अर्थ

बजेट परम्परागत र कार्यकर्तामुखी : प्रतिपक्षी

क्याप्शन

प्रतिपक्षी दलहरुले गण्डकी प्रदेशको बजेट परम्परागत र कार्यकर्तामुखी भएको आरोप लगाएका छन् । यही असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङद्वारा प्रदेशसभामा प्रस्तुत बजेटमाथि बुधबारदेखि प्रदेशसभामा सुरु भएको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीका सांसदले कोरोनाविरुद्ध लड्नेगरी ल्याउनुपर्ने बजेट परम्परागत र कार्यकर्तामुखी भएको टिप्पणी गरेका हुन् ।

बुधबारको छलफलमा भाग लिँदै कांग्रेस सांसद मनकुमारी गुरुङले बजेट जनताको भावनाविपरित आएको टिप्पणी गरिन् । ‘बजेटमा जनताका भावना पोलिएका छन्,’ उनले भनिन्, ‘यो बजेट परम्परागत शैलीमा आएको छ र कार्यकर्तामुखी छ ।’  

उनले कोरोनाका कारण शिथिल अर्थतन्त्रको पुनरुत्थान गर्न भनेर एक अर्बको ‘व्यावसायिक जीवन रक्षा कोष’ कार्यकर्ता पोस्न राखेको आरोप लगाइन् । उनले भनिन्, ‘योजना र शीर्षक नछुट्याई आएको यो अबण्डा बजेटले उद्योगी, व्यवसायी होइन, कार्यकर्ता पोस्ने मात्र काम हुन्छ ।’ उनले प्रदेशको मुहार फेर्न महिलाको मुहार फेर्न जरुरी भए पनि बजेटले महिलाको मुद्दा सम्बोधन गर्न नसकेको बताइन् ।

सांसद विन्दुकुमार थापाले जनतालाई कोरोनाबाट कसरी जोगाउने र बचाउनेमा केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसक्नु दुःखद भएको बताए । उनले अबण्डा बजेट धेरै भएको तथा पोके बजेट नल्याउन आग्रह गर्दागर्दै पनि अटेर गरेर घुसाएको आरोप लगाए । उनले असफल भइसकेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम पुनः ल्याएकोप्रति विमत्ति राख्दै खारेज गर्न माग गरे ।

जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले भिजन नभएको सरकारले मिसन क्लियर नगरी बजेट ल्याएको टिप्पणी गरिन् । उनले बजेट समाजवादको यात्रामा अलमलिएर आएको बताइन् ।

सत्तापक्षीय सांसदले भने बजेट समाजवादको आधारमा टेकेर समृद्धिको सपना पूरा गर्नेगरी आएको बताए । सांसद मीना गुरुङले बजेट रोग, भोक र शोकलाई हृदयंगम गरि आएको बताइन् । उनले बजेट पूर्णरुपमा कार्यान्वयन भएमा गण्डकी प्रदेश समृद्धिको उकालो चढ्ने बताइन् ।

सांसद मोहनप्रसाद रेग्मीले बजेट जनताप्रति उत्तरदायी भएर उनीहरुको जीवन रक्षासँगै समृद्धिको सपना पूरा गर्नेतर्फ केन्द्रित रहेको पाएको बताए । सांसद इन्द्रलाल सापकोटाले पूरा हुन नसकेका पुराना कार्यक्रमलाई आगामी आर्थिक वर्षमा राखेर सरकारले जनतासामु जनप्रतिनिधिलाई मुख देखाउने बाटो बनाइदिएको बताए । सांसद रामबहादुर गुरुङले बजेट ‘स्याल होइन बाघ मार्ने’गरी आएको बताउँदै बेरोजगार हटाउन, उत्पादन बढाउन लगायतमा बजेट कोशेढुंगा सावित हुने बताए ।

सांसद धनञ्जय दवाडीले बजेटले कोरोनालाई सम्बोधन गरेको र ‘व्यावसायिक जीवन रक्षा कोष’ले कोरोनाका कारण पीडित उद्योगी, व्यवसायीलाई मल्हम पट्टी लगाउने विश्वास व्यक्त गरे । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले बजेट मध्यम खालको भए पनि पूर्ण कार्यान्वयन भएमा उपलब्धिमूलक हुने बताए ।

प्रकाशित: ३ असार २०७७ १७:०० बुधबार

बजेट कार्यकर्तामुखी प्रदेशसभा