अर्थ

कोभिड प्रभावित व्यवसायीलाई करमा सहुलियत

काठमाडौं महानगरको नीति तथा कार्यक्रम

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममार्फत कोभिड १९ बाट प्रभावित महानगरभित्र सञ्चालित होटल, रेस्टुराँ, सपिङ मल, डे/नाइट मार्केट लगायत अन्य व्यापार, व्यवसायलाई विशेष सहुलियत दिने नीति अघि सारेका छन् ।  

मेयर शाक्यले सातौं नगरसभाको अधिवेशनमा बिहीबार आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उद्योगी, व्यवसायीलाई प्रवद्र्धन गर्ने खालको नीति अंगीकार गर्ने बताए ।

‘स्थानीय समुदाय, निजी क्षेत्र, सुरक्षा निकाय, यातायात व्यवसायीसँग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरू रातको समयमा सञ्चालन गर्न आवश्यक नीतिगत र पूर्वाधारको व्यवस्था मिलाइनेछ,’ मेयर शाक्यले भने, ‘आर्थिक समृद्धिमा पर्यटन भन्ने मूल मन्त्रलाई आत्मसात गरी पर्यटन प्रवद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, सम्बद्र्धन र विस्तारमा जोड दिने नीति लिइनेछ ।’  

महानगरपालिकाको आन्तरिक स्रोत–साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, दायरा विस्तार, दर पुनरावलोकन, क्षेत्र विस्तार र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ । करदातालाई कर प्रणालीमा स्वेच्छिक रूपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने महानगरपालिकाको नीति छ ।

कर तथा गैरकर राजस्व अनुगमन कार्यलाई कडाइका साथ लागू गर्न विशेष अनुगमन टोली गठन गरी परिचालन गर्ने, काठमाडौं महानगरपालिकाका सम्पूर्ण करदाताको तथ्यांक संकलन गरी अभिलेख अध्यावधिक गर्ने, सहरको सौन्दर्य र सुरक्षामा आँच आउने गरी विज्ञापन सामग्री राख्ने कार्यलाई निषेध गर्ने नीति पनि महानगरपालिकाले लिएको छ ।  

महानगरले आगामी आवको नीति तथा कार्यक्रममा आव ०७७/७८ लाई करदाताको अभिलेखन वर्ष घोषणा गरी वैज्ञानिक र एकीकृत करदाता अभिलेख तयार गर्न आवश्यकता अनुसार व्यवस्थापनमा स्नातक/स्नातकोत्तर अध्ययनरत जनशक्ति परिचालन गर्ने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई उचित छुट दिने जस्ता नीति अघि सारेको छ । महानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, आवागमन व्यवस्थापन लगायत विषय छन् ।

प्रकाशित: ५ असार २०७७ ०३:४३ शुक्रबार

नीति तथा कार्यक्रम काठमाडौं महानगरपालिका विद्यासुन्दर शाक्य