अर्थ

विदेशमा अडकिए सय बढी शव, साउदीमा धेरै

२०७३ फागुन ५ गते साउदी अरेबियाबाट आएको रामबहादुर तामाङको शव त्रिभुवन विमानस्थलबाट लैजादै उनका आफन्त। कानुनी प्रक्रियाका कारण निधन भएको पाँच वर्षपछि मात्रै उनको शव स्वदेश फर्काइएको थियो। फाइल तस्बिरः नागरिक

सरकारले समयमै विदेशमा मृत्यु भएकाको शव झिकाउन नसक्दा सय बढी उतै अडकिएका छन्। विदेशमा मृत्यु भएकालाई उतै अन्त्यष्टि गर्न दिए ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णण पनि प्रभावकारी हुन सकेको छैन।  

कोरोना महामारीपछि गन्तव्य मुलुकबाट नियमित हवाई उडान हुन नसक्दा शव झिकाउन कठिनाइ भइरहेको हो। मृतकका आफन्तले चाँडो भन्दा चाँडो शव झिकाउन आग्रह गर्दै आए पनि सरकारी निकायले अहिलेसम्म छिटो शव झिकाउने उपाय फेला पार्न सकेको छैन।

विगतमा ढिलोमा दुई–तीन महिनासम्ममा शव घरसम्म पुग्ने गथ्र्यो। तर अहिले फागुनअघि निधन भएका व्यक्तिकासमेत शव विदेशमै अडकिएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार  यतिखेर रोजगारीको क्रममा विभिन्न गन्तव्य मुलुकमा निधन भएका एक सय २०  शव उतै अडकिएका छन्।  

बोर्डका उपसचिव दीनबन्धु सुवेदीका अनुसार कोरोना महामारीपछि नियमित अन्तर्राष्ट्रिय रूपमा हवाई उडान नहुँदा शव झिकाउन कठिन भएको हो। विदेशबाट शव ल्याउन कठिन भएपछि बोर्डले गन्तव्य मुलुकमै अन्त्यष्टि गर्न सहमति दिने परिवारलाई ५० हजार रूपैयाँ दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार एक सय २६ शवलाई विदेशमा अन्त्यष्टि गर्न परिवारले सहमति दिएका छन्। नेपाल लगायत विभिन्न गन्तव्य मुलुकमा लकडाउन सुरु भएयता तीन सय ३३ को मृत्यु भएको छ। मृतकमध्ये महिलाको संख्या १५ रहेको बोर्डले जनाएको  छ।  

यसअवधिमा सबभन्दा बढी साउदी अरेबियामा एक सय दुई नेपालीको निधन भएको छ। त्यस्तै संयुक्त अरब इमिरेट्समा ७३, मलेसियामा ६२, कतारमा ४८, कुबेतमा १७, बहराइनमा सात, दक्षिण कोरियामा पाँच जनाको निधन भएको बोर्डले जनाएको छ।  

साउदीबाट शव ल्याउन कठिन  

नेपालीहरूको प्रमुख गन्तव्यमध्ये एक साउदी अरेबियाबाट शव ल्याउन सधैं समस्या हुने गरेको छ। साउदीको श्रम कानुनले नै रोजगारीको लागि त्यहाँ पुगेका व्यक्तिको निधन भएमा  एक महिना बढीसम्म राख्न सक्ने छुट दिएकाले शव झिकाउन ढिलाइ हुने गरेको  बोर्डका कर्मचारी बताउँछन्।  

काम गर्न पुगेका व्यक्तिको निधन हुँदा महिनौंसम्म शव नेपाल ल्याउन नसक्दा पीडित परिवार छटपटीमा पर्ने गरेपछि सरकारले शव छिटो पठाउन साउदी सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने आवाज उठेको छ।  

‘हामीले मृतक रहेका मुलुकका नेपाली राजदुताबासलाई शव झिकाइदिन सहयोग माग्ने हो,’ उपसचिव सुवेदीले भने, ‘अन्य देशको तुलनामा साउदीबाट शव झिकाउन धेरै समय लाग्ने गरेको छ।’ कतिपय अधिकारीहरू साउदीले कामदार लैजाने बेला देखाएको उत्सकुता नेपाली कामदार समस्यामा पर्दा र शव फर्काउने बेला नदेखाउने गरेको बताउँछन्। बोर्डका एक कर्मचारी भन्छन्, ‘साउदीका रोजगारदाता कम्पनीलाई नेपालका श्रमिकलाई जे गरे पनि हुन्छ भन्ने अहम् छ कि जस्तो लाग्न थालेको छ।’  

हाल साउदीबाट ५९ शव झिकाउन बाँकी छन्। साउदीपछि नेपालीको धेरै शव अडकिएको मुलुक मलेसिया हो। मलेसियाबाट २३ शव ल्याउन नसकिएको बोर्डले जनाएको छ। त्यस्तै संयुक्त अरब इमिरेट्समा १४, कतारमा ११, कुबेतमा पाँच, बहराइनमा एक नेपालको शव अडकिएको छ।  

बोर्डका अनुसार साउदीबाहेक अन्य कुनै पनि देशमा मृत्यु भएका व्यक्तिको शव बढीमा एक महिनासम्म नेपाल आइपुग्ने गर्छ। तर साउदीबाट शव नेपाल आइपुग्न भने तीन महिनाभन्दा बढी लाग्ने गरेको छ। वैदेशिक रोजगार ऐन २०६४ अनुसार रोजगारीमा रहेका व्यक्तिको मृत्यु भएको खण्डमा शव घरसम्म पु¥याउने पहिलो दायित्व रोजगारदाताको हो। कतिपय रोजगारदाताले शव पठाउँदा खर्च हुने भएकाले त्यस्तो खर्च बचाउने लोभले आलटाल गर्ने गरेको व्यवसायी बताउँछन्।  

मेनपावर व्यवसायीका अनुसार साउदीले मनोमानी गरिरहनुको मुख्य कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लोसेपनले गर्दा नै हो। ‘श्रम सम्झौता गर्दा नै नेपाली पक्ष दरिलो रूपमा प्रस्तुत हुने हो भने रोजगारदातालाई केही दबाब हुन्थ्यो,’ एक व्यवसायीले भने, ‘रोजगारदाताले जे भन्छन्, त्यही मान्दा नेपाली कामदार र तिनका परिवारलाई समस्या भइरहेको छ।’

वैदिशक रोजगारीमा जानु पर्ने बाध्यता नेपालीलाई मात्र नभई रोजगारदातालाई पनि कामदार चाहिएकाले हो भन्नेबारेमा बुझ्नु पर्ने पीडितहरूको भनाइ छ। घरेलु कामदारका रूपमा गएका नेपाली महिलालाई यौन शोषण तथा शारीरिक र मानसिक यातना दिने क्रम बढेपछि नेपाल सरकारले चार वर्षअघि साउदीमा महिला कामदार पठाउन रोक लगाएको थियो।  

साउदीका कतिपय कम्पनीले नेपाल सरकारले महिला कामदार रोकेको रिस पुरुष कामदारमाथि फेर्न थालेको हो कि भन्ने संकेत देखिएको कतिपय पीडितको भनाइ छ। मेनपावर व्यवसायी पछिल्लो समयमा साउदीले नेपालबाट महिला कामदार माग गरिरहेको र महिला कामदार नपठाए पूरै श्रम बजार नै रोक्न सक्ने चेतावनी दिइरहेको बताउँछन्

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मृत्यु भएको खण्डमा बोर्डले  पीडित परिवारलाई सात लाख रूपैयाँ राहत उपलब्ध गराउँछ। वैदैशिक रोजगारीमा गएका विभिन्न मृत्युका घटना केलाउँदा सबभन्दा बढी मुटुजन्य समस्याका कारण नेपालीहरूको मृत्यु हुने गरेको पाइएको छ। चालु आर्थिक वर्षमा भने वैदेशिक रोजगारीको क्रममा लकडाउनयता  तीन सय ३३ सहित नौ सय ८७ को निधन भएको छ।  

कोरियाबाट शव झिकाउन सबभन्दा खर्चिलो  

रोजगारीका लागि साउदी पुगेको अवस्थामा निधन भएकाको शव झिकाउन सबभन्दा बढी समय लागेजस्तै शव झिकाउन सबभन्दा खर्चिलो भने दक्षिण कोरिया हुन पुगेको छ।  

दक्षिण कोरियामा निधन भएका कामदारको शव नेपाल पठाउन त्यहाँका रोजगारदाताले नमानेपछि बोर्डको रकमबाट शव नेपाल झिकाउने गरिन्छ। कोरियाबाहेक अन्य देशबाट शव झिकाउँदा भने बोर्डले अवैध हुन पुगेका कामदारका  लागि मात्र रकम उपलब्ध गराउँछ भने कोरियामा मृत्यु हुनेमा भने सबैको शव झिकाउँदा लाग्ने शुल्क बोर्डले नै उपलब्ध गराउँछ।  

कोरियाबाट एक शव झिकाउनका पाँच लाख रूपैयाँसम्म खर्च हुने गरेको जनाएको छ। सरकारले रोजगार अनुमति प्रणाली अन्तर्गत कामदार पठाउँदा नै शव झिकाउने दायित्व आफैंले बोकेका कारण ठूलो रकम खेर गइरहेको बोर्डका कर्मचारी बताउँछन्। श्रमिकको हक, अधिकारको पक्षमा आवाज उठाइरहेका व्यक्तिहरूले सरकारले कोरियासँगको सम्झौतालाई संशोधन गरेर शव नेपाल ल्याउँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्नुपर्ने नियम बनाउन आवश्यक रहेको बताउँदै आएका छन्।

प्रकाशित: १५ असार २०७७ ०२:५८ सोमबार

शव