अर्थ

ग्राहकबिनाको बजार !

धनगढी मेनरोडमा खुलेका कपडा पसल । तस्बिरः पुष्पराज जोशी/नागरिक

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी बजार पूर्णरुपमा खुलेको छ । चार दिनदेखि धनगढीको बजार व्यवसाय खुला रहे पनि ग्राहक भने बजारसम्म पुग्न सकेका छैनन् । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जानु र आम नागरिकमा कोरोना त्रास कायमै रहेकाले बजारमा ग्राहकहरू आउन सकेका छैनन् ।  

बिहानैदेखि पसल खोलेर बस्ने गरेको बताउँदै धनगढी साल्टट्रेडिङ लाइनमा रहेको अंकित बस्त्रालयका सञ्चालक बिनोद बोहरा भन्छन्,‘पसल खोलेर बसेका छौँ, तर ग्राहकै आउँदैनन् ।’ सरकारलाई कर तिर्नका लागि पनि जोखिम मोलेर व्यवसाय खोलेको बताउँदै उनले भने,‘कर तिर्नका लागि आम्दानी गर्नु प¥यो भनेर व्यवासय खोल्यौँ, तर ग्राहकै आउँदैनन् ।’ दिनभर सडकमा आँखा डुलाउँदै ग्राहक आउने प्रतीक्षामा बसेको बताउँदै धु्रवतारा सपिङ सेन्टरका प्रोप्राइटर सुशील शाही भन्छन्, ‘बिहानदेखि बेलुकीसम्म पसल खोलेर बसेको हुन्छु, तर ग्राहकै आउँदैनन् ।’  

छाता, रेनकोट तथा गर्मीमा लगाउने पातला लुगा किन्न ग्राहक आउने समय भए पनि यसपालि भने अहिलेसम्म बजारमा ग्राहक आउन नसकेको उनी बताउँछन् । लामो समय लक डाउनले गर्दा भएको पैसा सकिएका कारण पनि ग्राहक बजारमा आउन नसकेको हुन सक्ने बताउँदै उनले भने,‘एक त कोरोनाको त्रास कायमै छ, अर्कोतर्फ पैसा पनि सकिएको अवस्था भएकाले हुन सक्छ ग्राहक बजार पुग्ने सकेका छैनन् ।’ फाट्ट फुट्ट आउने ग्राहकले पनि सस्तो सामान खोज्ने गरेको उनको अनुभवले के बताउँछ भने,‘ग्राहकले गुणस्तरीय नभई सस्तो सामान खोज्न थालेका छन्, यसले पनि के पुष्टि हुन्छ भने अहिले ग्राहकसँग पैसा छैन ।’  

एक त मानिसहरू कोरोना त्रासले घरभित्रै छन्, अर्कोतर्फ घरभित्रै बस्दा बस्दै उनीहरूको गोजी रित्तिएकाले पनि ग्राहक बजार निस्कन नसकेको अर्थविद्को विश्लेषण ।  

लामो समय बन्दाबन्दीको अवस्थामा रहेका आम नागरिकहरू सुरक्षाका दृष्टिले पनि बजारमा निस्कन नसकेको बताउँदै कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक तथा अर्थशास्त्री राजेन्द्रवीर चन्द भन्छन्,‘एक त मानिसहरू कोरोना त्रासले घरभित्रै छन्, अर्कोतर्फ घरभित्रै बस्दा बस्दै उनीहरूको गोजी रित्तिएको छ, यसले पनि ग्राहक हत्तपत्त बजार निस्कन सकेका छैनन् ।’ 

सुरक्षा महसुससँगै पैसा भएपछि मात्रै ग्राहकले विलासिता जीवन रोज्ने गरेको बताउँदै उनी भन्छन्,‘अहिले ग्राहकसँग पैसा छैन, यस्तो बेलामा मानिसले अत्यावश्यक सामग्रीबाहेक अन्य सामग्रीका लागि जुगाडबाजी गर्छन् ।’ अहिले मानिसहरू घरायसी सामानहरूको सदूपयोग गर्न खोजिरहेको बताउँदै उनले भने,‘मानिससँग जे जति साधन छन्, त्यसलाई नै सदूपयोग गर्न चाहिरहेका कारण पनि बजार निस्कन चाहेका छैनन् ।’  

अर्कोतर्फ लामो समयसम्म लक डाउनमा बसिरहँदा मानिससँग खर्च गर्ने क्षमता विस्तारै कम हुँदै गएको उनी बताउँछन् । ‘प्राइभेट’ क्षेत्रमा काम गर्ने र दैनिक ज्यालादारीमा रहेका अधिकांश मानिसमा खर्च गर्न सक्ने क्षमता घटेका कारण पनि बजार निस्कन नसकेको उनको विश्लेषण छ ।  

अहिले बजार ग्राहकबिना खुलेको बताउँदै कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले भने,‘व्यापारको स्थिति कोरोना सुरु हुनु अघिदेखि खस्कँदै गएको थियो, लक डाउनपछि खुलेको बजारले त ग्राहक नै पाएको छैन ।’ कैलालीको व्यापार व्यवसाय ८० प्रतिशत घटेको बताउँदै उनले भने,‘जबसम्म यातायात खुल्दैनन्, तबसम्म व्यापारीले ग्राहक भेटाउँदैनन् र व्यापार बढ्दैन ।’

प्रकाशित: ४ असार २०७७ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App