अर्थ

बाँझो जग्गामा खेती

लिची खेतीका लागि बाँझो जग्गामा खाल्डो खन्दै धितुङका स्थानीय। तस्बिरः नागरिक

काठमाडौं बस्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका चन्द्रबहादुर कार्कीले लकडाउनको समयमा गाउँमा आठ सय बोट कागती रोप्न सुरु गरेका छन्। कार्कीले हाल कागती रोप्ने खाल्डो तयार पारेर कागती लगाइरहेको छन्।

यस्तै, लकडाउनको अवधिमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले १५ वर्षदेखि बाँझिएको जग्गामा सामूहिकरुपमा लिची रोप्ने तयारी थालेका छन्। लिचीको पकेट क्षेत्रकारुपमा विकास गर्न बरबोटे बिज वृद्धि कृषक समूहमा आवद्ध किसानले बयाखुखोला नजिकैको दुई सय रोपनी जग्गामा दुई हजार बोट लिची रोप्ने तयारी थालेका हुन्।  

कृषक समुहमा आवद्ध २५ परिवार किसानमध्ये नौ घरका किसान सामुहिकरुपमा लिची खेतीमा लागेका हुन्। लिचीले उत्पादन दिन थालेपछि तीन भाग लगाएर एक भाग जग्गाधनीलाई दिने सर्तमा जग्गा भाडामा लिएको कृषक समूहले जनाएको छ। उत्पादनको तीन भागमध्ये एक भाग लगानीकर्तालाई र एक भाग मलजल गर्ने हेरालुलाई दिइने सहमति गरिएको समूहका अध्यक्ष राईले बताए।  

कृषि ज्ञान केन्द्र खोटाङले उपलब्ध गराएको आठ लाख अनुदानमा किसानको आठ लाख रकम थप गरेर धितुङमा लिची खेती विस्तार गर्न लागिएको हो।  

‘लकडाउनमा घर आएका युवा साथीभाइले चासो दिए। सहरमा बसेर मात्र नहुने रहेछ, गाउँमा केही गर्नु पर्ने रहेछ भन्ने उहाँहरुको कुरा आयो,’ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले भने, ‘सोही अनुसार बाँझो जग्गामा लिची रोप्ने तयारी थालेका हौं। १५ वर्षदेखि बाँझिएको जग्गालाई लकडाउनका कारण जगाउने कोसिस गरिएको छ।’

प्रकाशित: ७ असार २०७७ ०४:४५ आइतबार

बाँझो जग्गा खेती