अर्थ

लकडाउनले बिकेन अलैंची

अलैंचीको नयाँ उत्पादन सुरु हुने बेला हुन लाग्दा पनि गत वर्ष उत्पादन भएको अलैंची बिक्री हुन सकेको छैन । कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउनपछि अलैंचीको कारोबार ठप्प छ । भारत निकासी हुन नसकेपछि कारोबार ठप्प हुन पुगेको हो । व्यवसायीले अहिले अलैंची किन्न सक्ने अवस्था छैन । ठूलो परिमाणमा किसान र व्यवसायीको गोदाममा अलैंची थन्किएको छ । काकडभिट्टा नाकाबाट अलैंची भारत पठाउने व्यवसायीको प्रयास असफल भएको छ । ‘अहिले अलैंचीको कारोबार गर्ने अवस्था छैन । 

हामी किसानकै गोदाममा अलैंची निक्कै छ । कारोबार गर्न नपाउँदा समस्या भएको छ । १० गाडी अलैंची अहिले पनि भन्सारमा रोकिएको छ,’ नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष नरेन्द्र अधिकारीले भने, ‘भारत निकासी गर्ने वातावरण बने कारोबार पुनः सुरु हुने थियो ।’ लकडाउनका कारण आर्थिक समस्या बढ्दै जाँदा किसानले अलैंची बेच्न नपाएका हुन् । सिजनमा राम्रो मूल्य नआएपछि किसानले अलैंची बेचिसकेका थिएनन् । राम्रो भाउ आउने आसमा रहेका किसान लकडाउनले थप समस्यामा परेका हुन् ।

‘लकडाउनका कारण एकातिर आर्थिक संकट छ, अर्कोतर्फ अलैंची बेच्न पाइएको छैन,’ फिदिम–७ का किसान विजय तामाङले भने, ‘अस्ती भाउ आउँछ कि भन्ने आस थियो । अहिले कहिले बेच्न पाइएला भन्ने अवस्था आएको छ ।’ साउन अन्तिमदेखि नयाँ अलैंची उत्पादन सुरु हुन्छ । प्रदेश १ को पहाडी जिल्लाको प्रमुख नगदेबालीको रुपमा अलैंची छ । साथै नेपालबाट निर्यात हुने प्रमुख कृषि उपजसमेत हो । भारत हुँदै व्यापार हुने नेपालको अलैंची निकासी गर्न नपाउँदा कारोबार पूर्ण रुपमा ठप्प भएको छ । 

नेपालबाट निकासी हुने प्रमुख कृषिबालीको रुपमा रहेको अलैंचीको नयाँ सिजन सुरु हुने बेलामा गोदममै राख्नुपर्दा ठूलो क्षति पुगेको छ । नेपालका ४२ भन्दा बढी जिल्लामा अलैंची खेती हुने गरेको छ । तर प्रदेश १ का ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, खोटाङ जिल्लामा धेरै हुने गरेको पाइन्छ । कृषि विभागको तथ्यांक हेर्ने हो भने १२ हजार एक सय २० हेक्टर क्षेत्रबाट अलैंची उत्पादन हुने गरेको छ । यसमध्ये ११ हजार तीन सय हेक्टर प्रदेश १ का पहाडी जिल्लामा रहेको छ ।

प्रकाशित: ३२ जेष्ठ २०७७ ०९:२७ आइतबार

लकडाउन अलैंची