अर्थ

कृषि योजना तथा कार्यक्रम निर्माणमा गाउँपालिका

खोटाङको खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि योजना तथा कार्यक्रम निर्माणको तयारी थालेको छ । कोरोना भाइरसका कारण निम्तिएको संकटका समयमा गाउँपालिकाबासीलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यकासाथ गाउँपालिकाले कृषि योजना तथा कार्यक्रम निर्माणको तयारी थालेको हो ।  

गाउँपालिकामा भएका कृषिको सम्भावनाको अध्ययन गर्दै ठोस योजना बनाउनका लागि सबै वडाका अगुवा कृषक, वडाध्यक्ष, कृषि विकास समितिका पदाधिकारी, कृषि विकास तथा पशु सेवा शाखाका कर्मचारी लगायतको सहभागितामा पहिलो चरणको कृषि योजना तथा कार्यक्रम तर्जुमा गोष्ठी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । विभिन्न चरणमा गरिने छलफलबाट कृषि योजना तथा कार्यक्रमलाई ठोस रुप दिने गाउँपालिकाले जनाएको छ ।  

कृषि योजना तथा कार्यक्रम तर्जुमा गोष्ठीमा गाउँपालिकामा कृषि उत्पादनको सम्भावना, कृषकको चाहना, बजारको सम्भावना लगायतका विषयलाई ध्यानमा राखेर आधुनिक तरिकाले तरकारी, फलफुल, पशुपन्छी, खाद्यान्न लगायतका कृषि तथा पशुजन्य वस्तुको उत्पादकत्व वृद्धि गर्ने ठोस योजना बनाउनेगरी छलफल सुरु गरिएको छ । यस्तै, गत आर्थिक वर्ष तथा चालु आर्थिक वर्ष सञ्चालित कृषिको योजना तथा कार्यक्रमको उपलव्धी समिक्षा एबं आगामी वर्षको योजनाका विषयमा पनि छलफल गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।  

गत आर्थिक वर्ष सञ्चालित कृषिको योजना तथा कार्यक्रमको प्रभावकारीता, निरन्तरता दिइनुपर्ने कार्यक्रम लगायतका बारेमा खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकाका वडाध्यक्ष एबं कृषि विकास समितिका संयोजक दिपेन राईले समिक्षा गरेका थिए । आगामी आर्थिक वर्षका लागि कृषिको प्राथमिकताका क्षेत्र, सम्भाव्यता लगायतका विषयमा समितिका सदस्य इन्द्र नारथुंगेले कार्यपत्र प्रस्तुत गरेका छन् । यस्तै, चालु आर्थिक वर्षको १० महिनाभित्र भएका कृषिका प्रगतीका विषयमा छलफल गरिएको छ ।  

कार्यक्रममा कृषिको सन्दर्भमा संबैधानिक व्यवस्था, आवधिक योजनामा रहेका व्यवस्था, संघीय सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रम, बजेट वक्तव्य, स्थानीय सरकार सञ्चालन ऐनमा भएका कृषि सम्वन्धी व्यवस्था र आगामी वर्ष कृषिलाई गर्नुपर्ने प्राथमिकीकरणका बारेमा प्रमुख प्रशासकीय अधिकृत भट्टराईले कार्यपत्र प्रस्तुत गरे । 

यस्तै, गाउँपालिकाकी उपाध्यक्ष कविता राईले कृषिको नितीगत, कानूनी र संरचनागत, संस्थागत सुदृढिकरणका बारेमा धारणा राखेकी छन् । कार्यक्रममा ९ वटै वडाका दुई÷दुई जना अगुवा कृषक, वडाध्यक्ष, कृषि तथा पशुसँग सम्बन्धित कर्मचारी लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित: १७ जेष्ठ २०७७ १५:५१ शनिबार

कृषि योजना गाउँपालिका