अर्थ

चीनसँगका नाका बन्द हुँदा कर्णालीका उत्तरी क्षेत्रमा खाद्यान्न संकट

सुर्खेत विमानस्थलबाट हवाइजहाजमार्फत हुम्लामा खाद्यान्न ढुवानी गरिँदैं । तस्बिर : नागरिक

कोरोना संक्रमणका कारण चीनसँगका सीमा नाका बन्द हुँदा कर्णाली प्रदेशका उत्तरी क्षेत्रमा खाद्यान्न संकट सुरु भएको छ । लामो समयको बन्दाबन्दी (लकडाउन)का कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चीन हुँदै सहुलियतको खाद्यान्न पठाउन पाएको छैन् भने दैनिक उपभोग्य वस्तु खरिद गर्ने नजिकका चीनका बजारहरू बन्द हुँदा उत्तरी क्षेत्रका जनताहरू खाद्य संकटमा परेका हुन् । सरकारले चीनसँग जोडिएका हुम्लाको नाम्खा, डोल्पाको डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकामा चीन हुँदै खाद्यान्न पठाउने गरेको थियो ।

चीनसँग सीमा जोडिएको डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्वा गुरुङले चीनसँगका सीमा नाका बन्द हुँदा उत्तरी क्षेत्रमा भोकमरी सुरु हुन थालेको बताए । ‘खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले चीन हुँदै पठाउने खाद्यान्न पनि लकडाउनका कारण आउन सकेन्, किनेर खानलाई चीनका बजार बन्द छन्,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘स्थानीय उत्पादन आलु र उवा पनि सकिसक्यो ।’

डोल्पोबुद्ध गाउँपालिकाको जनसंख्या २३ सय छ । अध्यक्ष गुरुङले सदरमुकाम दुनै आएर खाद्यान्न खरिद गर्न चार–पाँच दिन समय लाग्नुका साथै महंगो पर्ने भएकाले सरकारले अनुदानको खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गर्नुपर्ने बताए । ‘डिपोमा आएको खाद्यान्न जनताले सस्तोमा किनेर खान्थे,’ उनले भने, ‘लकडाउनका कारण सरकारी अनुदानको चामल नआउँदा जनताले चार–पाँच दिन लगाएर सदरमुकामबाट महंगोमा खाद्यान्न खरिद गरिरहेका छन् ।’ अध्यक्ष गुरुङले सरकारी अनुदानको चामल डिपोमा क्विन्टलको ५१ सय रुपैयाँ पर्दथ्यो भने अहिले सदरमुकाम गएर किन्दा ३० किलोकै पाँच हजार रुपैयाँ पर्छ ।

चीनसँग जोडिएको डोल्पाकै शे–फोक्सुण्डो गाउँपालिकाका पनि अहिले खाद्य संकट छ । अध्यक्ष टसी तुन्डुप गुरुङले दैनिक उपभोग्यवस्तुको अभाव हुँदा जनता मारमा परेको बताए । ‘गत वर्षको बाँकी रहेको खाद्यान्नले केही समय धान्यो, स्थानीय उत्पादन आलु र उवाँ चार महिनालाई मात्रै पुग्छ,’ अध्यक्ष गुरुङले भने, ‘एक साताभित्र खाद्यान्न नआइपुगे यहाँ मानिसहरू खानै नपाउने अवस्था छ ।’ उनले यो वर्ष यार्सा संकलन गर्न नपाउँदा स्थानीयहरूसँग खाद्यान्न खरिदका लागि पैसा पनि नभएको बताए । 

शे–फोक्सुण्डो भुगोलका हिसावले सबैभन्दा ठुलो स्थानीय तह हो । यहाँको जनसंख्या ४२ सय छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षका लागि दुई हजार क्विन्टल खाद्यान्न शे–फोक्सुण्डोका लागि छुट्याएको थियो । डोल्पोबुद्धका लागि तिब्बतको मोरिम र र शे–फोक्सुण्डोका लागि क्याटो नाकाबाट खाद्यान्न ढुवानी गर्ने गरिएको थियो ।  

यस्तै हुम्लाको नाम्खा गाउँपालिकामा काठमाडौं–केरुङ हुँदै हिल्सा नाकाबाट खाद्यान्न भित्र्याउने गरिएको थियो । गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ(लामा)ले सरकारी अनुदानको दुई हजार क्विन्टल खाद्यान्न नआउँदा भोकमरी सुरु भएको बताए । ‘लकडाउनका कारण चीनको बाटो हुँदै आउने खाद्यान्न रोकिएको छ,’ उनले भने, ‘चामल नहुँदा भोकमरी सुरु भइसकेको छ ।’  

उनले चीन हुँदै आउने खाद्यान्नलाई रुट परिवर्तन गरेर हेलिकोप्टरमार्फत सदरमुकाम सिमीकोटसम्म ल्याइदिन प्रदेश र संघीय सरकारसँग पटक–पटक आग्रह गरिएको बताए । ‘चीन हुँदै आउने खाद्यान्न हेलिकोप्टरमार्फत सिमीकोटसम्म प्रदेश र संघीय सरकारले ल्याइदिए त्यहाँबाट हामी आफै ढुवानीको व्यवस्था मिलाउँथ्यौं,’ उनले भने, ‘एक महिना अघिदेखिनै खाद्यान्न ढुवानी गरिदिन आग्रह गरेका छौं, अहिले सुनुवाई भएको छैन् ।’

गाउँपालिका अध्यक्ष तामाङले सीमा नाका बन्द हुँदा खाद्यान्न जोहो गर्ने बाटो पनि बन्द भएको बताए । ‘यहाँका स्थानीयहरूको सामान खरिद–विक्री गर्ने मुख्य बजार चीनको ताक्लाकोट हो,’ उनले भने, ‘नाकानै बन्द भएपछि खाद्यान्न जोहो गर्ने बाटो पनि भन्द भयो ।’ नाम्खाका ४७ सय जनसंख्याका लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा दुई हजार क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको थियो ।

नाम्खामा खाद्यान्न संकट बढ्दै गएपछि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड सिमीकोट शाखाले पछि सट्टाभर्ना गर्ने गरेर १३१ क्विन्टल चामल चच्चडमार्फत यालवाङ डिपोमा पठाएको छ ।  

कम्पनीका कर्णाली प्रदेश प्रमुख भिमबहादुर थापाले तत्कालका लागि खाद्यान्न संकट टार्न सिमीकोटबाट नाम्खा गाउँपालिकाको यालवाङ डिपोमा खाद्यान्न पठाइएको बताए । ‘काठमाडौंबाट चीनको बाटो हुँदै उत्तरी क्षेत्रका जनताका लागि पठाउनुपर्ने खाद्यान्न लकडाउनका कारण पु¥याउन सकिएन्,’ थापाले भने, ‘बैकल्पिक व्यवस्थाका लागि छलफल भइरहेको छ ।’

प्रकाशित: ३ असार २०७७ ०९:५९ बुधबार

कोरोना संक्रमण खाद्यान्न संकट