अर्थ

चैतयता राजस्व संकलन शून्य

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवागढी नाका गएको माघ १५ गतेदेखि बन्द छ। नाका खोल्नका लागि व्यवसायीले पहल थालेका छन्। तर नाका कहिलेबाट खुल्छ भन्ने अझै निश्चित भएको छैन।  

रसुवा भन्सार कार्यालयका अनुसार चैतयता राजस्व संकलन शून्य छ। फागुन महिनामा थोरै राजस्व संकलन भएपनि त्यसयता राजस्व संकलन भएको छैन। फागुन अन्तिमसम्ममा कार्यालयले वार्षिक लक्ष्यको ८५ प्रतिशत राजस्व  उठाएको थियो।  

कार्यालयले जेठ अन्तिमसम्ममा आठ अर्ब ८८ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो। तर कार्यालयले हालसम्म सात अर्ब ९८ करोड ४७ लाख मात्र राजस्व असुली गरेको छ। यो पनि चैत अगाडि नै उठेको हो। माघभन्दा अगाडि राजस्व संकलन भएअनुसार नाकामा नियमित कारोबार भइरहेको भए अहिलेसम्म वार्षिक लक्ष्य पूरा भइसक्ने देखिन्छ।  

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले अबको केही दिनमा नाका खुल्ने सम्भावना रहेको बताए। यो वर्ष नौ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा नौ अर्ब ५० करोड ६२ लाख ६२ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएकामा १० अर्ब ६० करोड २४ लाख १९ हजार रूपैयाँ राजस्व संकलन  भएको थियो।  

आव ०७२/७३ मा दुई अर्ब चार करोड ४६ लाख ८७ हजार सात सय ४४, आव ०७३/७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आव ०७४/७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व उठेको कार्यालयको तथ्यांक छ।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचोलगायत सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।

प्रकाशित: ५ असार २०७७ ०३:२८ शुक्रबार

राजस्व संकलन