अर्थ

रसुवागढी नाका सञ्चालनका लागि चीनले सहमति दियो

रसुवागढी नाका । तस्बिर/हिमनाथ

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका सञ्चालनमा आउने भएको छ । चीनले नाका सञ्चालनका लागि सहमति दिएसँगै नाका खुल्ने निश्चित भएको हो । कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो ।  

चीनसँग सञ्चालनमा रहेका दुईवटा नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ । सुरुमा स्थानीयले कोरोना भाइरस भित्रन सक्ने त्रासमा नाका नखोल्ने अडान लिएको कारण नाका सञ्चालनमा आउन सकेको थिएन ।  

नाका खुलेपछि पहिलो चरणमा चीनको केरुङमा अड्किएका सामग्री ल्याइने छ । ‘नाका कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा दुवै देशका सीमा प्रशासनले निर्णय गर्ने छन् । नेपाली सवारीलाई त्यहाँसम्म गएर सामग्री ल्याउन दिने वा चिनियाँ पक्षले मितेरी पुलसम्म सामग्री ल्याउने भन्ने विषयमा स्थानीय प्रशासनले निर्णय गर्नसक्ने छन् ।  

यहाँबाट चालक तथा सहचालक जाँदा परीक्षण गराएर जाने व्यवस्था मिलाइने छ । नाका सञ्चालन गर्नका लागि कुनै पनि समस्या नरहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ । गएको फागुन अन्तिमसम्म केरुङमा बसिरहेका तथा केरुङको व्यवसाय सञ्चालन गर्ने व्यक्ति जाने तथा आउने गरेका थिए । 

प्रकाशित: ३ असार २०७७ १४:४६ बुधबार

चीन रसुवागढी नाका सहमति