लकडाउनका बेला डडेल्धुरा सदरमुकाम बागबजारमा तरकारीको मूल्य पसलैपिच्छे फरक भएको पाइएको छ । घरेलु तथा साना उद्योग विकास समितिको संयोजकत्वमा गठित जिल्ला बजार अनुगमन समितिले मंगलबार बजार अनुगमन गर्दा जिल्ला सदरमुकाम बागबजारसहितका अन्य बजारमा पसलैपिच्छे तरकारीको मूल्यमा भिन्नता पाइएको हो ।
बजारमा दैनिक उपभोग्य वस्तु टमाटर, काउली, प्याज, तिते करेला, लगायतका तरकारीको मूल्यमा एक रुपता नपाइएको हो । लकडाउनका समयमा बजारमा हुन सक्ने कालोबजारीका साथै मूल्य बृद्धिको अवस्थाका बारेमा बुझ्न अनुगमन गरिएको अनुगमन समिति संयोजक एवं घरेलु तथा साना उद्योग विकास समिति डडेलधुराका प्रमुख केशव भण्डारीले बताए ।
अनुगमनका क्रममा खाद्यान्नका पसलमा उपभोग्य मिति नाघेका वस्तु समेत पाइएका छन् । लकडाउनका कारण व्यापारीलाई सम्झाई बुझाई उपभोग्य म्याद नाघेका वस्तुलाई पसल बाट हटाउन लगाइएको संयोजक भण्डारीले बताए ।
बजार अनुगमनको सुरुवात भएको र यो लकडाउन अवधीभर नियमित रुपमा अनुगमन गर्ने योजना रहेको छ । उनले भने, अनुगमनको दोस्रो चरणमा पनि पसलमा म्याद नाघेका उपभोग्य बस्तु पाइएमा सम्बन्धित व्यापारीलाई कारवाहीका लागि सरोकारवाला निकायलाई आग्रह गर्ने उनले बताए ।
अनुगमनका क्रममा अधिकांश खाद्य वस्तुमा उपभोग्य मिति नाघेको पाइएको थियो । लकडाउनका समयमा हुन सक्ने कालो बजारीका साथै दैनिक उपभोग्य वस्तुको आयातको अवस्थाका बारेमा अनुगमन गरि सरोकारवाला निकायलाई जानकारी दिन बजार अनुगमन सुरु गरिएको हो ।
जिल्ला सदरमुकाम बागबजारसहित स्याउले बजार, भातकाँडा बजारमा समेत अनुगमन गरिएको थियो । जिल्लाका ग्रामिण क्षेत्रमा रहेका प्रमुख बजारहरुको पनि अनुगमन गर्ने जनाइएको छ ।
प्रकाशित: ६ जेष्ठ २०७७ १५:०८ मंगलबार