अर्थ

उदयपुरमा विहान ६ देखि ११ बजेसम्म पसल खुल्ला

कोरोना भाइरस (कोभिड–१९) बाट बच्न देशभर झण्डै अढाई महिनादेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्ने चौतर्फी आवाज उठिरहेका बेला उदयपुरमा सहज बनाउने तयारी गरिदैछ । कोरोना कहरमा ७१ औं दिनदेखि जारी लकडाउनको स्थानीयले स्वतः अवज्ञा गर्न थालेपछि केही खुकुलो पार्ने विषयमा छलफल अघि बढाइएको हो ।

पछिल्लो पटक गत ३ गते एकजना पत्रकारमा संक्रमण देखिएयता नयाँ संक्रमित कोही नदेखिएको उदयपुरमा  लकडाउन खुकुलो मान्दै स्थानीयले सदरमुकामका पसल खोल्नुका साथै  चहलपहल बढाएपछि प्रसासनले कडाई गर्न थालेको थियो । यस सिलसिलामा दर्जनौं सवारी साधन पक्राउ गर्नुका साथै पसल नखोल्न र आउजाउमा पनि कडाई गरिएको थियो ।  

निरन्तर र दिक्कलाग्दो लकडाउनले एकातिर गरिव तथा श्रमिक मजदुरले भोकभोकै बस्नुपर्ने अवस्था आईलागेको तथा अर्कातिर व्यापार व्यवसाय चौपट पारेको गुनासो बढेको छ । स्थानीय सरकारले दुई चरणमासम्म वितरण गरेपछि थप राहात विरतण गर्ने स्रोत नभएको बताईरहदा विपन्न बर्ग र मजदुर सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनाउदै लगेको भन्दै लकडाउन खुकुलो पार्न स्थानीयले आग्रह गर्दै आएका छन् । चौतर्फी दबाब बढ्का साथै जनजीवन अव्यवस्थित हुँदै गएकाले जिल्ला कोरोना नियन्त्रण तथा रोकथाम समितिको बिहीबार बसेको बैठकले व्यापार व्यवसायका पसलहरु आंसिक खोल्न दिने निर्णय गरेको हो ।  

बैठकले शुक्रबारदेखि विहान ६ देखि ११ बजेसम्म दैनिक उपभोग्य बस्तुहरु दूध, मासु, तरकारी, फलफूल र खाद्यान्नका पसल खुल्ला गर्ने निर्णय गरेको छ । त्यस्तै हार्डवेयर, कपडा र जुत्ता चप्पलका पसलहरुसमेत खोल्न दिइने भएको छ । होटल, पाटी प्यालेस, लज, रेस्टुरेन्ट, व्युटी पार्लर र सैलुन भने खोल्न नपाइने बैठकले निर्णय गरेको बैठकमा सहभागी जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।  

उनका अनुसार ६ देखि ११ बजेभित्रमा सर्वसाधारणले आवश्यक उपभोग्य सामग्री खरिद गरिसक्नुपर्ने, किनमेल गर्न आउँदा सामाजिक दूरी कायम राख्न व्यापारी, व्यवसायी र ग्राहकलाई सचेत गराउन सूचना दिइनेछ । साथै सामान किनमेलका बेला मास्क, सेनिटाईजर अनिवार्य प्रयोग गर्न पनि बैठकले आग्रह गरेको छ । त्यसका लागि त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटलाई आग्रह गरिएको छ ।  

बजार खोल्दा आधारभूत मानव अधिकार हनन भए नभएको, सामाजिक दूरी कायम गरे नगरेको तथा कोरोना संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जारी गरेको प्रोटोकल पालना गरे नगरेको विषयमा नियमित अनुगमन गरिने जिल्लास्तरीय मानवअधिकार समन्वय समितिका संयोजक भरत खड्काले बताए ।  

वैशाख ५ देखि जेठ ३ गतेसम्ममा त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा रहेका १६ जमातिसहित ३२ तथा एक पत्रकार गरी ३३ जनामा कोरोना संक्रमण पाइएपछि ‘सिल’ गरिएको भुल्केमा सातादिनयता आउजाउ सहज बनाइएको छ । भुल्के खुलेलगत्तै गाईघाटमा एक्कासी चहलपहल बढ्न थालेपछि प्रशासनले कडाई गरेको थियो ।  

भुल्केका थप ४ संक्रमित निको भएर फर्कदै

यसैबीच कोरोना संक्रमणपछि कोविड विशेष अस्पताल विराटनगरमा उपचाररत थप ४ जना निको भएर फर्कने तयारी भईरहेको छ । वैशाख ९ गते संक्रमित पुष्टि भएपछि आईसोलेसन पठाइएका उनीहरुको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गर्न लागिएको अस्पतालकी सुपरिटेण्डेण्ट (मेसु) डा. संगीता मिश्रले बताईन् ।  

डा. मिश्रका अनुसार प्रदेशस्तरीय कोविड अस्पताल संयोजक सामाजिक विकासमन्त्रीले केही बेरमा उनीहरुलाई डिस्चार्जको प्रमाणपत्र प्रदान गर्ने तयारी भईरहेको छ । उनीहरुलाई गृह जिल्ला पठाइने र त्रियुगा क्याम्पस क्वारेन्टिन मोतिगडामा राख्ने तयारी भईरहेको छ । उनीहरुसँगै भुल्केका संक्रमित निको भएर फर्कनेको संख्या ३१ पुगेको छ । अव एक महिला र पत्रकार २ जना मात्र निको हुन बाँकी छ ।

यसअघि निको भएर फर्केकाहरु क्यामपस क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किसकेका छन् । बाँकी २ को पनि दोस्रो परीक्षणको तयारी भईरहेको बताइएको छ । उनीहरुको पनि स्वास्थ्य अवस्था सामान्य रहेको र दोस्रो रिपोर्ट पनि नेगेटिभ आएमा डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०८:०३ बिहीबार

कोभिड–१९ लकडाउन उदयपुर पसल