अर्थ

खाद्यान्न र औषधि आयात ह्वात्तै बढ्यो

मुलुकमा खाद्यान्न र औषधिको आयात ह्वात्तै बढेको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार लकडाउन सुरु भएको पहिलो साताको तुलनामा सातौं हप्ता खाद्यान्न आयात एक सय १४ प्रतिशतले बढेको छ ।  

अभाव हुन नदिन आयात बढाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए । ‘आयात बढाउन विभिन्न निकाय तथा व्यापारीसँग समन्वय गरिरहेका छौं,’ उनले भने ।  

आयात र ढुवानीका लागि निकायमा सहजीकरण गरेको मन्त्री भट्टले बताए ।

दैनिक आयात हुने खाद्यवस्तुको सूची तयार गरेर मौज्दात जानकारी राखेकाले अभाव हुने देखिए आयात बढाउने उनले बताए ।  

फलफूल तीन सय ७६, औषधिको कच्चा पदार्थ एक सय ७७ र औषधि दुई सय ४५ प्रतिशतले आयात बढेको मन्त्रालयले जनाएको छ । लकडाउन अवधिमा एक लाख ५९ हजार पाँच सय ६१ मेट्रिक टन खाद्यान्न आयात भएको छ ।  

त्यसैगरी, ११ हजार एक सय २७ मेट्रिक टन दुग्धजन्य वस्तु आयात भएको छ । यो अवधिमा ५२ करोड ४३ लाख ८६ हजार रुपैयाँको औषधिका कच्चा पदार्थ र दुई अर्ब ५९ करोड ७२ लाख रुपैयाँको औषधि आयात भएको छ ।  

मुलुकका अन्य सहरसँगै राजधानीमा पनि आयात बढाइएको छ । मंगलबार एकै दिन खाद्यान्न, तरकारी बोकेका आठ सय ९८ वटा मालबाहक ट्रक काठमाडौं प्रवेश गरेका छन् । दैनिक आयात भइरहेको र मौज्दात रहेकाले खाद्यान्न अभाव नहुने मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार निजी क्षेत्रसँग एक लाख दुई हजार पाँच सय ७० मेट्रिक टन खाद्यान्न र ६ हजार तीन सय ४६ मेट्रिक टन खानेतेल मौज्दात छ । ७० हजार आठ सय ६६ मेट्रिक टन तेल कोलकातामा छ । व्यापारीका गोदामसहित सरकारी स्वामित्वका कम्पनीमा पनि पर्याप्त मौज्दात रहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित: १ जेष्ठ २०७७ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App