अर्थ

थोरै बजेटमा धेरै काम

छुटेको पैसाभन्दा दोब्बर बढी श्रमदानबाट बन्दै गरेको मरुवा पुल । तस्विरः महेश्वर

‘उपभोक्ता समितिले कामै नगरी पैसा सक्छन् ’ पछिल्लो समय धेरैतिर सुनिने एउटै साझा गुनासो हो ‘जनप्रतिनिधिले आफ्ना  मान्छेलाई छानिछानि समितिमा राखेर योजनामा व्यापक भ्रष्टाचार गर्छन्, पैसा खानकै लागि समितिमा बस्न कार्यकर्ता मरिहत्ते गर्छन् ।’  

माथिको भनाईलाई गलत सावित गर्दै उदयपुरका स्थानीयले प्राप्त बजेटको दोब्बरबढी काम गरेर देखाएका छन् । जिल्लाको कटारी नगरपालिका ४ स्थित मरुवा खोलाको निर्माणमा काठे पुल मर्मत गर्न प्राप्त १० लाख रुपैंयाले झण्डै २० लाख बराबरको नमूना काम गरेर गाउँलेले विकास योजनामा जनताको सहभागिताको उदाहरण देखाएका छन् । माथिल्लो कटारी, मरुवा खोला वारीपारीका ३÷४ बस्ती जोडने सो पुल हरेक वर्खायाममा आउने मरुवाको बाढीबाट बँच्न श्रमदानमा जुटेका हुन् ।  

पुल मर्मत उपभोक्ता समितिका अध्यक्ष ललितबहादुर थापामगरले गाउँलेले १५ वर्षअघि आप्mनै श्रमबाट बनाएको ३० फिट अग्लो काठे पुल जर्जर भएकाले वर्षेनी मर्मत गर्न सरकारको मुख ताक्दै आएका थिए । चालु वर्ष उदयपुर प्रनिनिधिसभा क्षेत्र नं. २ का सांसद सुरेशकुमार राई (हिमाल) ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (संसदीय कोष) मार्फत पुल मर्मत गर्न १० लाख विनियोजन गरेका थिए । सो रकममा दोब्बर बढी श्रमदान जुटाएर गाउँलेले २० लाखभन्दा बढीको काम गरेको अध्यक्ष मगरले बताए ।  

उनका अनुसार खोला पारीका स्थानीयलाई नगरपालिका र वडा कार्यालय आउजाउ गर्न वर्षेनी मरुवाको बाढीले रोक्ने गरेर दिक्क बनाउदै आएको छ । त्यसैले सांसदबाट पाएको सो रकमबाट गाउँले जुटेर दोब्बरबढीको काम गरेको उनले बताए । चुरे महाभारतको जंगल शीर भएको मरुवा सामान्य वर्षामा पनि मान्छे बगाउने बाढी आउने भएकोले पिता पुर्खाले खोलाको नाम ‘मरुवा’ राखेको अध्यक्ष मगरले बताए । ‘नामै मरुवा हो, खोला धेरै खतरनाक छ, अलिअलि पानी प¥यो कि मडारिएर बाढी आउँछ’ मगरले भने ‘ठूलठूला ढुंगा, रुखपात बोकेर आउँदा, मान्छे बगायो भने चिनोबानो राख्दैन ।’  

बाढीको पीडाले निःशुल्क खट्न तयार भएका गाउँलेहरु १० लाख रुपैंया पाउँदा खुसी हुँदै श्रमदान गर्न राजी भएको समितिका सचिव केशव राईले बताए । ३० फिट अग्लो पुललाई दह्रो बनाउन खोला वारी र पारी दुईवटा स्तम्भ (पिल्लर) उठाउन सिमेन्ट, रड र गिटी, बालुवा किन्दै १० लाख सकिएको र गाउँको श्रमदानबाट सम्पन्न गरिएको सचिव राईले बताए ।  

स्थानीय उपभोक्ता सुरेन्द्र थापाक्षेत्रीले ५/७ लाख मात्र थप बजेट पाएको भए आरसिसी ढलान गर्ने गाउँले तयार भएको बताए । वर्षौंदेखि खोलाको कहर सहन बाध्य गाउँलेहरू पैसाभन्दा पुल बन्छ भने जति पनि श्रम गर्न तयार रहेको उनले बताए । आगामी वर्ष पनि यसरी बजेट पाए काठको पुल भत्काएर पक्की बनाउन गाउँले तयार रहेको थापाले बताए ।  

सांसद राईका योजना अनुगमन प्रतिनिधि द्रोण पौडेल (निरज) ले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत प्राप्त ६ करोड रुपैंयाबाट बन्ने ३ दर्जन हाराहारी योजनामध्ये सबभन्दा उत्कृष्ट योजना भएको प्रतिक्रिया दिए । ‘माननीयज्युको कार्यक्रमबाट १० लाखदेखि ५० लाखसम्मका योजनाका लागि पैसा दिइएको छ’ स्थलगत अनुगमन गर्न मरुवा पुगेका पौडेलले भने ‘जनताले आप्mनै पुल भन्ठानेर काम गरेको देखियो, यस्तो काम भए पो देश बन्छ ।’  

जिल्ला समन्वय समिति प्रमुख खड्ग परियार नेतृत्वको समिति सदस्य तथा समन्वय अधिकारी र राजनीतिक प्रतिनिधि संलग्न टोलीले मरुवा पुललगायत बिभिन्न योजनाको अनुगमन गरेको छ । समन्वय प्रमुख परियारले चालुवर्ष निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत सांसद राईको ६ करोड तथा प्रदेश सांसद कला घलेको ३ करोडबाट निर्माणाधीन बिभिन्न योजनाको अनुगमन भईरहेको बताए । १० लाख रुपैंयाको पुल मर्मतको काम धेरै योजनाका लागि उदाहरणीय र पशंसायोग्य भएको भन्दै प्रमुख परियारले तारिफसमेत गरे ।

प्रकाशित: ६ असार २०७७ १०:४१ शनिबार

जनप्रतिनिधि थोरै बजेट