उखु किसानलाई सरकारले दिने भुक्तानी रकममै ढिलाइ भएको छ। किसानले उखु उद्योगलाई उखु बिक्री गरेपछि उखुको कूल मूल्यको भ्याटवापत किसानले पाउनु पर्ने फिर्ता रकम सरकारले दिनु पर्ने हुन्छ। सरकारले किसानको खातामा नै रकम पठाउने व्यवस्था गरेको भए पनि भुक्तानको लागि ढिलो भइरहेको पाइएको छ। आर्थिक वर्ष २०७५/७६ कै किसानले सरकारबाट पाउनु पर्ने रकम प्राप्त गर्न ढिलाइ भइरहेको देखिएको हो। लकडाउनको कारण किसानले पाउनु पर्ने रकम भुक्तानीमा ढिलाइ भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटले जनाएको छ।
आ.व. २०७५/७६ मा किसानले सरकारबाट फिर्ता पाउनु पर्ने ८ करोड ९० लाख रूपैया किसानको खातामा जाने प्रक्रियामा रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुख ईश्वरी ढकालले जानकारी गराएका छन्। कोलेनिका रौतहट प्रमुख ढकालले सरकारको नीति तथा निर्देशन अनुसार प्राविधिक काम भइरहेको तर लकडाउनले गर्दा किसानको खातामा रकम पुर्याउन केही ढिला भइरहेको बताएका छन्।
उखु किसानले समयमा भुक्तानी नपाउँदा अनेक काममा बाधा पुगेको रौतहटको गढीमाई नगरपालिका ३ का अग्रज उखु किसान नरेन्द्र ठाकुरले गुनासो गरेका छन्। समयमा भुक्तानी नपाउँदा उखु खेतीबाट किसानको मन फिर्दै गएको ठाकुरको भनाइ छ। किसानले समयमा रकम नपाउँदा उखु खेतीप्रति आकर्षण कम हुँदै गएको ठाकुरको भनाइ छ।
माधव नारायण नगरपालिका– ६ का किसान उपेन्द्र मुखियाले उखु किसानको मर्का उद्योग र सरकार दुवैले बुझ्न ढिलाइ गरेकोले उखु खेतीप्रति आकर्षण कम भएको र यस वर्षमा उखु खेती केही कम भएको बताएका छन्।
उद्योग र सरकार दुवैसित उखु किसानले पाउनु पर्ने भुक्तानीको लागि उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले पहल गरिरहेको बताएका छन्। संघको सहकार्यमा गरुडास्थित श्री राम सुगर मिल्सका प्राविधिक कर्मचारीले सरकारसित भुक्तानी पाउन आवश्यक कागजात संकलन गरिरहेको बताएका छन्।
अध्यक्ष यादवले उद्योगसित गत आवको ३० करोड र एक वर्ष अझ पहिलेको सरकारसित १ करोड २० लाख भुक्तानी पाउनुपर्ने बाँकी रहेको जानकारी गराउँदै किसानले पाउनु पर्ने सबै किसिमको रकम भुक्तानीको लागि पहल गरिरहेको बताएका छन्।
प्रकाशित: ३० वैशाख २०७७ ११:१८ मंगलबार