अर्थ

बजार खुले पनि ग्राहक छैनन्

कोरोना संक्रमणबीच सरकारले लकडाउन खुकुलो पारेपछि बजार खुल्न थालेको छ। लडाउनका कारण झन्डै तीन महिनासम्म ठप्प भएको बजारमा खुकुलोसँगै सोमबारदेखि फाट्टफुट्ट सर्वसाधारण देखिन थालेका छन्। आर्थिक गतिविधि खासै नबढे पनि यतिखेर खुकुलो भएको बजार अब बन्द गर्न नपरे हुन्थ्यो भन्ने कामना व्यवसायीको छ।  

त्यस्तै झन्डै तीन महिना घरभित्र थुनिएका नागरिक पनि ढुक्कले बजारमा हिड्डुल गर्न पाए हुन्थ्यो भन्ने चाहनामा छन्। बजार खुलिहाले पनि तत्काल बजारमा किनमेलका लागि पुगिहाल्ने अवस्था नभएको उपभोक्ताको भनाइ छ। बजार खुलेसँगै संक्रमणको अवस्थालाई ‘पर्ख र हेर’को अवस्थामा सर्वसाधारण छन्।  

पोखराको मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, नयाँबजार, पृथ्वीचोक, सिर्जनाचोक क्षेत्रका धेरैजसो पसल खुलेका छन्। किनमेलका लागि ग्राहक नपुगे पनि व्यवसायीले लामो समयको लकडाउनपछिको अवस्थालाई सहज बनाउने भन्दै व्यवसाय सञ्चालनमा ल्याएका छन्। बजारका लत्ताकपडा, भाडाँकुडा, कृषिजन्य, पाठ्यपुस्तक, रंगरोेगन, हार्डवेयर, निर्माण सामग्री र विद्युतीय सामग्रीका धेरैजसो पसल खुलेका छन्। बैंक तथा वित्तीय संस्थाले पनि कार्यालय खोलेपछि अहिले बजारमा केहि चमक देखिएको छ। बैंक तथा वित्तीय संस्थामा उपभोक्ताको भीड रहे पनि बजारका अन्य पसलमा भने खासै सर्वसाधारण पुगिसकेका छैनन्।  

ग्राहक नआएपछि व्यवसायीले पनि केही समयका लागि मात्र पसल खोल्ने गरेका छन्। अरूबेला बिहान ८ बजे खुल्ने बजार यतिबेला ११ बजेतिर मात्र खुल्न थालेको छ। त्यस्तै अरूबेला बेलुकी करिब ८ बजेसम्म खुल्ने पसल अहिले पाँच बजेपछि बन्द गर्न थालेका छन्। निजी सवारी सञ्चालन भएकाले पनि मुख्य बजारमा केही चहलपहल देखिन्छ। फाट्टफुट्ट भाडाका सवारीको रूपमा ट्याक्सी गुडे पनि अरू सार्वजनिक सवारी चलेका छैनन। मोटरसाइकल र निजी सवारीमा सर्वसाधारण हिँडिरहेका छन्।  

‘अरूबेला दिनमा झन्डै १२ घण्टा पसल खोल्ने गरेको थिए, तर, अहिले बढीमा पाँच घण्टा पसल खोलेको छु,’ न्यूरोडका व्यवसायी वीरेन्द्र तभ्mयाले भने, ‘ग्राहक पनि आएका छैनन्। पसल नै नखोले नियमित ग्राहक पनि नआउलान् भनेर खोलेको हुँ। नियमित रूपमा काममा फर्किनका लागि केही दिनसम्म कम समय खोल्ने हो।’ संक्रमण फैलिने क्रम रहेकाले अझै पनि लकडाउनको मार खेप्नुपर्ने हो कि भन्ने त्रास रहेको उनले बताए। ‘लकडाउनले झन्डै तीन महिना घरभित्रै बसियो। अब यस्तो अवस्था नआओस् भन्ने हो,’ उनले भने, ‘कतिपय मुलुकमा कोरोना संक्रमण दोहोरिएको सुन्दा झनै त्रास बढ्न थालेको छ।’

साना आकारका धेरै पसल खुले पनि सपिङ मल भने खुलेका छैनन्। सार्वजनिक सवारी सञ्चालन नभइसकेकाले पनि तत्कालै टाढाका उपभोक्ता बजारसम्म आउने अवस्था नरहेको व्यवसायीको भनाइ छ। सबै उपभोक्तासँग निजी सवारी नभएकाले पनि सार्वजनिक सवारी सञ्चालनपछि मात्र बल्ल बजारमा चलहपहल बढ्ने व्यवसायीको भनाइ छ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल बजार खुलिसके पनि उपभोक्ता बजारसम्म आउन नसकेको बताँउछन्। सरकारले खोल्न रोक लगाएका बाहेक अरू व्यवसाय खुलेको उनले बताए। सानातिना होटल, रेस्टुरेन्टदेखि लत्ताकपडा र भाडाँकुडासम्मको व्यापार खुलेको उनले बताए। ‘व्यवसायीले बजार त खोलेका छन्। तर, ग्राहक भने बजारसम्म आउन सकेका छैनन्,’ पोखरेलले भने, ‘बजार मात्र खुलेको छ, आर्थिक कारोबार छैन।’ सार्वजनिक यातायात सञ्चालन भएर सर्वसाधारण नागरिक सहजै बजारसम्म आउने अवस्था नहुन्जेल बजारमा किनमेल नहुने उनले बताए।  

‘बजारमा एकखालको त्रास छ। व्यवसायी मात्र नभई उपभोक्ता पनि त्रसित छन्,’ उनले भने, ‘अब फेरि लकडाउन गर्नुपर्ने अवस्था नआए हुन्थ्यो भन्ने सबैको चाहना छ।’ यो बेला पोखरामा बसेर अध्ययन गर्ने विद्यार्थी, स्कुले विद्यार्थी र उनीहरूका अभिभावक घर फर्किएकोले पनि बजारमा भीड कम हुनु स्वभाविक रहेको उनले बताए। क्रयशक्ति निकै कमजोर भएकोले अत्यावश्यक बाहेक अरू सामान किन्ने अवस्थामा उपभोक्ता रहेकाले पनि सबैखाले व्यापारले तत्काल गति नलिने उनले बताए।

‘धेरैसँग पैसा छैन। पैसा भए पनि भविश्यमा के कसो हुने हो भनेर जोगाएर राख्ने अवस्था छ,’ उनले भने, ‘अझै पछि पनि के हुने हो भन्ने अवस्था छ।’ निजी क्षेत्रका कर्मचारीले त पारिश्रमिकसमेत नपाएको हुँदा सरकारी कर्मचारीको भरमा मात्र अहिले बजारले गति नलिने पोखरेलले बताए।  

झन्डै तीन महिनाको लकडाउनपछि खुलेको व्यवसायलाई व्यवसायीले तनाव साटासाट गर्ने समयको रूपमा उपयोग गरेको महासचिव पोखरेलले बताए। ‘केहीदिनको बन्दाबन्दी भए सहजै बित्थ्यो तर, ८० दिनसम्म घरमा बसेको सबैजना तनावमा थिए,’ उनले भने, ‘व्यावसाय खुलेपछि व्यवसायीले आर्थिक कारोबारका लागि भन्दा पनि बन्दाबन्दीको तनाव व्यवस्थापन गर्र्ने अवसरको रूपमा अहिलेको समयलाई लिएका छन्।’  

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला पनि बजार खुले पनि खासै व्यापार भइनसकेको बताए। तर, बजार खुल्नासाथ कामदार र व्यवसायीमा उत्साह बढेको देखिएको उनले बताए। सार्वजनिक यातायात नचलेकाले पनि बजारमा तत्काल चमक नआएको उनले बताए। ‘लकडाउन खुलेको भोलिपल्टै बजार खुल्न थालेको छ,’ कोइरालाले भने, ‘तर, अहिलेलाई तत्काल बजार फस्टाउने अवस्था छैन। सार्वजनिक यातायात सञ्चालन हुने हो भने बजारमा किनबेच चल्छ।’

लकडाउन खुलिसकेपछि फास्ट फुडको ब्यापार भने छिटै नै बढिसकेको उनले बताए। ‘मान्छेसँग मन लागेको सामान किन्ने पैसा छैन। तर अवस्था सहज हुँदै जाने देखिएको छ,’ कोइरालाले भने, ‘तत्कालै बजारमा चहलपहल नहुनुमा उपभोक्ता बाहिर निस्कन डराएर पनि हो।’

प्रकाशित: ५ असार २०७७ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App