अर्थ

किसानको बारीमा कुहिँदै तरकारी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९, हासिवाङकी डिलकुमारी ओलीको दैनिकी पछिल्लो समय फेरिएको छ । उनी चैत ११ गतेदेखि नै घरभन्दा टाढा जान पाएकी छैनन् । घर वरपर घाँसपात काटेर दैनिकी टार्दैछिन् । लकडाउन अघि र लकडाउनपछिको उनको दैनिकी फरक छ ।

लकडाउनअघि घरदेखि झन्डै १४ किलोमिटर टाढा जिल्ला सदरमुकाम खलंगामा तरकारी बेच्ने उनको मुख्य काम थियो । बिहान ३ बजे उठेर तरकारीको डोको बोकेर उज्यालो नहुँदै सदरमुकाम तरकारी पु¥याउने उनको मुख्य काम हो । कोरोना भाइरस फैलने त्रासका कारण सरकारले लकडाउन गरेपछि उनको तरकारी बारीमै छ । न उनले उक्त तरकारी टिप्न पाएकी छिन्, न टिपेको बेच्न नै ।  

ओली मात्रै होइन, हासिवाङका साथै मुसीकोट नगरपालिका वडा नं ३, १२, १३ र १४ का किसानको दैनिकी पनि फेरिएको छ । उनीहरुको अरु बजार छैन । गाउँघरमा तरकारी बिक्री हुँदैन । तरकरी बिक्री गरेर दैनिकी चलाउने तथा आयआर्जन गर्नेहरुका लागि लकडाउनले असजिलो बनाइदिएको छ । महामारी नफैलियोस् भनेर गरिएको लकडाउनले केही सहज भए पनि आफूहरुको तरकारी भने बारीमै रहेको किसानले गुनासो गरेका छन् ।  

बारीको तरकारी छिप्पिने, छिप्पिएको कुहिने तथा खानका लागि अयोग्य हुँदै गएको ओलीले बताइन् । ‘तयार भइसकेको तरकारी बिक्री नहुँदा त्यो बिग्रने भइहाल्यो,’ उनले भनिन्, ‘लकडाउन भएपछि जिल्लाका पसल पनि बन्द भए र तरकारी बिक्री गर्न पाइएको छैन ।’  

यी क्षेत्रका अधिकांश किसानको आम्दानीको स्रोत ताजा तरकारी नै हो । हाल किसानको बारीमा काउली, बन्दा, केराउ, मुला, टमाटर, लसुन, प्याज, रायोलगायत ताजा तरकारी छ ।  

कति किसानले चैत ११ का लागि भनेर १० गते नै बिक्री गर्ने तयारी गरिसकेका थिए । तर ११ गते तरकारी बिक्री नभएपछि त्यो खेर गएको छ । ‘टिपेको मात्रै होइन, टिप्नुपर्ने तरकारी पनि अब काम नलाग्ने हो कि भन्ने चिन्ता बढेको छ,’ मुसीकोट नगरपालिका–३ का भीमबहादुर खड्काले भने, ‘लकडाउन लम्बिएसम्म बजार खुल्ने र तरकारी बेच्ने अवस्था देखिन्न ।’  

खड्काले यस बीचमा बारीमा थप काम गर्न पाइए पनि बारीको तरकारी बजार पु¥याउन नपाउँदा भने अफ्ठ्यारो भइरहेको बताए । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सतर्क आफू पनि रहनुपर्ने बाध्यतालाई पनि बुझेको किसानको भनाइ छ ।  

जिल्लाको तरकारी बिक्री हुने मुख्य बजार भनेको सदरमुकाम खलंगा नै हो । खलंगा बजार पूर्ण लकडाउन छ । अत्यावश्यकीय पसल खोल्ने भनिए पनि पहिलाको सबै तरकारी पसल खुल्दैनन् । तरकारी  बोकेर सबै किसान लहरै लागेर बजार पुग्न पनि मिल्दैन ।  

लकडाउनले सबैतिर समस्या भएको मुसीकेट नगरपालिका प्रमुख देविलाल गौतमले बताए । ‘यो समयमा भाइरसबाट बच्नु मुख्य भएको छ, अरु सहायक भएका छन्,’ नगरप्रमुख गौतमले भने, ‘यसको जोखिम कम भएपछि फेरि दैनिकी उसैगरी फर्कने आशामा बस्न अनुरोध गरिएको छ ।’ कोरोना भाइरसका कारण समस्या बेहोर्नुपर्नेहरुका लागि केही राहतको व्यवस्था गर्न सकिन्छ कि भनेर पनि छलफल भइरहेको गौतमले बताए  ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०८:५९ मंगलबार

किसान