अर्थ

नेपाल एयरलाइन्सको जापानमा तीन चार्टर्ड उडान

फाइल तस्बिर।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ ।

नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितमा चार्टर्ड उडान गर्न लागेको हो । निगमको वाइडबडी जहाज आज राति ९ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिता उड्ने तालिका रहेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

उनका अनुसार २५० यात्रु लिएर नारिता उड्ने वाइडबडी जहाज भोलिपल्ट काठमाडौँ फर्कनेछ । काठमाडाैं–नारिता गन्तव्यको उडान करिब साढे सात घण्टाको हुनेछ । निगमको नारिता चार्टर्ड उडान दोस्रोपटक हो । यसअघि चैत २८ गते निगमले नारितामा चार्टर्ड उडान गरेको थियो ।

निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ । आगामी मे १७ र २२ मा पनि नारितमा चार्डड उडान गर्दैछ । निगमका तीनवटै चार्टर्ड उडानका जहाज नेपाल फर्कँदा रित्तै हुनेछन् । निगमको वाइडबडी जहाज काठमाडौँको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले काठमाडौँ–नारिता (जापान) चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ ।

नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ । निगमले जापानसहित नौ गन्तव्यमा आफ्ना दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

प्रकाशित: २ जेष्ठ २०७७ ०५:५८ शुक्रबार

नेपाल एयरलाइन्स