अर्थ

देशभर अमेरिकन फौजी कीराको प्रकोप

मकैबालीमा लागेको फौजी कीरा । तस्बिर : नागरिक

धानपछिको मुख्य खाद्यबाली मकैमा अमेरिकन फौजी कीराको प्रकोप बढेपछि किसान चिन्तित भएका छन् । उक्त कीराले मकैको बोट नै सखाप पारेपछि किसानको मेहनत खेर जाने अवस्थामा पुगेको छ । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्युर्गिपेर्डा हो । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलोपटक अमेरिकामा देखा परेको थियो ।

गर्मीयाममा एक रातमै सय किलोमिटरभन्दा लामो यात्रा गर्न सक्ने यो मिचाहा कीरा पुतली समूहमा पर्छ । रातको समयमा सक्रिय रहनु यसको विशेषता हो । यो कीराको लार्भा धेरै खन्चुवा हुन्छ । यसले मकैको पात, गुभा, जुँगा, घोगा खाइदिन्छ ।  

मोरङको बेलबारीका किसानहरूले औषधि गर्दा समेत कीरा नियन्त्रण गर्न नसकेको बताएका छन् । किसानले लगाएको मकैमा कीराले क्षति पु¥याएपछि औषधि लगाउँदा समेत नियन्त्रणमा नआएको कृषकहरूको गुनासो छ । बेलबारी–४ का जसमणि राईले भने, ‘मकै बालीमा कीराले क्षति पु¥याएका कारण दुईपटक औषधि स्प्रे गरे पनि कीरा नियन्त्रणमा आएन ।’

प्रदेश १ का १३ वटै जिल्लाका ८४ स्थानीय तहमा लगाइएको मकैबालीमा यसको असर देखिएको कृषि निर्देशनालयकी सूचना अधिकृत सरस्वती श्रेष्ठले बताइन् । गत आर्थिक वर्ष २०७५/७६ मा प्रदेशको कुल दुई लाख ७४ हजार पाँच सय ५५ हेक्टर क्षेत्रफलमा मकै बाली लगाइएको निर्देशनालयले जनाएको छ ।

त्यसबाट सात लाख ७० हजार नौ सय ५५ मेट्रिक टन मकै उब्जनी भएको थियो । यसपटक भने कीराका कारण उक्त आँकडामा केही परिवर्तन आउन सक्ने अनुगमन गरिएको छ । २०७६/७७ मा प्रदेश १ को १० हजार ६ सय ३४ हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीमा कीराको प्रकोप देखिएको निर्देशनालयले जनाएको छ । 

पाँचथरमा मकै सखाप  

१८ रोपनी टारबारीमा लगाएको मकैको बोट, पात तथा गुभा कीराले खाएर नष्ट बनाउन थालेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–३ पञ्चमीका डिल्ली सुवेदी चिन्तित छन् । सोधखोज गर्दा मात्र यो अमेरिकन फौजी कीरा पहिचान भएको उनले सुनाए ।

गत भदौ जिल्लाको तुम्मेवा र कुम्मायक गाउँपालिकामा देखिएको फौजी कीराको प्रकोप यतिबेला जिल्ला आठै स्थानीय तहमा देखिएको छ । मकैमा देखिएको फौजी कीराको प्रकोप सँगै खेती लगाइएका सिमीलगायत अन्य बालीमा पनि देखिएको छ । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोट नै फौजी कीराले खाएर नष्ट गरिरहेको छ । तीव्रतर गतिमा फैलिने भएकाले यो कीराले समस्या पारेको कृषि ज्ञान केन्द्र पाँचथरका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए ।  

सुदूरपश्चिममा पनि फैलिँदै प्रकोप  

सुदूरपश्चिममा पहिलोपटक गत कात्तिकमा देखिएको अमेरिकन फौजी कीराले पछिल्लो समयमा यहाँका किसानलाई चिन्तित बनाएको छ । कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको उक्त कीरा बिस्तारै कञ्चनपुरकै बेलौरी र पुनर्वास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकाका किसानका बारीमा देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताए । उनका अनुसार पछिल्लोपटक वसन्ते मकैमा अमेरिकन फौजी कीराले आक्रमण गरेको छ । यसैगरी भीमदत्त नगरपालिकाको गड्डाचौकीमा मकै बालीमा पनि अमेरिकन फौजी कीराले सताएको उनले बताए । ‘यसलाई पनि नियन्त्रण तथा व्यवस्थापन गर्न हामीले स्थानीय तहमा रहेका कृषि शाखालाई अनुरोध गरिसकेका छौं,’ उनले भने ।

अमेरिकन फौजी कीराले मकै बालीपछि सबैभन्दा बढी मन पराउने धान र उखु खेती भएकाले बर्खे खेतीका रूपमा रहेको धान खेतीलाई सताउन सक्ने भएकाले त्यसलाई पनि नियन्त्रण गर्न जिल्ला स्तरमा ज्ञान केन्द्र प्रमुखको संयोजकत्वमा रहेको कार्यदलको बैठक बोलाएर चाँडै नै स्थानीय तहहरूलाई सतर्कताका उपाय अपनाउन पत्राचार गर्ने उनले बताए ।

धादिङको सबै क्षेत्रमा प्रकोप

मकै बालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान फौजी कीराको आक्रमणले गर्दा अनिकालले सताउने हो कि भन्ने चिन्तामा रहेको सिद्धलेक गाउँपालिका–१ जलकिनीका किसान बलबहादुर तामाङले बताए । ‘अघिल्लो वर्ष खडेरीले मकै खायो, अहिले पनि फौजी कीराले सताउन थालेको छ,’ उनले भने, ‘तरकारी बारीमै कुहियो, मकैमा पनि रोग लाग्यो, यो वर्ष त अनिकालले सताउने हो कि भन्ने चिन्ता छ ।’  

सिद्धलेक–१ र ६ मा फौजी कीराको संक्रमण देखिएको छ । मकैमा कीराको संक्रमण देखिएपछि गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, कृषि शाखाका प्रमुख छविलाल गुरुङलगायतको टोली गएर अनुगमन गरी विषादी प्रदान गरेको छ ।

कीराले बाली सखाप बनाएपछि विषादी छर्ने काम गरे पनि कमी नभएको गल्छी गाउँपालिका–१ का किसान पुतली परियारले बताइन् । ‘दिउँसोभन्दा राति यो कीराले धेरै बाली नष्ट गर्ने रहेछ, भोलिपल्ट भाँचिएको, कीराले खाएर ढलेको देखिन्छ,’ उनले भनिन्, ‘साना मकै त गुभासम्मै खाएको छ, पुरै मकै बर्बाद पारिदियो ।’ नीलकण्ठ नगरपालिका–७, ८ र १२, गल्छी गाउँपालिका–१ को कल्लेरीटार, फोस्रेटार, डुम्रीचौर, वडा ६ को जिन्ठेटार, ज्वालामुखी गाउँपालिकाको वडा २, ३ र ४, त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ लगायतका क्षेत्रका किसानहरू चिन्तित बनेका छन् ।  

खोटाङमा फौजी कीरा नियन्त्रण प्रयास

जताततै फैलिएको अमेरिकन फौजी कीरा नियन्त्रणका लागि खोटाङका स्थानीय तहले आ–आफ्नै प्रयास थालेका छन् । जिल्लाका १० वटै स्थानीय तहमा किटनाशक विषादी ल्याएर कृषि प्राविधिकमार्फत फौजी कीराबाट बढी संक्रमित क्षेत्रको मकैमा छर्कने काम भइरहेको छ । कतिपय स्थानीय सरकारले किसानलाई विषादि निःशुल्क उपलब्ध गराएका छन् । कृषि ज्ञान केन्द्रले पनि स्थानीय तहमार्फत किसानलाई विषादि उपलब्ध गराएको जनाएको छ ।

खोटेहाङ गाउँपालिकाले मकैमा विषादी छर्न हरेक वडामा दुईदुईजनालाई परिचालन गरेको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । त्यस्तै ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पनि किसानलाई निःशुल्क विषादि उपलब्ध गराएका छन् ।

अघिल्लो वर्षसम्म केही नगरपालिका र गाउँपालिकाको बेंसी क्षेत्रमा देखापरेको अमेरिकन फौजी कीरा यस वर्ष जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको छ । गत वर्ष दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, २ डिकुवा, ३ च्यास्मिटार, ११ राजापानीलगायत ाउँमा लगाइएको बालीनाली तथा वनजंगल नै सखाप पारेको कृषि प्राविधिक हरिनारायण राईले बताएका छन् ।  

(विनोद सुवेदी र चुमन बस्नेत/मोरङ, पुष्पराज जोशी/कैलाली, गिरिराज बास्कोटा/पाँचथर, सरिता श्रेष्ठ/धादिङ, दमन राई/खोटाङ)

प्रकाशित: २१ जेष्ठ २०७७ ००:१५ बुधबार

कृषि खेती किसान किराको प्रकोप फौजी कीरा