२३ वर्षअघि गाडिएका विद्युत् पोल कतै लडेका, कतै ठडिएका थिए। हरेक पटक हुने चुनावमा दलका उम्मेदवारले विद्युतीकरणको मुद्दालाई आफ्नो घोषणा पत्रमा लेख्दै आएका थिए। पूर्वराजादेखी वर्तमान मन्त्रीसम्मले नरैनापुरवासीलाई बिजुली उपलब्ध गराउँने आश्वासन मात्रै दिए। नरैनापुरवासीले वर्षौंदेखी पाउँदै आएको आश्वासन बल्ल पुरा भएको छ। पोल गाडिएका २३ वर्षपछि नरैनापुरमा बिजुली विस्तार भएको छ। भारतसँग सीमा जोडिएको नरैनापुरमा तत्कालीन मन्त्री प्रेमबहादुर भण्डारीले बिजुली विस्तारको काम २०५४ सालमा सुरु गरेका थिए।
बिजुली विस्तार नहुँदा यहाँका स्थानीयवासी सिंचाइ, सञ्चार, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सुविधाबाट बञ्चित हुँदै आएका थिए। नेपाल विद्युत प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयले नेपालगञ्जस्थित सवस्टेशनबाट नरैनापुरलाई विद्युत लाइन जडान गरिएको हो। नेपालगञ्जको सवस्टेशनबाट नरैनापुरसम्मको करिब ४६ किलोमिटर दूरी रहेको छ। डिभिजन प्रमुख मुनीन्द्र ठाकुरका अनुसार नरैनापुरमा हाललाई नेपालगञ्जस्थित सवस्टेशनबाट ११ केभी क्षमताको ग्रामीण फिडर जोडिएको छ।
अहिले त्यहाँ कुनै उद्योगधन्दा चल्दैनन्, त्यहाँको जनसंख्या हेर्दा नेपालगञ्जबाट लगिएको ग्रामिण फिडरले धान्न सक्ने डिभिजन प्रमुख ठाकुरले बताए। ग्रामिण फिडरलाई प्राधिकरणले यसअघि नरैनापुरको फत्तेपुर हुँदै मटेहियासम्म विस्तार गरेको थियो। कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट नरैनापुर गाउँपालिका प्रभावित हुँदा स्थानीय स्तरमै आइसोलेसन बनाउने प्रयास विद्युत अभावका कारण सफल भएको थिएन। त्यसपछि स्थानीयले तत्काल काम सुरु गर्न प्राधिकरणलाई दवाव दिएका थिए।
कोरोना महामारीकैबीच प्राधिकरणले ठेकेदार कम्पनी रेणु कन्स्ट्रक्सनलाई ताकेता गरेपछि गत जेठ ८ गतेबाट नरैनापुरको मटेहियादेखी कटकुइयासम्म मुख्य लाइन विस्तारको काम सञ्चालन भएको थियो। काम सम्पन्न भएपछि प्रदेश ५ का सांसद कृष्णा केसीले विद्युत् लाइनको उद्घाटन गरेकी थिइन्। मुख्य प्रशारण लाइनको काम सम्पन्न भएपनि गाउँ–गाउँमा विद्युत् विस्तारको काम भने अझै बाँकी छ।
अहिले मुख्य लाइनमा मात्र विद्युतविस्तार भएपनि लाइन विस्तारको काम समेत सुरु हुने डिभिजन प्रमुख ठाकुरले बताए। नरैनापुर र राप्तीसोनारीका विद्युत नपुगेका गाउँमा एकैसाथ विद्युत् विस्तार गर्ने तयारीमा प्राधिकरण रहेको उनले जानए।
विद्युत् पुगेपछि अब नरैनापुर गाउँपालिका विकट नरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर करुङवाङले बताए। ‘कोरोना भाइरसबाट मुक्त रहेको नरैनापुरमा नयाँ युगको सुरुवात भएको छ,’ उनले भने। नेपालगञ्जदेखी नरैनापुरसम्मको हुलाकी सडक किनार, मोतीपुरलगायत केही गाउँमा भने विद्युतीकरणको काम भइसकेको प्राधिकरणले जनाएको छ। नरैनापुर क्षेत्रमा हाल ५ वटा ट्रान्सफर्मर जडान गरेर सेवा विस्तार गरिएको ठाकुरले जनाए। गाउँका सबैको घरमा विद्युतविस्तार भएपछि नरैनापुरमै प्राधिकरणको ‘नोलाइट’ शाखा स्थापना गरिने बताइएको छ।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह बघौडावासीको बत्ती बाल्ने वर्षौंदेखिको सपना पुरा भएको बताए। गाउँमा विद्युत् पुगेसँग विकासले अर्को इट्टा थपेको उनको भनाइ छ। अब यहाँका नागरिकको आर्थिक विकासका लागि महत्वपूर्ण सहयोग पुग्ने अध्यक्ष शाहले बताए। गाउँपालिकाले गरिव तथा विपन्न परिवारको लागि निःशुल्क विद्युत् मिटरबक्स जडान गरिदिने उनले बताए।
बिजुली पुगेपछि प्राथमिक स्वाथ्य केन्द्रमा एक्सरे मेसिन, ल्याब छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। कोरोनाको महामारीले आक्रान्त बनेको नरैनापुरमा बिजुली पुगेपछि खुसी फर्किएको स्थानीयको भनाइ छ।
प्रकाशित: १९ असार २०७७ ०३:४८ शुक्रबार