अर्थ

किसानलाई सरकारी रकम भुक्तानीमै ढिलाइ (अपडेट)

रौतहट- उखु किसानलाई सरकारले दिने भुक्तानी रकममै ढिलाइ भएको छ । किसानले उखु उद्योगलाई उखु बिक्री गरेपछि उखुको कूल मूल्यको भ्याटवापत किसानले पाउनु पर्ने फिर्ता रकम सरकारले दिनु पर्ने हुन्छ । सरकारले किसानको खातामा नै रकम पठाउने व्यवस्था गरेको भए पनि भुक्तानको लागि ढिलो भइरहेको पाइएको छ । 

आर्थिक वर्ष २०७५/७६ कै किसानले सरकारबाट पाउनु पर्ने रकम प्राप्त गर्न ढिलाइ भइरहेको देखिएको हो । लकडाउनको कारण किसानले पाउनु पर्ने रकम भुक्तानीमा ढिलाइ भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटले जनाएको छ ।

आ.व. २०७५/७६ मा किसानले सरकारबाट फिर्ता पाउनु पर्ने ८ करोड ९० लाख रुपैयाँ किसानको खातामा जाने प्रक्रियामा रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुख ईश्वरी ढकालले जानकारी गराएका छन् । कोलेनिका रौतहट प्रमुख ढकालले सरकारको नीति तथा निर्देशन अनुसार प्राविधिक काम भइरहेको तर लकडाउनले गर्दा किसानको खातामा रकम पुर्‍याउन केही ढिला भइरहेको बताएका छन् ।

उखु किसानले समयमा भुक्तानी नपाउँदा अनेक काममा बाधा पुगेको रौतहटको गढीमाई नगरपालिका ३ का अग्रज उखु किसान नरेन्द्र ठाकुरले गुनासो गरेका छन् । समयमा भुक्तानी नपाउँदा उखु खेतीबाट किसानको मन फिर्दै गएको ठाकुरको भनाइ छ । किसानले समयमा रकम नपाउँदा उखु खेतीप्रति आकर्षण कम हुँदै गएको ठाकुरको भनाइ छ ।

माधव नारायण नगरपालिका ६ का किसान उपेन्द्र मुखियाले उखु किसानको मर्का उद्योग र सरकार दुवैले बुझ्न ढिलाइ गरेकोले उखु खेतीप्रति आकर्षण कम भएको र यस वर्षमा उखु खेती केही कम भएको बताएका छन् ।

उद्योग र सरकार दुवैसित उखु किसानले पाउनु पर्ने भुक्तानीको लागि उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले पहल गरिरहेको बताएका छन् । संघको सहकार्यमा गरुडास्थित श्री राम सुगर मिल्सका प्राविधिक कर्मचारीले सरकारसित भुक्तानी पाउन आवश्यक कागजात संकलन गरिरहेको बताएका छन् ।  

अध्यक्ष यादवले उद्योगसित गत आवको ३० करोड र एक वर्ष अझ पहिलेको सरकारसित १ करोड २० लाख भुक्तानी पाउनुपर्ने बाँकी रहेको जानकारी गराउँदै किसानले पाउनु पर्ने सबै किसिमको रकम भुक्तानीको लागि पहल गरिरहेको बताएका छन् ।  

 

प्रकाशित: ३० वैशाख २०७७ ११:२२ मंगलबार

विविध प्रदेश २