अर्थ

विमानस्थलमा उच्च सर्तकता

कोभिड–१९ महामारीले विदेशमा समस्यामा परेका नेपालीको उद्धार हुने भएपछि विमानस्थलमा विशेष सतर्कता अपनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबारदेखि उद्धार सुरु हुने भएकाले संक्रमण भित्रिन नदिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसारको कार्यविधि तयार गरिएको छ ।

ढिलोमा जुन १० बाट उद्धार गरिने जनाएको सरकारले पहिलो चरणमा म्यानमार र संयुक्त अरब इमिरेट्सबाट नेपाली बोकेर आउने जहाजलाई शुक्रबार अवतरण अनुमति दिएको छ । शुक्रबार विहान म्यानमारबाट दुई विमानमार्फत ४१ र दिउँसो एयर अरेबियाको जहाजमार्फत युएईबाट नेपाली आउने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजेन्द्रकुमार क्षेत्रीले बताए ।  

क्षेत्रीका अनुसार म्यानमारबाट आउने विमानले फर्कंदा नेपालबाट २६ यात्रु लैजानेछन् । एयर अरेबिया रित्तै फर्कनेछन् । शुक्रबार दिल्ली उडानको अनुमति पाएको श्री एयरले नेपालबाट १५ यात्रु लैजाने उनले बताए ।

गत शनिबार मात्रै विमानस्थलको रनवे निर्माणको काम सकिएको थियो । संक्रमणको जोखिम कम गर्न सामाजिक दुरी कायम राख्दै, मार्किङ, सरसफाइ तथा डब्लुएचओ र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तयार पारेको मापदण्ड अनुसार विमानस्थलमा नयाँ संरचना तयार गरिएको छ ।  

विमानस्थलका कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षा क्षेत्रका कर्मचारीको लागि समेत सुरक्षा मापदण्ड बनाई विदेशबाट फर्किने पहिलो उडानका यात्रुलाई अन्तर्राष्ट्रिय टर्मिनलको नयाँ भवनबाटै बाहिर ल्याउने गरी व्यवस्था मिलाइएको छ ।  

स्रोतका अनुसार विमानस्थलमा उत्रिने यात्रुको स्वास्थ्य परीक्षण विमानबाट उत्रेलगत्तै सुरु हुनेछ । चेक–इन काउन्टर, स्टेराइल हल, अध्यागमन हल, काउन्टर, यात्रु ओसार्न प्रयोग हुने सवारी लगायत क्षेत्रमा विशेष सतर्कता अपनाइने छ ।

अन्तर्राष्ट्रिय उडानको छुट्टै निर्देशिका बनाएको विमानस्थल कार्यालयले दुईवटा जहाजलाई ४५ मिनेटको अन्तरालमा अवतरण गराउनेछ ।

प्रकाशित: २३ जेष्ठ २०७७ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App