अर्थ

बजेट अधिवेशन जेठ १४ मा, रोजगारी गुमाउनेको तथ्यांक संकलन गरिँदै

प्रदेश १

प्रदेश १ संसद्को बजेट अधिवेशन जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले १४ गते दिनको २ बजेका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

'जेठ १४ गते दिनको दुई बजेका लागि बजेट अधिवेशन आह्वान गर्ने निर्णय भएको छ', आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बैठकपछि भने ।

भौतिक दुरी कायम गरेर संसद् बैठक सञ्चालन गर्ने तयारी भएपछि सरकारले अधिवेशनको मिति तोकेको हो । प्रदेश १ संसद्को बजेट अधिवेशन दुई वटा हलमा सांसदहरु राखेर गर्ने तयारी प्रदेशसभा सचिवालयले गरिरहेको छ । हाल प्रदेशसभा रहेको भवनको बैठक कक्ष साँघुरो हुने र दुरी कायम गर्न असम्भव हुने भएपछि सोही भवनको माथिल्लो तलामा रहेको नेकपा संसदीय दलको कार्यालय हललाई पनि बैठक कक्षको रुपमा प्रयोग गरिने भएको छ ।

प्रदेशसभाको पाँचौ तथा हिउँदे अधिवेशन चैत ६ को बैठकपछि कोरोना त्रासले स्थगित भएको थियो । त्यसयता एउटै पनि बैठक नभई अधिवेशन अन्त्य भएको थियो । प्रदेशसभाले प्रदेश राजधानी विराटनगरलाई बनाउने प्रस्तावसहित ४४ वटा विधेयक पारित गरिसकेको छ ।

मन्त्रीपरिषद बैठकले  कोरोना कहरका कारण रोजगारी गुमाउनेहरु र बेरोजगारहरुको तथ्यांक संकलन गर्ने निर्णय पनि गरेको छ । वैदेशिक रोजगारीबाट फर्कने स्वदेशमा रोजगारी गुमाउने र नेपालमा नै रहेका बेरोजगार हरुलाई  अनलाइन फर्म भराउन वेबसाईट बनाउने निर्णय मन्त्रीपरिषदले गरेको छ । 'यसले ठोस योजना बनाउन एउटा चित्र पेश गर्नेछ', मन्त्री कार्कीले भने  'फर्म भर्नेहरुको संख्या, रोजगारीको प्रकार र बेरोजगारहरुको उमेर समूह आदिको अध्ययन गर्ने र सोही अनुसार योजना बनाइनेछ ।'

प्रकाशित: ५ जेष्ठ २०७७ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App