अर्थ

कोरोना नियन्त्रणमा दुई करोड बजेट

पाटन नगरपालिकाले कोरोना भाइरस रोकथाममा दुई करोड रुपैयाँ छुट्टाएको छ । आगामी आर्थिक वर्षको लागि उक्त रकम छुट्टाएको हो । स्थानीय तह प्रकोप व्यवस्थापन कोषमार्फत् कोरोना भाइरस नियन्त्रण रोकथाम र व्यवस्थापनमा सो रकम खर्च गरिने नगपालिकाले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले महामारीको रुप लिएपछि यसको रोकथाम र न्यूनीकरणको लागि स्थानीय तहले विभिन्न कार्यक्रम ल्याउन थालेपछि नगरपालिकाले कोरोना प्रकोपमा खर्च गर्न रकम छुट्टाउने निर्णय गरिएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ७२ लाख ६० हजार १ सय रुपैयाँ बराबरको बजेट सिलिङ् सार्वजनिक गर्दै कोरोना भाइरस नियन्त्रणको लागि पनि बजेट बिनियोजित गरेको हो ।

बैतडीका अन्य स्थानीय तहले पनि कोरोना भाइरस रोकथाम नियन्त्रण र व्यवस्थापनको लागि बजेट छुट्टाउन थालेका छन् । विगतका वर्षहरूमा विकास निर्माणका योजनाहरूलाई प्राथमिकीकरण गरिए पनि यो वर्ष कोरोना लक्षित बजेट ल्याइएको सुर्नयाँ गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले बताए ।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्थानीय तहहरूले विगतका वर्षमा सडक, पुर्वाधारमा बढी बजेट विनियोजित गर्दै आएका थिए । यो वर्ष स्वास्थ्य, कृषि र पशु क्षेत्रमा बढी जोड दिएका छन् । कोरोना भाइरसको संक्रमण फैलिरहेकाले त्यसकै न्यूनीकरण र व्यवस्थापनमा स्थानीय तहले ध्यान दिन थालेका हुन् ।

पुर्चौडी नगरपालिकाले १५ बेडको आइसोलेसन निर्माणको लागि बजेट छुट्टाएको छ । संक्रमितहरूलाई राख्नको लागि तत्काल आइसोलेसन कक्ष निर्माणको काम अघि बढाएको नगरप्रमुख रणबहादुर कुवँरले बताए । स्थानीय तहहरूले कोरोना माहामारीको कारण विदेशबाट फर्केका युवाहरूलाई लक्षित गर्दै कृषि, पशुपालनलगायतको कार्यक्रम पनि ल्याएका छन् ।

कोरोना सन्त्रास फैलिरहेका बेला यसको जोखिम न्यूनीकरणमा स्थानीय तहले  कार्यक्रम ल्याउनु सकारातमक भएको जिल्ला समन्वय प्रमुख सिद्धराज भट्टले बताए । सबै युवाहरूलाई प्रत्यक्ष रोजगारीसँग जोड्ने खालका कार्यक्रम ल्याउन सके विदेशबाट फर्केकाहरूलाई समेट्न सकिने उनले बताए । स्थानीयको आवश्यकता अहिलेको परिस्थिति अनुसारको कार्यक्रम बजेट ल्याएको स्थानीय तहले बताएका छन् ।

प्रकाशित: १६ असार २०७७ ११:४५ मंगलबार

बजेट कोरोना नियन्त्रण