अर्थ

कृषि र पशुपालनमै फर्किए मनाङवासी

पर्यटन तथा होटल व्यवसायमा रमाउँदै आएका मनाङवासी पुख्र्यौली पेसामा फर्किन थालेका छन् । कोभिड–१९ को जोखिमले व्यवसायलाई असर पुर्याएपछि यहाँका बासिन्दा पुख्र्यौली पेसामा फर्कन थालेका हुन् ।      

पर्यटन तथा होटल व्यवसायमा निर्भर रहेका यहाँका बासिन्दा कोरोना भाइरसका कारण व्यवसाय ठप्प भएसँगै खेतीपाती र पशुपालनतर्फ आकृष्ट हुन थालेका छन् । पर्यटकले खचाखच हुने समयमा महामारीका कारण व्यवसाय ठप्प भएको छ ।      

 अधिकांश स्थानका मानिस अहिले बन्दबन्दीका कारण खेतीपाती गर्नमा तल्लिन देखिन्छन् । थोरै जनसङ्ख्या रहेको यस जिल्लामा चारवटा गाउँपालिका छन् । अहिले चारवटै गाउँपालिकाका बासिन्दा खेतीपाती र पशुपालनमा व्यस्त भएका छन् । होटल व्यवसायबाट मनग्य आम्दानी भए पनि बन्दबन्दीका कारण पुख्र्यौली पेसालाई पछ्याएका छन् ।      

अहिले यहाँका बासिन्दा  चौंरीसँगै रमाएका देखिन्छन् । चौंरीका बाच्छाबाच्छी स्याहारसुसार र खेतबारीमा रमाइरहेका छन् । यहाँ गहुँ, मकै, करु, फापर, आलुजस्ता अन्नबाली उत्पादन हुने गर्छ भने पशुपालनमा चौंरी, भेडाच्याङ्ग्रा पालिन्छ । यहाँका बासिन्दा चौंरीको ऊन कात्ने, ऊनबाट दोचा, भांग्रालगायतका कपडा बनाउँछन् ।      

कोभिड–१९ ले मानिसलाई पुख्र्यौली पेशामा फर्काएको र आत्मनिर्भर बनाउन टेवा पुगेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । 

प्रकाशित: २० जेष्ठ २०७७ १०:२१ मंगलबार

कृषि