अर्थ

महँगो हवाई भाडाको विरोधमा ज्ञापनपत्र

विदेशमा रोजगारी गुमाएका श्रमिकलाई उद्धार गर्न सरकारले तोकेको महँगो हवाई भाडाको विरोधमा कुबेतमा रहेका नेपालीले ज्ञापनपत्र बुझाएका छन्। नियमित भन्दा दोब्बर बढी हवाई भाडा तोकिएको विरोधमा कुबेतमा क्रियाशील दर्जन बढी संघ/संस्थाले त्यहाँस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्। रोजगारी गुमाएका श्रमिकले सरकारद्वारा तोकिएको हवाई भाडा तिर्न नसक्ने भएकाले ज्ञापनपत्र बुझाइएको कुबेतस्थित गैरआवासीय नेपाली संघका सचिव माधव शाहीले बताए।  

सरकारले कुबेतबाट काठमाडौं फर्कन चार सय १० अमेरिकी डलर हवाई भाडा तोकेको छ। उद्धारको नाममा श्रमिकमाथि व्यापार गरिएको ज्ञापनपत्रमा उल्लेख छ। रोजगारी गुमाएर आर्थिक संकटको मारमा परेकालाई वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषको रकम प्रयोग गर्न माग गरिएको छ।  

सर्वोच्च अदालतले डेढ साताअघि आर्थिक संकटमा परेका श्रमिकलाई कोषको रकम प्रयोग गर्न आदेश दिए पनि सरकारले त्यसलाई कार्यान्वयन गरेको छैन। त्यस्तै ज्ञापनपत्रमा  राजदूताबासले वितरण गरेको राहतको खर्च पनि माग गरिएको छ।

प्रकाशित: १२ असार २०७७ ०३:०४ शुक्रबार

हवाई भाडा