अर्थ

पुल निर्माण लक्ष्यको आधा

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकामा सडक चौडा अभियानको सुरुवात गरे। त्यसैको परिणामस्वरुप २०७१ सालमा माइतीघर–तीनकुने ६ लेनको सडक तयार भयो। ६ लेनको उक्त सडक चिटिक्क र आकर्षक छ। सडकको बीचमा रोपिएका बोटबिरुवा हुर्किएर मनमोहक देखिने भइसके।सडक चौडा भए पनि तीनकुने बाग्मती पुलनजिक पुगेपछि भने बाटो फेरि साँघुरिन्छ। जसले गर्दा पिक आवरमा सो खण्डमा व्यापक ट्राफिक जाम हुने समस्या छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडकभन्दा पहिला पुल निर्माण गर्नुपथ्र्यो।तर पहिला सडक चौडा अनि पुल निर्माण अघि बढाउँदा अहिलेसम्म बाग्मती नदीमा पुल तयार हुन सकेको छैन।

सडक चौडा भएसँगै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७१ सालमा काठमाडौंको तीनकुनेको बाग्मती नदी र बिजुलीबजारको धोवीखोलामासडक बराबरकै आर्क बिज्र निर्माण गर्ने योजना अघि सा¥यो। दुवै आर्क ब्रिज निर्माणका लागि २०७१ सालमा एउटै समयमा ठेक्का सम्झौता भयो। बिजुलीबजारको पुल तोकिएको समयभन्दा दुई वर्ष ढिलो गरी चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भयो।बाग्मतीको आर्क बिज्र भने विवादैविवादको भुमरीमा अल्झिएको छ। जग विवादले उक्त पुल अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन।  

आयोजनाले सडक चौडा भएपछि पुलमा सडक खुम्चिएसँगै ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै दुवै ठाउँमा आर्क बिज्र निर्माण गर्ने योजना अघि सारेको थियो। तीनकुने पुलको ठेक्का लिएको कोस्टल–पप्पु जेभीले तोकिएको समयभित्र निर्माण गर्न सकेन। उसले निर्माण गरेको पुलमा प्राविधिक समस्या देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गत मंसिर ३ गते ठेक्का रद्द गरिसकेको छ। कोस्टल–पप्पु जेभीले आयोजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा स्टे अर्डर माग्दै रिट दायर गरे पनि विवाद बल्झिएको छ।

सडक विस्तार आयोजना काठमाडौंका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले सडक विभागबाग्मती आर्क ब्रिजको विवाद टुंग्याउने चरणमा पुगेको बताए।‘सडक विभाग चालु आर्थिक वर्षभित्रै पुलको विवाद टुंग्याउने तरखरमा छ,’ उनले भने,‘चालु आवभित्रै विवाद निरुपण गरेर आगामी आवमा फेरि टेन्डर आह्वान गर्ने तयारीमा छौं।’ प्रवक्ता श्रेष्ठले पप्पु कन्सट्रक्सनले निर्माण गरेको पुरानो संरचना भत्काउने कि सोही संरचना परिर्माजन गरेर पुल निर्माण गर्ने भन्ने विषयमा अझै टुंगो लागिनसकेको बताए। तिनकुने बाग्मती नदीको आर्क बिज्र मात्रै होइन, अहिले देशभरका अधिकांश रुग्ण पुलको हालत दयनीय  छ। आयोजना र कोस्टल–पप्पु कन्सट्रक्सनबीच २०७१ पुस ४ गते तीनकुनेस्थित बाग्मती खोलामा दुईवटा पुल निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौता अनुसार ८५ मिटर लम्बाइ र १२ मिटर चौडाइको पुल निर्माण गर्न लागिएको थियो। उक्त पुलको लागत २१ करोड ३३ हजार रुपैयाँ कायम गरिएको थियो। यसअघि संसद्को विकास तथा प्रविधि समितिले ठेकेदार कम्पनीलाई पुलको फाउन्डेसन (जग)को पाइल निर्माणमा रहेको गम्भीर त्रुटि सच्याउन भनेको थियो। ठेक्का सम्झौताअनुसार २९.५ मिटर गहिराइको पाइल निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको थियो।  ठेकेदार कम्पनीले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। त्यसैगरी, दुईवटा पाइल क्र्याक भएको प्राविधिक परीक्षणमा देखिएको छ।ठेकेदार कम्पनीले गल्ती नसच्याएपछि गत मंसिर ३ गते आयोजनाले एकतर्फी रुपमा ठेक्का तोडेको हो। प्रवक्ता श्रेष्ठले आर्थिक विवाद निरुपण गरेर अब बाग्मती नदीमा छिट्टै आर्क ब्रिज निर्माणको प्रक्रिया अघि बढाइने बताए।

चालु आवमा लक्ष्यको आधा मात्र निर्माण

कोभिड–१९ संक्रमण रोक्ने उद्देश्यको लकडाउनले चालु आर्थिक वर्षमा लक्ष्यको आधा मात्रै पुल निर्माण सम्पन्न भएको छ। सडक विभाग मातहतको पुल महाशाखाले चालु आर्थिक वर्षमा तीन सय पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। पुल निर्माणको मुख्य सिजनमै लकडाउन भएपछि लक्ष्यको आधा अर्थात एक सय ५० पुलको मात्रै निर्माण सम्पन्न भएको छ।

विभागले चालु आर्थिक वर्षभित्र रणनीतिक सडक र स्थानीय सडकका गरी तीन सयवटा पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। अहिलेसम्म करिब एक सय ५० पुल निर्माण सम्पन्न भएको छ। बाँकी पुल निर्माण थप एक वर्ष धकेलिने भएका छन्।

पुल महाशाखा प्रमुख दिपक भट्टराई पुल निर्माण हुने मुख्य समयमै लकडाउन भएकाले लक्ष्यअनुसार काम हुन नसकेको बताउँछन्। ‘फागुनदेखि जेठसम्ममा नदीमा पानीको बहाव घटेसँगै धमाधम पुलको ढलान गर्ने गरिन्थ्यो,’ उनले भने, ‘जुन बेला काम गर्न सकिन्थ्यो, त्यही बेला लकडाउन भएकाले लक्ष्यअनुसार काम गर्न सकेनौं।’  

प्रमुख भट्टराईले नदीमा पानी बढेसँगै अर्काे वर्षको हिउँद कुर्नुको विकल्प नभएको बताए। ‘पुल निर्माणका लागि वर्षमा एकपटक मात्रै राम्रो अवसर आउँछ,’ उनले भने, ‘त्यो अवसर छोप्न नसके अर्काे वर्ष कुर्नुको विकल्प छैन।’  

महाशाखा प्रमुख भट्टराईले लकडाउनकै बीचमा पनि सीमित कर्मचारी प्रयोग गरेर २२ वटाभन्दा धेरै पुल निर्माण सकिएको बताए। पुल महाशाखाका अनुसार सरकारले चालु आर्थिक वर्षमा स्थानीय सडकमा पुल निर्माणका लागि सुरुमा चार अर्ब ५७ करोड र बीचमा फेरि चार अर्ब २३ करोड रुपैयाँ बजेट थप गरेको थियो। महाशाखाले हालसम्म दुवै बजेटको ८५ प्रतिशत रकम खर्च भएको जनायो ।

प्रमुख भट्टराईले सरकारले आगामी आर्थिक वर्षमा पनि स्थानीय र रणनीतिक सडकका गरी तीन सय पुल निर्माण गर्ने गरी बजेट विनियोजन गरेको बताए। स्थानीय सडक पुलका लागि ६ अर्ब ८५ करोड र रणनीतिक सडक पुलका लागि चार अर्ब रुपैयाँ विनियोजन भएको छ।

सबैभन्दा धेरै प्रभावित पुल

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले कोभिड–१९ को कारण सबैभन्दा धेरै पुल निर्माण प्रभावित भएको बताए। ‘लकडाउनका कारण समग्र निर्माण क्षेत्र प्रभावित भयो। पुल निर्माणको मुख्य सिजनमै परेकाले अरु आयोजनाभन्दा पुलका आयोजना धेरै प्रभावित बन्यो,’ उनले भने, ‘चालु आवमा अत्यावश्यक बाहेकका अन्य निर्माण कार्यले गति लिन सकेन।’  

उनका अनुसार जेठ महिना लाग्नेबित्तिकै नदीमा पानी बढ्ने भएकाले पुल निर्माणको काम चाहेर पनि गर्न सकिँदैन। जेठबाटै मनसुन सुरु भएसँगै पुल निर्माणको काम ठप्प हुन्छ। त्यसैले अर्काे वर्ष कुर्नुको विकल्प देखिँदैन।’  

बाढीले संरचना भत्काउन थाल्यो

महासचिव दाहालले मनसुन सुरु भएसँगै आएको बाढीले निर्माणाधीन पुलको संरचनामा क्षति पु¥याउन थालेको बताए। असार लागेसँगै आएको बाढी–पहिरोले मुलुकभर चारवटा निर्माणाधीन पुलमा क्षति पु¥याएको उनले बताए। उनका अनुसार करिब ४० वटा पुलको टेको तथा अन्य संरचनामा क्षति पु¥याएको छ। सरकारले चालु आर्थिक वर्षमा बहुवर्षे ठेक्काअन्तर्गत विभिन्न आयोजनाका लागि १६ सयभन्दा धेरै पुल निर्माणको ठेक्का लगाएको छ। कोरोना भाइरसका कारण ती सबै आयोजनाको काम प्रभावित हुने लगभग निश्चित छ।

प्रकाशित: १४ असार २०७७ ०४:१६ आइतबार

पुल निर्माण सडक चौडा अभियान