि गएका वर्षको तुलनामा २५ देखि ३० प्रतिशत कम मूल्यमा कफी प्रशोधनकर्तालाई दिन बाध्य भएको बताउँछन्। ‘क्षति सामान्य लाग्ला तर कफीमा जोडिएका सबै साना किसान हुन्, उनीहरुको लागि यो ठूलो घाटा हो,’ उनी भन्छन्, ‘अर्कोतिर रोगको कारण बोट मरेकाले अब नयाँ बिरुवाको भर पर्दा अझै कम्तीमा चार वर्ष उत्पादन बढाउन सक्ने छैनन।’ त्यसमाथि सस्तैमा भए पनि किसानको कफी उठे पनि प्रशोधनकर्ताले कफी बिक्री गर्न नसक्दा भुक्तानी नदिएको पोख्रेलले बताए। उनले भने, ‘लागत मात्रै भए पनि उठ्ला भन्ने आसमा किसान छन् तर प्रशोधनकर्ताले बिक्री नभएको भन्दै भुक्तानी नदिँदा मारमा परेका छन्।’
पोख्रेलले कफीमा देखिएको रोगको कारण उत्पादन हुने मुख्य १२ जिल्लामा गरी नर्सरीमा रहेका पाँच लाखभन्दा बढी बिरुवा नष्ट हुँदा यसको विस्तारमा समेत असर पुगेको बताए। उनी भन्छन्, ‘यो बिरुवा रोप्ने समय हो। तर यही बेला श्रमिक, प्राविधिक, ढुवानी लगायतमा समस्या देखिएका छन्।’
गण्डकीमा लक्ष्यको आधा विस्तार
गण्डकी प्रदेशमा यस वर्ष एक सय ५० हेक्टरमा कफी विस्तार भएको छ। गण्डकी प्रदेश क्षेत्रमा ६ लाख कफी रोप्ने योजना भए पनि एक सय ५० हेक्टरमा तीन लाख बिरुवा रोपिएको कफी विकास बोर्ड क्षेत्रीय कार्यालयका प्रमुख चन्द्र पुरीले जानकारी दिए। ‘हाम्रो योजना ६ लाख बिरुवा रोप्छौं भन्ने थियो, तर रोगका कारण नर्सरीमा असर पुग्दा सम्भव भएन,’ उनी भन्छन्, ‘तर पनि यो अवस्थामा यति विस्तार हुनु यो ठूलो उपलब्धि हो।’ प्रमुख पुरीले कोरोना महामारीबीच पनि कफी विस्तार कार्यक्रम अगाडि बढेको र अर्को वर्षको लागि पाँच लाख बिरुवा रोप्ने योजना बनेको जानकारी दिए छ।
कफी सुपर जोनबाट ३० प्रतिशत बढी विस्तार
कफी विस्तार कार्यक्रम हेर्दै आएको कफी सुपर जोन गुल्मीले गुल्मी, अर्घाखाँची, प्युठान र स्याङ्जा गरी चार जिल्लामा लक्ष्यको ३० प्रतिशतभन्दा बढी कफी विस्तार गरिएको जनाएको छ। कार्यक्रम प्रमुख नारायण काफ्लेले ५० हेक्टरमा कफी विस्तार गर्ने लक्ष्य राखिएकोमा ६५ हेक्टरमा एक लाख ३० हजार बिरुवा रोपिएको बताए। ‘हाम्रो कार्यक्षेत्र पाँच जिल्ला हो, तर पाल्पामा यसपटक विस्तार गर्न सकिएन बाँकी चार जिल्लामा १५ हेक्टर बढी क्षेत्रफलमा कफी रोपिएको छ,’ काफ्लेले भने, ‘पछिल्लो समय विभिन्न कारणले कफीमा किसानको आर्कषण कम तर पनि कन्भिन्स गर्दा विस्तारमा उपलब्धि हासिल भयो।’ उनले कफीमा देखिएको रोगको कारण किसानको नर्सरीमा ६० देखि ९० प्रतिशत बिरुवा नाश भएको बताए। उनले भने, ‘बिरुवामा किसानकै भर परेको भए गाह्रो पर्ने रहेछ, हाम्रै कफी विकास फार्म र कफी अनुसन्धान कार्यक्रमले पर्याप्त बिरुवा उत्पादन गरेको सजिलो भयो।’
कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराई उत्पादनमा असर पुगेको भए पनि बिक्रीको लागि समस्या नरहेको बताउँछन्। उनले भने, ‘प्रशोधन भर्खर सिद्धिएको छ, हाम्रोमा उत्पादन भएभन्दा तीन गुणा बढी माग छ। बजार विस्तारै खुल्दै जाने हुनाले गाह्रो पर्दैन।’
उनले कफी विस्तार कार्यक्रमलाई विभिन्न प्राविधिक कारणले असर गरेको देखिएकोले बोर्डले कफीमा असल कृषि अभ्यासको कार्यान्वयनमा जोड दिने योजना बनाएको बताए। ‘कफी खेती अत्यन्त संवेदनशील छ। तर यसको व्यवस्थापनमा चासो कम पुगेको देखियो,’ उनले भने, ‘हामी नर्सरीदेखि उत्पादन र प्रशोधनसम्मलाई समेटेर असल कृषि अभ्यासको लागि गाइड लाइन तयार गर्दैछौं।’
प्रकाशित: २१ असार २०७७ ०३:२४ आइतबार