अर्थ

राष्ट्रियताको लडाइँ सुरु भो : मुख्यमन्त्री

गण्डकी प्रदेशको बजेट अधिवेशन

पोखरा सभागृहमा बसेको गण्डकी प्रदेशसभाको बैठक । तस्बिर : उमेश पुन/नागरिक

गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबारदेखि पोखरा सभागृहमा सुरु भएको छ । प्रदेशसभामा सामाजिक दुरी कायम गरेर बैठक बस्न सम्भव नभएपछि बैठक पोखरा सभागृहमा बसेको हो । बैठक बस्नका लागि २५ लाख खर्च गरेर पोखरा सभागृहलाई सजाउनुका साथै कुर्सीहरू मर्मत–सम्भार गरिएको छ । सामाजिक दुरी कायम गरेर कुर्सीहरू राखिएको संसद् सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित प्रमुख प्रतिपक्षी दल तथा अन्य राजनीतिक दलका नेताहरूले आइतबारको संसद् बैठकलाई सम्बोधन गरे । संसद्लाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले नेपालले नयाँ नक्सा जारी गरेसँगै राष्ट्रियताको लडाइँ सुरु भएको बताए । नेपाली भूमि समेटेर भारतले हेपाहा प्रवृत्ति दोहोर्यायो,’ उनले भने, ‘तर नेपालले पनि अतिक्रमित भूमिहरू लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गर्यो, योसँगै राष्ट्रियताको लडाइँ पनि सुरु भो, स्वाधीनताको लडाइँ सुरु भो ।’

स्वाधीनताको लडाइँ लामो हुनसक्ने भए पनि अतिक्रमित भूमि फिर्ता नभएसम्म यो लडाइँ जारी रहने उनको भनाइ छ । उनले कोरोनाविरुद्धको लडाइँ र राष्ट्रियताको लडाइँ लड्ने बेलामा पार्टी÷पार्टीबीच वा पार्टीभित्रको लडाइँ वाञ्छनीय नहुने भन्दै त्यस्ता कार्य बन्द गर्न आग्रह गरे ।

मुख्यमन्त्री गुरुङले अतिक्रमित भूमि फिर्ता गर्ने अवसर प्रधानमन्त्री केपी शर्मा ओलीलाई आएको बताए । भारतसँग पौठेजोरी खेलेर बिरालोको घाँटीमा घन्टी बाँध्ने काम केपी ओलीले गरेको बताउँदै उनले भने, ‘मृत्युको मुखमा पुगेर बाँचेका ओलीले अतिक्रमित भूमि फिर्ता गर्ने अवसर पाएका छन्, यस हिसाबले उनी भाग्यमानी हुन् ।’ उनले सधैं नेपाली नेताहरू कोही प्रो–चाइना र कोही प्रो–इन्डियन देखिएको भन्दै अहिले भने प्रो–नेपाली बन्ने अवसर आएको बताए । यसका लागि सबै दल, तिनका नेताहरूबीच महान् एकता देखिएको भन्दै त्यसका लागि प्रदेशसभाले धन्यवादसमेत दिनुपर्ने बताए ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार भएकै कारण कोराना भाइरसविरुद्ध नेपालले सफलता पाएको दाबी गरे । यसले संघीय शासन प्रणालीमा प्रदेश सरकारको भूमिका पुष्टि गरेको बताए ।

मुख्यमन्त्री गुरुङले कोरोनाका कारण प्रदेशको स्वास्थ्य प्रणालीलाई एक स्तर उकास्ने मौका पाएको पनि बताए, जसको प्रयासस्वरूप जिल्ला अस्पतालहरूको स्तरोन्नतिको काम सुरु गरिएको उनको भनाइ छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले भारतद्वारा अतिक्रमित भूमि आफूले कहिल्यै नेपालको नक्सामा नदेखेको र पुस्तकमा नपढेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आगामी दिनमा त्यस्ता अभिव्यक्ति नदोहोर्याउन चेतावनी दिए । उनले अतिक्रमित भूमि फिर्ताका लागि दरो र परिपक्व कुटनीतिमार्फत पहल गर्न र प्रदेशको आगामी बजेट कोरोना केन्द्रित गर्न सुझाव दिए ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले एकल महिला तथा अपांगता भएकाहरूको सामाजिक सुरक्षा भत्ता थप्नुपर्ने बेलामा सरकारले कटौती गरेर गल्ती गरेको भन्दै सच्याउन आग्रह गरे । राष्ट्रिय जनता समाजवादी पार्टी संसदीय दलका नेता हरिशरण आचार्यले कोभिड–१९ लाई देखाएर फेरि पनि विकास र समृद्धिमा काम गर्न नसकेको भनेर बस्नुपर्ने अवस्था आएको भन्दै यसमा सुधार ल्याउन आग्रह गरे ।

संसद्को अर्को बैठक जेठ १३ गते मंगलबार दिउँसो एक बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०१:४५ सोमबार

बजेट बजेट२०७७-७८