अर्थ

गण्डकी प्रदेशका सबै नागरिकको बीमा हुने

मुलुकको उत्कृष्ट पर्यटकीय गन्तव्य गण्डकी प्रदेशको सबै नागरिककको स्वास्थ्य बीमा हुने भएको छ।  गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने तयारीमा रहेको जनाएको छ।  

प्रदेश सरकारले आगामी आव ०७७र/७८ को बजेटमा दुई करोड रुपैयाँ विनियोजन गरी नेपाल सरकारसँगको समन्वयमा प्रदेशका सबै नागरिकलाई आगामी तीन वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रममा सहभागि गराउने जनाएको छ।  

अशक्त, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ् र विपन्न वर्गलाई हाल उपचारको लागि प्रदान गर्दै आएको सुविधालाई निरन्तरता दिइने भएको छ भने आगामी आवमा क्यान्सर, मुटु, मिर्गौला, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर र हेड इन्जुरीजस्ता रोगबाट पीडित अति गरिब बिरामीलाई उपचारको लागि आर्थिक सहयोग गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिईने जनाइएको छ।  

त्यसैगरी, आगामी आवमा केन्द्र सरकारसँगको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला र मुटुरोगको विशिष्टिकृत उपचार सेवा सूरु हुने भएको छ।  

गण्डकी प्रदेश सरकारले प्रदेश जनस्वास्थ्य तालीम केन्द्र, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रदेश क्षयरोग नियन्त्रण केन्द्रको सुदृढीकरणका लागी आगामी आवमा १० करोड २७ लाख रूपैयाँ विनियोजन गरेको जनाएको छ।  

त्यसैगरी, नवलपुरको मध्यबिन्दु अस्पताल, कास्कीको मातृशिशु मितेरी अस्पताल तथा पर्वत, मनाङ र मुस्ताङ जिल्ला अस्पतालका भवन निर्माणकार्यलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ।  

आयुर्वेद तथा प्राकृतिक चिकित्सालगायत वैकल्पिक चिकित्सा सेवालाई प्रवद्र्धन गर्नुका साथै जिल्ला स्वास्थ्य कार्यालयका नियमित कार्यक्रमलाई निरन्तरता दिन र समुदायस्तरमा स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालन बजेट विनियोजन गरेको जनाइएको छ।

 

प्रकाशित: १४ असार २०७७ ०७:२६ आइतबार

बीमा