विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिटेन्स आयमा ६.१ प्रतिशतले कमी आएको छ। अर्थतन्त्रका अन्य परिसूचकको अवस्था भने नराम्रो छैन।
रेमिटेन्स घटेका कारण सरकारलाई आगामी दिनमा केही समस्या पर्ने देखिएको छ। तर वस्तु तथा सेवा आयातका लागि विदेशी मुद्राको सञ्चितिको अवस्था राम्रो भएकाले तत्कालै भने समस्या आउने देखिँदैन। अहिलेको सञ्चितिले मुलुकले १०.८ महिनासम्म वस्तु तथा सेवा आयात गर्न सक्ने अवस्था छ।
कोभिडका कारण वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीको रोजगार गुमेको र पछिल्ला दिन रोजगारीमा जानेमा पनि अवरोध भएका कारण रेमिटेन्स आय घटेको हो।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ०७६÷७७ पहिलो १० महिना (वैशाखसम्म) ६ खर्ब ८० अर्ब ८४ करोड रूपैयाँ मात्र रेमिटेन्स आएको छ। पोहोर यही अवधिमा रेमिटेन्स आय १९.६
प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आय ७.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आय ९.३ प्रतिशतले बढेको थियो।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि यो अवधिमा २४.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो।
मूल्य वृद्धि
बैंकका अनुसार यो वर्ष मूल्य वृद्धि पनि गत वर्षभन्दा बढी छ। वैशाखसम्ममा उपभोक्ता मुद्रास्फीति ५.८३ प्रतिशत छ। अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ५.२९ प्रतिशत थियो। १० महिनाको औसत मुद्रास्फीति भने ६.४६ प्रतिशत छ।
वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.६७ प्रतिशत छ। खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ।
यस्तै, वैशाखमा काठमाडौं उपत्यकामा ५.७१ प्रतिशत, तराईमा ६.३५ प्रतिशत, पहाडमा ५.११ प्रतिशत र हिमालमा ५.१९ प्रतिशत मुद्रास्फीति छ।
वैदेशिक व्यापार
चालु वर्षको १० महिनामा कुल वस्तु निर्यात ४.५ प्रतिशतले बढेर ८२ अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात १८.९ प्रतिशतले वृद्धि भएको थियो।
मुलुकका आधारमा भारततर्फ १६.१ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ३८.६ प्रतिशत र १४.६ प्रतिशतले घटेको छ।
वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, कागज तथा नेपाली कागजका वस्तु, प्लास्टिकका भाँडा, एमएस पाइप लगायत वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा अन्य धागो, ऊनी गलैंचा, जुस लगायत वस्तुको निर्यात घटेको छ।
यस्तै, १० महिनामा कुल वस्तु आयात १३.० प्रतिशतले घटेर १० खर्ब २५ अर्ब १४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात १९.६ प्रतिशतले बढेको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७.५ प्रतिशत, ७.६ प्रतिशत, र २.९ प्रतिशतले घटेको छ।
यस्तै वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेल लगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ,
यातायातका साधन तथा पार्टपुर्जा, एमएस
बिलेट, सुन, सिमेन्ट लगायत वस्तुको आयात घटेको छ। बैंकका अनुसार निर्याततर्फ वीरगन्ज, विराटनगर र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ। आयाततर्फ सुक्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ।
यो वर्षको १० महिनामा कुल वस्तु व्यापार घाटा १४.२ प्रतिशतले घटेको छ। यो अवधिसम्म व्यापार घाटा नौ खर्ब ४३ अर्ब सात करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो घाटा १९.७ प्रतिशतले बढेको थियो। निर्यात–आयात अनुपात ८.० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ६.७ प्रतिशत रहेको थियो।
चालु खाता र शोधनान्तर अवस्था
बैंकका अनुसार यो अवधिमा चालु खाता घाटा एक खर्ब पाँच अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्षको यस्तो घाटा दुई खर्ब २१ अर्ब ७७ करोड थियो।
यस्तै, यो अवधिमा शोधनान्तर स्थिति एक खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनासम्म ६० करोड दुई लाखले घाटामा रहेकामा अहिले एक अर्ब एक करोडले बचतमा छ।
यो अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४९ करोड र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रहेको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी नौ अर्ब ४७ करोड रहेको थियो।
विदेशी विनिमय सञ्चिति
गत २०७६ असार मसान्तमा १०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले बढेर २०७७ वैशाख मसान्तमा १२३५ अर्ब २५ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ वैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको छ। आर्थिक वर्ष २०७६/७७ को १० महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.२ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको बैंकले जनाएको छ।
२०७६ असार मसान्तको तुलनामा २०७७ वैशाख मसान्तमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ ९.२५ प्रतिशतले अवमूल्यन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रूपैयाँ २.९ प्रतिशतले अवमूल्यन भएको थियो।
सरकारी वित्त
आर्थिक वर्ष २०७६/७७ को १० महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति एक खर्ब २९ अर्ब १८ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ४४ करोडले घाटामा थियो। वैशाखसम्ममा सरकारले १ खर्ब ३५ अर्ब आन्तरिक ऋण र ७४ अर्ब ६१ करोड बराबरको बाह्य ऋण परिचालन गरेको छ।
प्रकाशित: ३ असार २०७७ ०५:२७ बुधबार