अर्थ

बजार खुल्यो, किनबेच छैन

पोखरा चिप्लेढुंगास्थित भित्री गल्लीमा खुलेका कपडा पसल। तस्बिरः सन्तोष पोखरेल / नागरिक

कोरोना संक्रमणबीच सरकारले लकडाउन खुकुलो पारेपछि बजार खुल्न थालेको छ। लडाउनका कारण झन्डै तीनमहिनासम्म ठप्प भएको बजारमा खुकुलोसँगै सोमबारदेखि फाट्टफुट्ट सर्वसाधारण देखिन थालेका छन्। आर्थिक गतिविधि खासै नभएपछि खुकुलो भएको बजार बन्द नगर्न व्यावसायीहरुसंग आग्रह गर्छन्।  

पछिल्लो समय तीनमहिना देखि घरभित्र थुनिएका सर्वसाधरणहरु पनि पनि ढुक्कले बजारमा चहलपहल थालेका छन्। पोखराको मुल बजार महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, नयाँबजार, पृथ्वीचोक, सिर्जनाचोक क्षेत्रका धेरैजसो पसल खुलेका छन्। किनमेलका लागि ग्राहक नपुगेपनि व्यावसायीले लामो समयको लकडाउन पछिको अवस्थालाई सहज बनाउने भन्दै व्यावसाय संचालनमा ल्याएका छन्। 

बजारका लत्ताकपडा, भाडाँकुडा, कृषिजन्य, पाठ्यपुस्तक, रंगरोेगन, हार्डवेयर, निर्माण सामाग्री र विद्युतीय सामग्रीका धेरैजसो पसल संचालनमा आएका छन्। बैंक तथा वित्तीय संस्थाले पनि कार्यालय खोलेपछि अहिले सामान्य जनजीवनमा फर्किए जस्तो देखिन्छ।  बैंक तथा वित्तीय संस्थामा उपभोक्ताको भीड रहेपनि बजारका अन्य पसलमा भने खासै सर्वसाधारण पुगिसकेका छैनन्।  

अहिले व्यापार खासै नभएपछि व्यावसायीले केही समयका लागि मात्र पसल खोल्ने गरेका छन्। अरुबेला बिहान ८ बजे खुल्ने बजार यतिबेला ११ बजेतिर मात्र खुल्न थालेको छ। त्यस्तै अरुबेला बेलुकी करिब ८ बजेसम्म खुल्ने पसल अहिले पाँचबजेपछि बन्द गर्न थालेका छन्। निजी सवारी संचालन भएकाले पनि मुल बजारमा केही चहलपहल देखिन्छ। फाट्टफुट्ट भाडाका सवारीको रूपमा ट्याक्सी गुडेपनि अरु सार्वजनिक सवारी चलेका छैनन। मोटरसाइकल र निजी सवारीमा सर्वसाधारण हिडिरहेका छन्।  

‘अरुबेला दिनमा झन्डै १२ घण्टा पसल खोल्ने गरेको थिए, तर, अहिले बढीमा पाँचघण्टा पसल खोलेको छु,’ न्यूरोडका व्यावसायी वीरेन्द्र तझैयाले भने, ‘ग्राहक पनि आएका छैनन्। पसल नै नखोले नियमित ग्राहक पनि नआउलान भनेर खोलेको हुँ। नियमित रुपमा काममा फर्किनका लागि केहीदिनसम्म कम समय खोल्ने हो।’ संक्रमण फैलिने क्रम रहेकोले अझै पनि लकडाउनको मार खेप्नुपर्ने हो की भन्ने त्रास रहेको उनले बताए। ‘लकडाउनले झन्डै तीनमहिना घरभित्रै बसियो। अब यस्तो अवस्था नआओस भन्ने हो,’ उनले भने, ‘कतिपय मुलुकमा कोरोनाका संक्रमणको दोहोरिएको सुन्दा झनै त्रास बढ्न थालेको छ।’

साना आकारका धेरै पसल खुलेपनि सपिङ मल भने खुलेका छैनन्। सार्वजनिक सवारी संचालन नभईसकेकोले पनि तत्कालै टाढाका उपभोक्ता बजारसम्म आउने अवस्था नरहेको व्यावसायीको भनाई छ। सबै उपभोक्तासँग निजी सवारी नभएकोले पनि सार्वजनिक सवारी संचालनपछि मात्र बल्ल बजारमा चलहपहल बढ्ने व्यावसायीको भनाई छ।

पोखरा उद्योग बाणिज्य संघका महासचिव अर्जुन पोखरेल बजार खुलिसकेपनि उपभोक्ता बजारसम्म आउन नसकेको बताँउछन। सरकारले खोल्न रोक लगाएका बाहेक अरु व्यावसाय खुलेको उनले बताए। सानातिना होटल, रेस्टुरन्टदेखि लत्ताकपडा र भाडाँकुडासम्मको ब्यापार खुलेको उनले बताए। ‘व्यावसायीले बजार त खोलेका छन्। तर, ग्राहक भने बजारसम्म आउन सकेका छैनन्,’ पोखरेलले भने, ‘बजार मात्र खुलेको छ, आर्थिक कारोबार छैन।’ सार्वजनिक यातायात संचालन भएर सर्वसाधारण नागरिक सहजै बजारसम्म आउने अवस्था नहुन्जेल बजारमा किनमेल नहुने उनले बताए।  

‘बजारमा एकखालको त्रास छ। व्यावसायी मात्र नभई उपभोक्ता पनि त्रसित छन,’ उनले भने, ‘अब फेरि लकडाउन गर्नुपर्ने अवस्था नआए हुन्थ्यो भन्ने सबैको चाहना छ।’ यतिबेला बजार खुलेको भएपनि बालबालिकाको विद्यालय बन्द हुँदा घर फर्किएका धेरै अभिभावक बजार झर्न नपाउँदा बजारलाई ग्राहक अभाव भएको पोखरेलले बताए। यो बेला पोखरामा बसेर अध्ययन गर्ने विद्यार्थी, स्कुले विद्यार्थी र उनीहरुका अभिभावक घर फर्किएकोले पनि बजारमा भीड कम हुनु स्वभाविक रहेको उनले बताए। क्रयशक्ति निकै कमजोर भएकोले अत्यावश्यक बाहेक अरु सामान किन्ने अवस्थामा उपभोक्ता रहेकोले पनि सबैखाले व्यापारले तत्काल गति नलिने उनले बताए।

‘धेरैसँग पैसा छैन। पैसा भएपनि भविष्यमा के कसो हुने हो भनेर जोगाएर राख्ने अवस्था छ,’ उनले भने, ‘अझै पछि पनि के हुने हो भन्ने अवस्था छ।’ निजी क्षेत्रका कर्मचारीले त पारिश्रमिक समेत नपाएको हुँदा सरकारी कर्मचारीको भरमा मात्र अहिले बजारले गति नलिने पोखरेलले बताए।  

झन्डै तीनमहिनाको लकडाउनपछि खुलेको व्यावसायलाई व्यावसायीले तनाव साटासाट गर्ने समयको रुपमा उपयोग गरेको महासचिव पोखरेलले बताए। ‘केहीदिनको बन्दाबन्दी भए सहजै बित्थ्यो तर, ८० दिनसम्म घरमा बसेको सबैजना तनावमा थिए,’ उनले भने, ‘व्यावसाय खुलेपछि व्यावसायीले आर्थिक कारोबारका लागि भन्दा पनि बन्दाबन्दीको तनाव व्यवस्थापन गर्र्ने अवसरको रुपमा अहिलेको समयलाई लिएका छन्।’  

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला पनि बजार खुलेपनि उत्तिसारो ब्यापार भईनसकेको बताए। तर, बजार खुल्नासाथ कामदार र व्यावसायीमा उत्साह बढेको देखिएको उनले बताए। सार्वजनिक यातायात नचलेकोले पनि बजारमा तत्काल चमक नआएको उनले बताए। ‘लकडाउन खुलेको भोलिपल्टै बजार खुल्न थालेको छ,’ कोइरालाले भने, ‘तर, अहिलेलाई तत्काल बजार फस्टाउने अवस्था छैन। सार्वजनिक यातायात संचालन हुने हो भने बजारमा किनबेच चल्छ।’

लकडाउन खुलिसकेपछि फास्ट फुडको ब्यापार भने छिटै नै बढिसकेको उनले बताए। ‘मान्छेसँग मन लागेको सामान किन्ने पैसा छैन। तर अवस्था सहज हुँदै जाने देखिएको छ,’ कोइरालाले भने, ‘तत्कालै बजारमा चहलपहल नहुनुमा उपभोक्ता बाहिर निस्कन डराएर पनि हो।’  

प्रकाशित: २ असार २०७७ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App