अर्थ

अर्थतन्त्र २.३ प्रतिशतमा खुम्चने

आर्थिक सर्भेक्षण– २०७६/७७

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको चपेटामा पर्नुअघि सरकारले यस वर्ष केही पूर्वाधारका काम गरे पनि अघिल्ला वर्षहरुमा जस्तै स्वास्थ्य क्षेत्रको विकास गर्न भने चुकेको छ।

सरकारले यो वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि कोरोना भाइरसको असरका कारण अर्थतन्त्र २.३ प्रतिशतमा खुम्चिने देखिएको छ। अघिल्लो वर्ष आर्थिक वृद्धि साढे छ प्रतिशतको हाराहारीमा थियो। यो वर्ष सरकारले सडक, सिँचाइ, विमानस्थललगायत पूर्वाधारका क्षेत्रमा केही राम्रा काम गरेको छ। तर कोरोना महामारी भएको अहिलेको समयमा सर्वसाधारण नागरिकलाई बचाउन गर्नुपर्ने स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण र जनशक्ति वृद्धिमा भने उपलब्धि शून्य बराबर छ।

सडक, सिँचाइ, विद्युत्, रेलमार्ग, उद्योग कारखाना एक वर्ष नबनाए पनि धेरै ठूलो फरक पर्दैन। एक वर्ष ऋणात्मक भएको अर्थतन्त्र फेरि माथि पुगेका धेरै उदाहरण छन्। अर्को वर्ष युद्धस्तरमा काम गरेर यी सबैको क्षतिपूर्ति गर्न सकिन्छ। तर स्वास्थ्य क्षेत्रमा हुने गम्भीर लापरवाहीको नतिजा भने सीधै जीवन र मृत्युसँग गएर ठोकिन्छ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसद्समक्ष पेस गरेको चालु आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्भेक्षणमा अस्पताल, स्वास्थ्य चौकीजस्ता स्वास्थ्य संस्था, अस्पतालका बेड संख्या, डाक्टर, अनमी, नर्सजस्ता जनशक्ति केही पनि नथपिएको उल्लेख छ।

कोरोना महामारीका बेला सुविधा सम्पन्न अस्पताल र दक्ष जनशक्तिको खाँचो कति पर्छ भन्ने उदाहरण विकसित मुलुकमा देखिइसकेको छ। तर नेपालमा भने विगतदेखि नै स्वास्थ्य क्षेत्रको पूर्वाधार बनाउन र जनशक्ति थप्न सरकारले लापरवाही गर्दै आएको छ। चालु आर्थिक वर्षमा पनि यही लापरवाहीले निरन्तरता पायो।

सर्भेक्षण अनुसार यो वर्ष एउटा पनि अस्पताल बनेन। सञ्चालनमा रहेका  अस्पतालमा एउटै पनि बेड संख्या थपिएन। डाक्टर र नर्स अनमीजस्ता जनशक्ति पनि नयाँ भर्ना गरिएन। स्वास्थ्य मन्त्रालय यो वर्ष केही उपस्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र मात्र बनाउने भनेर बसेको छ। यो वर्ष पूर्वाधार बनाउने भनेको एक हजार ३ सय ९० वटा स्वास्थ्य केन्द्र र ११ वटा आयुर्वेद अस्पताल मात्र हुन्। मन्त्रालय सधैं जस्तो यो वर्ष केही किसिमका औषधि वितरण गर्ने, क्यान्सर, मुटु र मिर्गौला रोगीलाई उपचार गर्ने काममा मात्र सीमित बनेको छ।

 

सरकारले यो वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि कोरोना भाइरसको असरका कारण अर्थतन्त्र २.३ प्रतिशतमा खुम्चिने देखिएको छ।

संसद्मा अर्थमन्त्री खतिवडाले यो वर्षको सरकारी काम कारबाहीबारे जानकारी दिने क्रममा चालु आवको फागुनसम्म आर्थिक क्रियाकलापमा तीव्रता आएको दाबी गर्दै कोभिड–१९ महामारीपछि अर्थतन्त्रमा परेको असरले वृद्धिदर खुम्चिने प्रारम्भिक अनुमान रहेको बताए।

अर्थतन्त्रमा समस्या देखिए पनि सर्भेक्षणले यो वर्ष प्रतिव्यक्ति आय कुल गार्हस्थ उत्पादन (प्रचलित मूल्यमा) गत वर्षको तुलनामा ७.५ प्रतिशतले बढेर १ लाख २६ हजार १८ (अमेरिकी डलर १,०८५) पुग्ने अनुमान गरेको छ। अर्थशास्त्रीले कोभिडका कारण गरिबीको संख्या बढ्ने बताइरहेका बेला अर्थमन्त्री खतिवडाले यो वर्ष निरपेक्ष गरिबी १८.७ प्रतिशतबाट घटेर करिब १६.६७ प्रतिशत रहने अनुमान गरेका छन्। मूल्यवृद्धि पनि एकल बिन्दुमा राख्न सकेको भन्दै सरकारले गर्व गरेको छ। जबकी बजेटको लक्ष्यभन्दा अहिले यो माथि (६.७ प्रतिशत ) पुगेको छ।

सरकारको यो वर्ष सार्वजनिक ऋण ९१ अर्ब ९० करोड रुपैयाँ थपिएको छ। अहिलेसम्मको ऋण ११ खर्ब ३९ अर्ब ८० करोड रुपैयाँ पुगेको हो। यसमा आन्तरिक ऋण ४ खर्ब ४० अर्ब ५ करोड र बाह्य ऋण ६ खर्ब ९९ अर्ब ७५ करोड रुपैयाँ छ। गत वर्ष असारसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ थियो।

सर्भेक्षणमो फागुनसम्म कुल जनसंख्याको ९० प्रतिशतको विद्युत्मा पहुँच पुगेको उल्लेख छ। कुल विद्युत् उत्पादन गत वर्षको तुलनामा ८.३ प्रतिशतले बढेर १३५५ मेगावाट पुगेको छ। यस्तै फागुनसम्म ५५ जिल्लाका ५०५ स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार भएको छ। यस कार्यक्रममा २६ लाख ८७ हजार बिमित भएका छन्। जसमध्ये २५ प्रतिशत अतिगरिब र करिब ३ लाख ज्येष्ठ नागरिक छन्।

सर्भेक्षणमा यो वर्ष संघीय सरकारले एक हजार ४ सय ६८ किलोमिटर सडक निर्माण गरेको उल्लेख छ। संघमार्फत निर्माण भएका रणनीतिक र स्थानीय सडक सञ्जालतर्फ कालोपत्रे १५ हजार २ सय ५४ किलोमिटर पुगेको छ। यसमध्ये ५ सय ५९ किलोमिटर यो वर्ष बनाइएको हो। यस्तै खण्डास्मित ९ हजार २ सय ५१ किलोमिटर र कच्ची सडक ९ हजार ८ सय ४२ किलोमिटर गरी कुल सडकको लम्बाइ ३४ हजार ३ सय ४७ किलोमिटर पुगेको छ। प्रदेश र स्थानीयस्तरबाट ६१ हजार ३ सय ९५ किलोमिटर सडक निर्माण भएको छ।

प्रतिव्यक्ति आम्दानी सबा लाख रुपैयाँ

गरिबी १८.७ बाट १६.६७ प्रतिशतमा झर्ने

सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड

विद्युत् उत्पादन १३ सय ५५ मेगावाट

संघबाट १४ सय ६८ किमि सडक पिच

१४४ झोलुंगे पुल निर्माण, मुलुक तुइनविहीन

यस्तै सडक विभागअन्तर्गत यो वर्ष एक सय २९ वटा पुल बनेका छन्। गत वर्ष एक सय ३० वटा सडक बनेका थिए। फागुनसम्म एक सय ४४ वटा झोलुंगे पुल बनाइएको छ। अब मुलुक तुइनविहीन बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समालेको वर्ष नै मुलुकलाई तुइनविहीन बनाउने घोषणा गरेका थिए।

सर्भेक्षणमा यो वर्ष ८ वटा आन्तरिक विमानस्थलको धावनमार्ग कालोपत्रे गरेको लेखिएको छ। राष्ट्रिय गौरवका गौतमबुद्ध र पोखराका चर्चित विमानस्थलहरुको निर्माण क्रमश ः ८६ र ५६ प्रतिशत मात्र भएको छ।

सरकारले यस वर्ष जयनगर–जनकपुर–वर्दिवासअन्तर्गतको ७० किलोमिटर रेलमार्गमध्ये यो वर्ष ५६ किलोमिटर निर्माण गरेको छ। यस्तै सरकारले वर्दिवास–निजगढ रेलमार्गको बर्दिवास–लालबन्दी खण्डको बाँकी ३.५ किलोमिटर पनि बनाएको जनाएको छ।    

फागुनसम्म कुल जनसंख्याको ९० प्रतिशतमा आधारभूत खानेपानी तथा शतप्रतिशतमा आधारभूत सरसफाइको सुविधा पुगेको सर्भेक्षणमा उल्लेख छ। तर उच्च तथा मध्यमस्तरको गुणस्तरीय खानेपानीको पहुँच एक वर्षमा एक प्रतिशत विन्दुले मात्र बढेर २१ प्रतिशत मात्र पुगेको छ।

त्यस्तै फागुनसम्म भूकम्पबाट क्षति भएका  निजी आवास ६३ प्रतिशत, सार्वजनिक विद्यालय ७४ प्रतिशत, पुरातात्विक सम्पदा ४४ प्रतिशत, स्वास्थ्य संस्था ५६ प्रतिशत, सरकारी भवन ८४ प्रतिशत र सुरक्षा निकायका भवन ५१ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको सर्भेक्षणमा उल्लेख छ।

सर्भेक्षणले फागुनसम्म अर्थतन्त्रका अन्य परिसूचक सन्तोषजनक देखिएको दावी गरेको छ। मुद्रास्फीति, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन, लगानी र वित्तीय परिसूचकहरु आर्थिक स्थायित्व अनुकूल हुँदै गएको बताइएको छ। निकासीमा भएको वृद्धि र पैठारीमा भएको कमीका कारण व्यापार घाटामा सुधार भई शोधनान्तर स्थिति बचतमा रहेको छ।    

कोभिड–१९ का कारण सार्वजनिक एवं निजी क्षेत्रको खर्चमा आएको संकुचनले यो  वर्ष कुल लगानी गत वर्षको तुलनामा ३.४ प्रतिशतले न्यून भई १८ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।

सर्भेक्षणमा फागुनसम्म अनुदान  १६ अर्ब १९ करोड र ऋण ९३ अर्ब ९ करोड गरी १ खर्ब ९ अर्ब २८ करोड रुपैयाँ विकास सहायता प्रतिबद्धता प्राप्त भएको उल्लेख छ।

त्यस्तै फागुनसम्म उद्योग विभागबाट स्वीकृत वैदेशिक लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६५.४ प्रतिशतले बढेको बताइएको छ। यो वर्ष वैदेशिक लगानी २९ अर्ब ६७ करोड पुगेको छ। यस्तै लगानी बोर्डबाट यस अवधिमा १ खर्ब ५५ अर्ब लगानी स्वीकृत भएको उल्लेख छ। यो र्ष फागुनसम्म पर्यटक आगमनमा वृद्धि भए पनि त्यसपछि पर्यटन क्षेत्र कोभिडको मारमा परेको छ।

खतिवडाले कोरोना संक्रमणअघि अर्थतन्त्रका आधारभूत परिसूचक र विकास क्रियाकलाप सन्तोषप्रद रहेको दाबी गर्दै संक्रमणपछि आर्थिक गतिविधि शिथिल हुँदै जाँदा पर्यटन, उद्योग, निर्माण, व्यापारलगायत क्षेत्र बढी प्रभावित भएको बताए। यही कारण आर्थिक विकास र स्थायित्वका परिसूचकमा चाप पर्दै गएको उनको भनाइ छ। 

प्रकाशित: १४ जेष्ठ २०७७ ०१:१५ बुधबार

आर्थिक वृद्धि आर्थिक सर्भेक्षण