अर्थ

फेरि कुरुप काठमाडौंका सडक

सडक डिभिजन कार्यालय काठमाडौंले जेठ तेस्रो साता असारदेखि भदौ मसान्तसम्म कुनै पनि बहानामा सडकको कुनै पनि संरचना नखन्न भन्दै सार्वजनिक सूचना जारी ग-यो। कार्यालयले सूचना जारी गर्नुको मुख्य उद्देश्य थियो– बर्खायाममा सडक खन्दा छिटो भत्किने र अर्काेतर्फ हिलाम्मे र धुलाम्मे सडकका कारण जनताले सास्ती भोग्नुपर्ने।

तर असार लागेसँगै विभिन्न निकायले जभाभावी सडक खनेर अलपत्र पार्ने प्रवृत्ति बढेको छ। स्थानीय तह, उपभोक्ता समिति, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ढल विभाग र स्थानीयले पनि अनुमतिबिनै धमाधम सडक खनेर असरल्ल छाड्ने गरेको दृश्य बाक्लै देखिन थालेको छ।

पछिल्लो समय कपनको साततले, गोपीकृष्ण हलअगाडि, तीनकुने, लाजिम्पाट, गौरीधारा, कपन चुच्चेपाटी, मित्रपार्क–चावहिल–चुचेपाटी सडकखण्ड, जोरपाटी–साँखुलगायतका आधा दर्जनभन्दा धेरै स्थानमा सडक खनेर लथालिंग अवस्थामा छाडिएको छ।

गैरीधारा

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपाली विभिन्न निकायले अनुमतिबेगर जभाभावी सडक खन्ने प्रवृत्ति बढेको बताउँछन्। ‘हामीले असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने भनेर सार्वजनिक सूचना जारी गरेका थियौं तर अहिले धमाधम सडक खन्ने कार्य भइरहेको छ,’ उनले भने, ‘लकडाउनमा उपत्यकाका सडकको मुहार फेरिएको थियो। अहिले कुरुप बनाइसके। यस्तो काम तुरुन्त रोक्न आवश्यक छ।’

असार लागेसँगै विभिन्न निकायले जभाभावी सडक खनेर छाड्न थालेका छन्। स्थानीय तह, उपभोक्ता समिति, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ढल विभाग र स्थानीयले पनि अनुमतिबिनै धमाधम सडक खनेर असरल्ल छाडेको दृश्य बाक्लै देखिन थालेको छ।

कार्यालय प्रमुख नेपालीले अनुमतिबेगर सडक खन्ने र अलपत्र पार्नेलाई कारबाही गर्न महानगरीय प्रहरी परिसर तथा महानगरीय ट्राफिक प्रहरी परिसरमा सिफारिस गरेको बताए। जभाभावी खन्ने प्रवृत्तिले भर्खरै कालोपत्रे गरेका सडक बिग्रिनुका साथै अर्काेतर्फ हिलाम्य र धुलाम्मे सडकले उपत्यकाका सडक फेरि कुरुप हुन थालेका छन्।

कमलपोखरी

मित्रपार्क–चुच्चेपाटी खण्डमा विद्युत्को कमजोरी
गौशाला–चावहिल–चुच्चेपाटी, र गोपीकृष्ण हलअगाडिको सडकमा खानेपानीका पाइप फेरेर कालोपत्रे गर्ने ठेक्का कालिका–वेदांशी कन्स्ट्रक्सन जेभीले पाएको थियो। जेभीले गत पुस १५ गते करिब साढे दुई किलोमिटर सडक तथा पाइपलाइन जडानका लागि २० करोड ८७ लाखमा ठेक्का पाएको हो। कार्यालयले जेभीसँग ६ महिनाभित्रै निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको हो। सम्झौताअनुसार साढे दुई किलोमिटर सडक उप्काएर चालु आवको असारभित्रै फेरि पिच र खानेपानीको नयाँ पाइप जडान गर्नुपर्ने हुन्थ्यो। तर नेपाल विद्युत प्राधिकरणले समयमै ठेकेदार कम्पनीलाई साइट उपलब्ध नगराउँदा उक्त कार्य अहिले लथालिंग अवस्थामा छ। ठेकेदार कम्पनीले तोकिएको समयअनुसार नै काम गरिरहेको थियो। तर विद्युत् प्राधिकरणको ढिलासुस्तीकै कारण अहिले उक्त सडक समयमै निर्माण सम्पन्न नहुने भएको छ। प्राधिकरणले वैशाखको दोस्रो साता गौशाला–चाबहिल–चुच्चेपाटी सडकखण्डमा एक साताभित्रै भूमिगत विद्युतीय प्रसारणलाइन विस्तार गर्ने भनेर सडक विभागसँग अनुमति माग्यो। सडक विभागले पनि तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने गरी भूमिगत विद्युतीय प्रसारणका लागि अनुमति दिएको थियो। तर प्राधिकरणले भने लकडाउनकै कारण कर्मचारी र निर्माण सामग्रीे अभाव देखाउँदै दुई महिनासम्म पनि भूमिगत विद्युतीय प्रसारण लाइनको काम गर्न सकेको छैन।

कपनको साततले, गोपीकृष्ण हलअगाडि, तीनकुने, लाजिम्पाट, गौरीधारा, कपन चुच्चेपाटी, मित्रपार्क–चावहिल–चुचेपाटी सडकखण्ड, जोरपाटी–साँखुलगायत आधा दर्जनभन्दा धेरै स्थानमा सडक खनेर लथालिंग अवस्थामा छाडिएको छ।

‘होरिजेन्टल डाइमेन्सन ड्रिलिङ मेसिन’ को सहायताले जमिनमुनि खाल्डो खनेर विद्युत् तार भूमिगत गर्ने भने पनि प्राधिकरणले उक्त खण्डमा जभाभावी खाल्डो पारेर विद्युतीय प्रसारण लाइनको काम गरिरहेको छ। सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नेपालीले प्राधिकरणले एक साताभित्रै गौशाला–चावहिल–चुच्चेपाटी सडक खण्डमा भूमिगत विद्युतीय प्रसारण लाइनको काम सम्पन्न गर्ने भने पनि अहिलेसम्म सम्पूर्ण काम गर्न नसकेको बताए। उनले भने, ‘प्राधिकरणले समयमै काम गर्ला भनेर अनुमति दियौं। अहिले सडक ध्वस्त बनायो।’ उनले चालु आवभित्रै सडक कालोपत्रे गर्ने सम्भावना न्यून रहेको बताए।  कार्यालयले अब असोजतिर मात्रै कालोपत्रे गर्न सम्भव हुने जनायो। विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लकडाउनका कारण कामदार ल्याउन नसक्दा ढिलो भएको बताए।

जम्बोडाँडा

चुहावट रोक्न मर्मतसम्भार: केयूकेल
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले वर्षामा पानीको प्रेसर अत्याधिक हुने भएकाले ठाउँठाउँमा खानेपानी तथा ढलका पाइप चुहिने समस्या भएको बताए। ‘त्यसैले अहिले मर्मतसम्भारको काम तीव्र पारेका छौं,’ उनले भने, ‘खानेपानी चुहिएको सडकमा सडक विभागसँगको सहकार्यमा मर्मत गरिरहेका छौं।’ उनले पछिल्लो समय सडक विभागको अनुरोधमा जमलमा खानेपानीको लिकेज मर्मतसम्भारको काम भइरहेको बताए।

‘अहिले नयाँ धारा जडानकै लागि सडक खन्ने गरेका छैनौं तर खानेपानी चुहावटले सडक नै बिगारिदिने भएकाले मर्मतसम्भारको कार्य गरिरहेका छौं,’ उनले भने, ‘लिकेज मर्मतसम्भार नगर भन्ने हो भन्ने गर्दैनौं।’ कार्यकारी अधिकृत शाक्यले खानेपानीको लिकेज मर्मतसम्भार सकिनेबित्तिकै खनेका खाल्डाखुल्डी पुरिहाल्ने दाबी गरे।  

ठेकेदार कम्पनीको लापरबाही र सरकारी निकायले समयमै अवरोध हटाउन नसक्दा सडक निर्माण आयोजना पूरा हुन सकेको छैन।

सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले यसपटक असारे विकास नहुने दाबी गरे। ‘गत आर्थिक वर्षमा जेठदेखि असारमा धेरै सडक मर्मतसम्भारको काम हुन्थ्यो। अहिले फागुनदेखि नै गरेकाले असारमा धेरै काम हुने देखिन्न,’ उनले भने, ‘गत वर्षको तुलनामा अहिले मर्मतसम्भारको धेरै काम भइसकेको छ।’

अझै सकिएन जोरपाटी–साँखु सडक
चालु आर्थिक वर्षमा पनि चाबहिल–जोरपाटी–साँखँ सडक खण्डको निर्माण कार्य अधुरै रहने भएको छ। चुच्चेपाटी–जोरपाटी खण्डमा एक लेयरको कालोपत्रे भए पनि अन्य क्षेत्रमा भने कालोपत्रे हुन सकेको छैन। शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ आयोजना र ठेकेदार कम्पनीको ढिलासुस्तीले चावहिल–साँखु सडक खण्ड लथालिंग भएको बताउँछन्। ‘एकातर्फ ठेकेदारले विभिन्न समस्या देखाएर आलटाल गरिरहेको छ। अर्काेतर्फ सर्वसाधारणले ढल राख्न ठाउँ दिएका छैनन्, जसले गर्दा चालू आर्थिक वर्षमा सडक सम्पन्न हुने देखिँदैन,’ उनले भने, ‘सरकारले मुआब्जा उपलब्ध नगराउने, जग्गाधनीले ठाउँ उपलब्ध नगराउने प्रवृत्तिले सडक विस्तार अझै अन्योलमा छ।’ उनका अनुसार पछिल्लो समय सलम्बु वन र थली क्षेत्रका सर्वसाधारणले मुआब्जा नपाएसम्म ढल राख्न नदिने भन्दै आएका छन्।  

नयाँबस्ती

यी सडकमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर हुन्छन्। ठेकेदार कम्पनीको लापरबाही र सरकारी निकायले समयमै अवरोध हटाउन नसक्दा सडक निर्माण पूरा हुन सकेको छैन। यीमात्र होइन, उपत्यकामा सुरु भएका धेरै विकास आयोजना ठेकेदारको लापरबाही र सरकारी निकायको ढिलासुस्तीले पछि धकेलिएका छन्। सडक निर्माण पछि धकेलिँदा सर्वसाधारण र सवारीचालकले सास्ती भोगिरहेका छन्। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले ठेकेदारको ढिलासुस्ती र मुआब्जा विवादकै कारण सडक विस्तार कार्यले गति लिन नसकेको बताए। ‘कतै ठेकेदारको ढिलासुस्ती देखिन्छ। कतै जग्गाधनीको अवरोधले सडक विस्तार हुन सकेको छैन,’ उनले भने, ‘त्रिपुरेश्वर–नागढुंगा सडक खण्डको लगभग काम सकियो। तर जोरपाटी–साँखु खण्डमा अझै साढे दुई किलोमिटरभन्दा धेरै सडक कालोपत्रे गर्न बाँकी छ।’

प्रकाशित: ११ असार २०७७ ०१:४० बिहीबार

कुरुप काठमाडौं