अर्थ

विश्व बैंकको नेपाल निर्देशकमा फारिस

विश्व बैंकले नेपालका लागि राष्ट्रिय निर्देशकमा फारिस हदाद जर्भोसलाई नियुक्त गरेको छ। फारिसलाई नेपालसँगै माल्दिभ्स र श्रीलंकाको पनि जिम्मेवारी दिइएको छ।

विश्व बैंकका अनुसार उनले काठमाडौं उपक्षेत्रीय कार्यालयमा आधारित रहने गरी बैंकका तर्फबाट तीन मुलुकमा सञ्चालित करिब पाँच अर्ब  ५० करोड अमेरिकी डलर बराबरका कार्यक्रमको नेतृत्व गर्नेछन्। फारिस यसअघि नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए।  

अमेरिकी नागरिक फारिस सन् १९९६ देखि विश्व बैंकमा आबद्ध छन्। उनीसँग मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकको रूपमा काम गरेको अनुभव छ।  

विश्व बैंकले आर्थिक लगानी तथा सहयोग गरेका कार्यक्रममार्फत कोभिड १९ ले जनस्वास्थ्य र आर्थिक क्षेत्रमा निम्त्याएका असरलाई कम गर्नु र रोजगारीका अवसरको सिर्जना गर्दै समावेशी र दीगो विकासको सुनिश्चितता गर्नु आफ्नो  पहिलो प्राथमिकता रहने उनले बताएको बैंकले जनाएको छ।  

विश्व बैंकले तीनै मुलुकलाई कुल ३५ करोड डलरभन्दा बढिको कोभिड १९ आपतकालीन प्रतिकार्य परियोजना अन्तर्गत सहयोग गरिरहेको छ। विश्व बैंकले कोभिड १९ का सन्दर्भमा जनस्वास्थ्य सम्बन्धी तत्कालीन आवश्यकता सम्बोधन गर्न दुई करोड ९० लाख डलर बराबरको आपतकालीन प्रतिकार्य परियोजनासहित नेपालसँग सहकार्य गरिरहेको छ।  

संकटले निम्त्याएका आवश्यकता परिपूर्ति गर्ने गरी विद्यमान पोर्टफोलियोको लगभग २० प्रतिशत परियोजनाको पुनर्संरचना गरिएको छ। पूर्वाधार, मानव विकास, वित्त र सुशासन लगायत क्षेत्रमा २५ वटा सक्रिय परियोजना सहित नेपालमा विश्व बैंकको कुल तीन अर्ब डलर बराबरको पोर्टफोलियो छ।

प्रकाशित: १८ असार २०७७ ०४:१७ बिहीबार

विश्व बैंक नेपाल निर्देशक